घरभाडाको विषय आपसी समझदारीमा मिलाउन अपिल

  • जेठ ५, २०७७ / "नेपाल रेखा"
alt

पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पु¥याउन आग्रह गरेको छ ।

सङ्घका तर्फबाट अपिल जारी गर्दै अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेको स्मरण गराउनुभएको छ । विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिनुहुन अपिल गरिएको छ ।

विविध जटिल परिस्थिति पार गर्दै व्यवसाय सञ्चालन गर्दै गर्दा ऐतिहासिक तथा अप्रत्यासित विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिमा होटलका घरधनी र सञ्चालकबीच आपसी समझदारीबाट नै वर्तमान समस्या समाधान गर्नु अहिलेको आवश्यकता भएको अपिलमा भनिएको छ ।

सङ्घसँग सम्बन्धित होटलका घरधनी र होटल सञ्चालकले सशस्त्र द्वन्द्व, नाकाबन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइरहेको सङ्घले स्मरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गतेदेखि हालसम्म बन्दाबन्दी घोषणा गरी कार्यान्वयन हुँदै आएको र यसले होटल व्यवसाय शून्य प्रायः भएको सङ्घले जनाएको छ ।

बन्दाबन्दी खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति नरहेको भन्दै अपिलमा रोगको औषधोपचार हालसम्म नभएको र अन्य विविध कारणले केही वर्षसम्म बाह्य पर्यटकको आगमन हुने स्थिति नरहेको आकलन गरिएको छ । सबै विषयलाई दृष्टिगत गरी सङ्घले हाललाई असोज मसान्तसम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको उल्लेख गर्दै अपिलमा यस विषम परिस्थितिमा सबै व्यवसायी एकजुट भई यस अवस्थालाई पार लगाउनुपर्ने भनिएको छ ।

सङ्घले नेपाल सरकार तथा अन्य सम्बन्धित निकायसँग राहत माग गरिरहेको र सम्भवतः अगामी आव ०७७÷०७८ को बजेटमा सम्बोधन हुने आशा गरिएको विज्ञप्तिमा भनिएको छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]