धरान । सम्पूर्ण उत्पीडित दलित शिल्पि एक होऔ भन्ने नाराकासाथ धरानमा १७ औ जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस सम्पन्न भएको छ ।
जेठ २१ गते धरान भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता मुकसामहाङ मेन्याङ्बो (मुकेश) ले २०६३ साल जेठ २१ गते भएको जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय घोषणा र २०७२ को नयाँ संविधानमा दलितको हकलाई मौलिक अधिकारमा लिपिबद्ध गर्दै दलित राष्ट्रिय आयोगको व्यवस्था हुनु दलित आन्दोलनको महत्वपूर्ण उलपलब्धिको रूपमा लिनुपर्ने वताए ।
हजारौं बर्ष देखि प्रतिक्रियावादीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न निर्माण गरेको विचार र व्यवस्थाद्वारा सृजित जातीय विभेद र छुवाछूत प्रथा, संस्कार, आदत र सोच बदलिन संविधान र कानुन निर्माण गरेर मात्र नपुग्ने र त्यसको लागि विचारधारात्मक क्रान्ति अर्थात सांस्कृतिक क्रान्तिको खाँचो समेत रहेको उनको भनाइ थियो । नेता मुकेशले देशको अगुवाई गर्ने राजनीतिक दलका नेता र कार्यकर्तामा समेत रूपान्तरणको खाँचो रहेको बताउदै नेकपा (माओवादी केन्द्र) दलितको हक र हितको लागि लड्ने पार्टी भएकोले यो पार्टीका नेता कार्यकर्ताले दलित भएकै नाममा कसैलाई विभेद गरे अनुसाशनको डण्डा बर्षाउने चेतावनी दिए । मुकेशले नेपालगञ्जमा शहिद सेतु विकको सालिकमाथि भएको तोडफोडको घटनाको विरोध गर्दै दोषीउपर तत्काल कानुनी कार्वाही गर्न राज्यको ध्यानाकर्षण समेत गराए ।
जसपाका केन्द्रीय सदस्य दलर्मदन कामीले मेयर हर्क साङ्पाङलाई आफूले नै निमन्त्रणा गरेपनि मोबाईल स्वीच अफ गरेर बसेको भन्दै आक्रोश पोखेका थिए । उनी आफै सडक आन्दोलनबाट मेयर बनेको प्रसंग उल्लेख गर्दै दलितले आयोजना गरेको कार्यक्रममा न आएर दलितलाई बेवास्ता गरेको आरोप लगाए । आफू काठमाडौबाट आएको भन्दै आफ्नै मित्र समेत भएर दलितको मुद्दामा अनुपस्थित भएको दुखेसो पोखे ।
धरान उपमहानगरका उपमेयर आईन्द्रबिक्रम बेघाले संविधानमा नै मौलिक हकमा छुवाछूत जातीय विभेदको अन्त्य भएको लेख्न सफल भएको बताए । उनले सामन्तबाद राजतन्त्रलाई फालेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै वर्तमान संविधानमा सबै जातजाति भाषाभाषि समान रहेको उल्लेख गरे । तर संविधान कार्यान्वयनको बिषयसंग केहि कुरा जोडिएको बताए । संविधानमा लेखिए पनि सहि नेतृत्व नहुदा कार्यान्वयनमा समस्या भएको बताए । जसका लागि सहि नेतृत्व चयन भएर सहि ठाउँमा पुग्ने हो भने त्यसले सार्थकता पाउने बताए । उनले आगामी दिनमा दलित समुदाय लगायतको संस्कार संस्कृतिसंग जोडिने आश्वासन दिए । आगामी दिनमा बिगतका कमजोरीलाई सच्याउदै नयाँ ढंगले जाने बताए ।
जनता समाजवादी पार्टीको नगर अध्यक्ष ताजुप लिम्बूले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न दलितको ठुलो योगदान रहेको बताए । जसमा सेतु बिक पनि एक भएको बताए । तर सेतु बिकको सालिक भत्काएको भन्दै साम्प्रदायिक दंगा निम्त्याउन कुचेष्टा गरेको आरोप लगाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा रुकुममा जस्तो घटना भैरहेको बताए । आगामी दिनमा बिरोधको कुरा नराखी खुशी भएर छुवाछूत उन्मुलन दिवस मनाउन पाउने वताए ।
एमाले धरान नगर कमिटि उपाध्यक्ष पारस काङ्माङ कम्युनिष्टले भन्ने गरेको वर्ग धनि र गरिबको मात्र परिभाषा रहेको भन्दै वास्तविकता जातीय समूह पनि रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि दलितमा छुवाछूत र विभेद रहेको बताउदै जसका लागि दलबाट नै सच्चिन आवश्यक रहेको बताए ।
दलित अधिकारकर्मी भबिन्द्र बिश्वकर्माले राज्यले नै जातीय भेदभाव दिवस गर्नुपर्ने हो तर राज्य नै यस्तो कार्यक्रम नगर्दा दलितका बिभिन्न भातृसंगठनले गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोखे । बर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि दलितको सवाल नपरेको बताए भन्दै विरोध गर्दै आपत्ती जनाइएको थियो ।
संघीय दलित मुक्ति मोर्चाका अध्यक्ष रमेश गजमेरले राज्यसंग संघर्ष गर्दा गर्दा आफु थाकेको बताए । दलित मुक्तिको लागि कहिलेसम्म एक होऔ भनिरहने भन्ने प्रश्नसमेत राखे ।
नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दिलबहादुर रामदामले राजाकै पालामा छुवाछूतमुक्त भनेर ऐन लेखिए पनि त्यो ब्याबहारमा लागु नभएको बताए । बिभिन्न कालखण्डमा ऐन नियम लेखिए पनि कार्यान्वयन भएन भने त्यसको अर्थ नहुने उनले दाबी गरे ।
नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा र समाजवादी दलित शिल्पी महासंघले संयुक्त आयोजना गरेको कार्यक्रममा नेपाल दलित संघ प्रदेश १ सदस्य बिजय अछामीले अध्यक्षता गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांशले आगामी कार्यक्रम स्थानीय सरकार धरान उपमहानगरपालिकाले आयोजना गर्नुपर्ने धारणा राखेका थिए । २१ जेठ २०६३ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो । २१ जेठ २०६३ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा २०६३ साल जेठ २१ गते संसदबाट जातीय विभेद तथा छुवाछूत मुक्त दिवस घोषणा गरिएको थियोे ।
