– सरोज बराल
हामी नेपालीहरू संवेदनाहीन भएकै हौँ ? के हामीसँग भएको मानवता मरिसकेको हो ?
म आफैँले आफैँलाई धेरैपटक सोध्ने गरेको छु यो प्रश्न । तर आफैँ द्विविधामा रहेको पाउँछु । कहिलेकाहीँ यस्तो लाग्छ कि हामी नेपालीहरूमा जस्तो मानवता अरूमा कहाँ पाइन्छ ? कतै कोही बिमारी भएको, कसैको उपचार गर्नुपर्ने अवस्था प¥यो भने एक–दुई दिनमै करोडौँ रुपियाँ सङ्कलन गर्नसक्ने नेपालीबाहेक कमै होलान् ? विदेशमा त्यहाँको सरकार र अदालतले कसैलाई मृत्युदण्ड दिएको अवस्थामा पीडित परिवारले ‘ब्लड–मनी’को माग ग¥यो भने करोडौँ रुपियाँ जम्मा गर्ने हामी नेपाली नै हौँ ।
कसैको जीवन रक्षा हुनसक्ने अवस्था देखियो भने हामी मन खोलेर आर्थिक सहयोग गर्न जुट्छौँ । मानवता भनेको यही त हो । आवश्यकता परेको समयमा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नुभन्दा ठूलो मानवता के होला र ? अनि यति ठूलो मन गरेर आफूले नदेखेको र नसुनेको मान्छेलाई समेत सहयोग गर्न तम्सिने नेपालीहरू जत्तिको मनकारी अरू को होला र ?
तर यस्ता सहयोगहरूलाई एकातिर राखेर सोच्छु, होइन हामी नेपालीहरूलाई यस्ता कुराले पटक्कै दुख्दैन । कसैको मृत्युलाई भन्दा ठूलो हामी भौतिक सम्पत्तिलाई पो सोचिरहेका हुँदा रहेछौँ । हामीलाई मृत्युले भन्दा धेरै घर, भवन इत्यादि भौतिक संरचनाको विनाशले पोल्दो रहेछ । हामी मानव जीवनको रक्षातर्फ कम, भौतिक संरचनाको संरक्षणतर्फ बढी चिन्तित हुँदा रहेछौँ । मेरो कुरा गलत जस्तो लाग्नसक्छ तपाईँलाई । तर भरखरै मात्र भएको जेनजी (जेड पुस्ता)को आन्दोलन र त्यसपछि विकसित सन्दर्भ हेर्दा र त्यसबारे सरोकारवाला मानिसका कुरा सुन्दा लाग्छ, नेपाली समाजमा मानवीय संवेदना, चेतना र अनुशासनको स्तर निकै कमजोर भइसकेको छ । विवेकको मात्रा घट्दो र परपीडक स्वभाव बढ्दो छ ।
जेनजी विद्रोहको समयमा चरा मारेजस्तो (हुन त चरा पनि त्यसरी मारिनु हुँदैन) भकाभक नवयुवाहरू मारिए । टेलिभिजनको पर्दामा हेर्दा यस्तो लाग्थ्यो– कसैले मान्छेको सिकार गरिरहेको छ । यस्तो आततायी र बीभत्स प्रकारको दृश्य नेपालमा कहिले देखिएको थिएन । उनीहरूको मृत्युको दृश्यले आँसु थाम्न गाह्रो परेर टेलिभिजन बन्द गर्नुपरेको थियो । सामाजिक सञ्जाल तिनै दृश्यहरूले भरिएको थियो । त्यो दृश्यले गर्दा निदाउन सकिएको थिएन । अझ ती नवयुवाहरूका आमाबुबा, आफन्तलाई कस्तो भएको थियो होला ?
टाउको र पेटमा गोली लागेको स्थानमा प्राथमिक उपचार गरेर, पट्टि बाँधेर आन्दोलनमा सहभागी इटहरीको आशुतोष बस्नेतको घर–परिवारलाई कस्तो भएको थियो ? अझै कति जना जीवन र मृत्युको दोसाँधमा अस्पतालको बेडमा छट्पटिरहेका छन् । तिनीहरूको घर–परिवारलाई कस्तो भएको होला ? उनीहरू बाँचेर आउलान् कि भन्ने झिनो आशा त अझै पनि छ । तर ती योद्धाहरू जो सहिद भए उनीहरू कहिल्यै फर्कने छैनन् । कैयौँको काख रित्तिएको छ । कैयौँको संसार उजाडिएको छ । यो घटनाले कैयौँको जिन्दगीको बाँच्ने सपना तोडिएको छ । बाँच्नेहरू पनि अपाङ्ग हुनुपरेको छ ।
भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी पक्षद्वारा अत्यधिक बल प्रयोग र आततायी हत्या भएको घटनाका कारण भोलिपल्ट नेपाली समाज विक्षिप्त भयो । प्रतिकारमा उत्रियो । धमिलो पानीमा माछा मार्न पल्केका र पर्खेकाहरूको घुसपैठ थपियो । फलतः सिंहदरबार, सर्वोच्चसहित अदालतहरू, मन्त्रीनिवास, मन्त्रालयहरू, प्रहरी कार्यालय, सरकारी भवन, राजनीतिकर्मीका निवास, पार्टी कार्यालय, पालिका कार्यालय, व्यापारिक कम्प्लेक्ससहित सञ्चारसंस्थामा आक्रमण भयो । अर्बौँको संरचना भत्काइए, डढाइए, लुटिए । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणामाथि भौतिक आक्रमण भयो । नहुनुपर्ने धेरै कुराहरू भए । यस्ता भौतिक संरचनाहरू नडढाइएको, नभत्काइएको, नलुटिएको भए राम्रो हुन्थ्यो । तर सरकारी संयन्त्र र घुसपैठ गर्नेहरूबाट मात्र होइन, कतिपय आन्दोलनकारी र जनताबाट समेत अपेक्षाविपरीतका कामहरू भए ।
कवि गोपालप्रसाद रिमालले ‘आमाको सपना’ कवितामा भने जस्तो २०८२ भदौ २३ र २४ गते एक जुगमा एक दिन एकचोटि आयो, उलटपुलट, उथलपुथल, हेरफेर ल्यायो । तर विडम्बना, नेपालीहरूहरू परिवर्तन गर्न जान्दछन्, परिवर्तनलाई संस्थागत गर्न जान्दैनन् भन्ने भाष्य जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति व्यवस्थापनका सवालमा चरितार्थ हुँदो छ ।
जताततै भत्किएका, जलेका भौतिक संरचनाहरूको धेरै चर्चा हुने गरेको पाइन्छ । ती भौतिक संरचनाहरू त फेरि पनि बन्लान्, बनाउन सकिएलान् । तर त्यो आन्दोलनका समयमा पुक्लुक–पुक्लुक ढलेका युवाहरू फेरि फर्केर आउँछन् । आँखा फुटाइएका, हातखुट्टा काटिएका, अपाङ्ग बनाइएका घाइतेहरू पूर्ववत् सग्लो हुन्छन् ? ती मारिएका र घाइते भएकाहरूको बलिदान एवम् त्यागको मूल्य केही पनि होइन जस्तो गरेर भौतिक संरचनाहरूको निर्माणतर्फ बढी चर्चा हुने गरेको पाइन्छ । राज्यको ध्यान र शक्ति पनि ढलेका संरचनाहरू उठाउने र खरानी टक्टक्याउनेतर्फ बढी केन्द्रित हुन थालेको देखिन्छ ।
ती मान्छे मारिएका घटनाहरू छानबिन गर्न तीन महिनाको समय दिइएको छ । तर संरचना भत्काएको, जलाएको भनेर आन्दोलनमा सहभागीहरूलाई धमाधम पक्राउ गरिँदै छ । मान्छे मार्नुभन्दा ठूलो अपराध सिंहदरबार जलाउनु हुँदै होइन । रह्यो कुरा प्रहरीको मनोबल उठाउनुपर्छ, ठिक छ त्यो गर्नुपर्छ । प्रहरी पनि मारिएका छन् । हत्या गर्नेहरू जेनजी आन्दोलनकारी होइनन् । तिनीहरूलाई पक्रेर कारबाही चलाउनु पर्छ । त्यसले मात्र प्रहरीको मनोबल बढ्ने होइन । प्रहरी, सुरक्षाकर्मी आदेशपालन गर्ने निकाय हो । त्यो आन्दोलन दबाउन बल प्रयोग गर्ने क्रममा प्रहरी देखापरेका हुन् । तर उनीहरूको हातमा रहेको राइफल चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी (सिडिओ), गृहमन्त्री र प्रधानमन्त्री हुन् । विडम्बना अहिलेसम्म यस्ता विभिन्न घटनामा धान खाने मुसो चोट पाउने भ्यागुतो भइरहेको छ । कारबाहीमा पर्ने मुख्यतः भुइँ तहका प्रहरी हुने गरेका छन् । यो बेला आदेशपालक प्रहरीलाई भन्दा पनि आदेश दिनेहरूलाई कारबाही गर्ने हो भने आदेश पालना गर्ने प्रहरीको मनोबल त्यत्तिकै बढ्नेछ । आदेश दिनेहरूले पनि आफ्नो मात्र सुरक्षाको कुरा गरेर अनावश्यक आदेश गर्ने छैनन् ।
यतिबेला भत्किएका संरचनाको कुरा बढी भइरहेको छ । पहिलो कारबाहीको भागीदार पनि आन्दोलनकारीहरू नै भइरहेको छ । उनीहरूलाई मार्ने वा मार्न लगाउनेहरू झन् ठूलो आवाजमा गर्जिन खोज्दै छन् । हामी नेपालीहरू भने टुलुटुलु हेरेर बसिरहेका छौँ । यो अवस्थामा हामीसँग भएको मानविय संवेदनशीलता कसरी र किन हरायो ? माओवादी सशस्त्र द्वन्द्वका बेला पनि नघटेको यो आततायी घटना हामी यत्तिकै बिर्सन खोजिरहेका छौँ । घुसपैठ र विदेशी शक्तिको चाल भनेर नवयुवाहरूको रगतलाई हामी पानी बनाउन त लागेका होइनौँ ? अन्यथा सबैभन्दा पहिले जनहत्यारा र भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने होइन र ?
यतिबेला देउवा दम्पतीमाथि भएको दुर्वव्यहारले मलाई छाएको छैन । ती नेताहरूको भत्किएको, जलेको घरहरू देख्दा खासै दुःख लागेको छैन । केही अपवादलाई छाडेर हेर्ने हो भने त्यो सबै उनीहरूले जनता र देशमाथि गरेको घातको सजाय पाएका हुन् । जनता सार्वभौम हुन् भने सार्वभौम जनताले अर्थात् ‘जनअदालत’ले दिएको सजाय हो । अहिले कतिले देउवाको घरमा अकुत सम्पत्ति डढेको भिडियोहरू एआई एप्स प्रयोग गरेर बनाएको भन्दै लाज छोप्ने प्रयत्न असफल प्रयत्न गर्दै छन् । अहिले उनीहरूको भनाइ सुन्दा त्यो सजाय पनि कम भएको त होइन जस्तो भएको छ ।
फेरि पनि म भन्छु, भ्रष्टाचाररहित नयाँ नेपाल निर्माणका लागि नवयुवाले बगाएको रगत र उनीहरू ज्यानभन्दा भौतिक संरचनालाई ठूलो नठानियोस् । राज्य स्रोतको दुरुपयोग गरी देशका होनहार कर्णधार मार्ने आततायी सिकारीहरू त्यत्तिकै नछाडियुन् ।