ज्यानभन्दा ठूलो होइन भौतिक संरचना

  • असोज २४, २०८२ / नेपाल रेखा
alt

– सरोज बराल
हामी नेपालीहरू संवेदनाहीन भएकै हौँ ? के हामीसँग भएको मानवता मरिसकेको हो ?
म आफैँले आफैँलाई धेरैपटक सोध्ने गरेको छु यो प्रश्न । तर आफैँ द्विविधामा रहेको पाउँछु । कहिलेकाहीँ यस्तो लाग्छ कि हामी नेपालीहरूमा जस्तो मानवता अरूमा कहाँ पाइन्छ ? कतै कोही बिमारी भएको, कसैको उपचार गर्नुपर्ने अवस्था प¥यो भने एक–दुई दिनमै करोडौँ रुपियाँ सङ्कलन गर्नसक्ने नेपालीबाहेक कमै होलान् ? विदेशमा त्यहाँको सरकार र अदालतले कसैलाई मृत्युदण्ड दिएको अवस्थामा पीडित परिवारले ‘ब्लड–मनी’को माग ग¥यो भने करोडौँ रुपियाँ जम्मा गर्ने हामी नेपाली नै हौँ ।
कसैको जीवन रक्षा हुनसक्ने अवस्था देखियो भने हामी मन खोलेर आर्थिक सहयोग गर्न जुट्छौँ । मानवता भनेको यही त हो । आवश्यकता परेको समयमा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नुभन्दा ठूलो मानवता के होला र ? अनि यति ठूलो मन गरेर आफूले नदेखेको र नसुनेको मान्छेलाई समेत सहयोग गर्न तम्सिने नेपालीहरू जत्तिको मनकारी अरू को होला र ?
तर यस्ता सहयोगहरूलाई एकातिर राखेर सोच्छु, होइन हामी नेपालीहरूलाई यस्ता कुराले पटक्कै दुख्दैन । कसैको मृत्युलाई भन्दा ठूलो हामी भौतिक सम्पत्तिलाई पो सोचिरहेका हुँदा रहेछौँ । हामीलाई मृत्युले भन्दा धेरै घर, भवन इत्यादि भौतिक संरचनाको विनाशले पोल्दो रहेछ । हामी मानव जीवनको रक्षातर्फ कम, भौतिक संरचनाको संरक्षणतर्फ बढी चिन्तित हुँदा रहेछौँ । मेरो कुरा गलत जस्तो लाग्नसक्छ तपाईँलाई । तर भरखरै मात्र भएको जेनजी (जेड पुस्ता)को आन्दोलन र त्यसपछि विकसित सन्दर्भ हेर्दा र त्यसबारे सरोकारवाला मानिसका कुरा सुन्दा लाग्छ, नेपाली समाजमा मानवीय संवेदना, चेतना र अनुशासनको स्तर निकै कमजोर भइसकेको छ । विवेकको मात्रा घट्दो र परपीडक स्वभाव बढ्दो छ ।
जेनजी विद्रोहको समयमा चरा मारेजस्तो (हुन त चरा पनि त्यसरी मारिनु हुँदैन) भकाभक नवयुवाहरू मारिए । टेलिभिजनको पर्दामा हेर्दा यस्तो लाग्थ्यो– कसैले मान्छेको सिकार गरिरहेको छ । यस्तो आततायी र बीभत्स प्रकारको दृश्य नेपालमा कहिले देखिएको थिएन । उनीहरूको मृत्युको दृश्यले आँसु थाम्न गाह्रो परेर टेलिभिजन बन्द गर्नुपरेको थियो । सामाजिक सञ्जाल तिनै दृश्यहरूले भरिएको थियो । त्यो दृश्यले गर्दा निदाउन सकिएको थिएन । अझ ती नवयुवाहरूका आमाबुबा, आफन्तलाई कस्तो भएको थियो होला ?
टाउको र पेटमा गोली लागेको स्थानमा प्राथमिक उपचार गरेर, पट्टि बाँधेर आन्दोलनमा सहभागी इटहरीको आशुतोष बस्नेतको घर–परिवारलाई कस्तो भएको थियो ? अझै कति जना जीवन र मृत्युको दोसाँधमा अस्पतालको बेडमा छट्पटिरहेका छन् । तिनीहरूको घर–परिवारलाई कस्तो भएको होला ? उनीहरू बाँचेर आउलान् कि भन्ने झिनो आशा त अझै पनि छ । तर ती योद्धाहरू जो सहिद भए उनीहरू कहिल्यै फर्कने छैनन् । कैयौँको काख रित्तिएको छ । कैयौँको संसार उजाडिएको छ । यो घटनाले कैयौँको जिन्दगीको बाँच्ने सपना तोडिएको छ । बाँच्नेहरू पनि अपाङ्ग हुनुपरेको छ ।
भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी पक्षद्वारा अत्यधिक बल प्रयोग र आततायी हत्या भएको घटनाका कारण भोलिपल्ट नेपाली समाज विक्षिप्त भयो । प्रतिकारमा उत्रियो । धमिलो पानीमा माछा मार्न पल्केका र पर्खेकाहरूको घुसपैठ थपियो । फलतः सिंहदरबार, सर्वोच्चसहित अदालतहरू, मन्त्रीनिवास, मन्त्रालयहरू, प्रहरी कार्यालय, सरकारी भवन, राजनीतिकर्मीका निवास, पार्टी कार्यालय, पालिका कार्यालय, व्यापारिक कम्प्लेक्ससहित सञ्चारसंस्थामा आक्रमण भयो । अर्बौँको संरचना भत्काइए, डढाइए, लुटिए । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणामाथि भौतिक आक्रमण भयो । नहुनुपर्ने धेरै कुराहरू भए । यस्ता भौतिक संरचनाहरू नडढाइएको, नभत्काइएको, नलुटिएको भए राम्रो हुन्थ्यो । तर सरकारी संयन्त्र र घुसपैठ गर्नेहरूबाट मात्र होइन, कतिपय आन्दोलनकारी र जनताबाट समेत अपेक्षाविपरीतका कामहरू भए ।
कवि गोपालप्रसाद रिमालले ‘आमाको सपना’ कवितामा भने जस्तो २०८२ भदौ २३ र २४ गते एक जुगमा एक दिन एकचोटि आयो, उलटपुलट, उथलपुथल, हेरफेर ल्यायो । तर विडम्बना, नेपालीहरूहरू परिवर्तन गर्न जान्दछन्, परिवर्तनलाई संस्थागत गर्न जान्दैनन् भन्ने भाष्य जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति व्यवस्थापनका सवालमा चरितार्थ हुँदो छ ।
जताततै भत्किएका, जलेका भौतिक संरचनाहरूको धेरै चर्चा हुने गरेको पाइन्छ । ती भौतिक संरचनाहरू त फेरि पनि बन्लान्, बनाउन सकिएलान् । तर त्यो आन्दोलनका समयमा पुक्लुक–पुक्लुक ढलेका युवाहरू फेरि फर्केर आउँछन् । आँखा फुटाइएका, हातखुट्टा काटिएका, अपाङ्ग बनाइएका घाइतेहरू पूर्ववत् सग्लो हुन्छन् ? ती मारिएका र घाइते भएकाहरूको बलिदान एवम् त्यागको मूल्य केही पनि होइन जस्तो गरेर भौतिक संरचनाहरूको निर्माणतर्फ बढी चर्चा हुने गरेको पाइन्छ । राज्यको ध्यान र शक्ति पनि ढलेका संरचनाहरू उठाउने र खरानी टक्टक्याउनेतर्फ बढी केन्द्रित हुन थालेको देखिन्छ ।
ती मान्छे मारिएका घटनाहरू छानबिन गर्न तीन महिनाको समय दिइएको छ । तर संरचना भत्काएको, जलाएको भनेर आन्दोलनमा सहभागीहरूलाई धमाधम पक्राउ गरिँदै छ । मान्छे मार्नुभन्दा ठूलो अपराध सिंहदरबार जलाउनु हुँदै होइन । रह्यो कुरा प्रहरीको मनोबल उठाउनुपर्छ, ठिक छ त्यो गर्नुपर्छ । प्रहरी पनि मारिएका छन् । हत्या गर्नेहरू जेनजी आन्दोलनकारी होइनन् । तिनीहरूलाई पक्रेर कारबाही चलाउनु पर्छ । त्यसले मात्र प्रहरीको मनोबल बढ्ने होइन । प्रहरी, सुरक्षाकर्मी आदेशपालन गर्ने निकाय हो । त्यो आन्दोलन दबाउन बल प्रयोग गर्ने क्रममा प्रहरी देखापरेका हुन् । तर उनीहरूको हातमा रहेको राइफल चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी (सिडिओ), गृहमन्त्री र प्रधानमन्त्री हुन् । विडम्बना अहिलेसम्म यस्ता विभिन्न घटनामा धान खाने मुसो चोट पाउने भ्यागुतो भइरहेको छ । कारबाहीमा पर्ने मुख्यतः भुइँ तहका प्रहरी हुने गरेका छन् । यो बेला आदेशपालक प्रहरीलाई भन्दा पनि आदेश दिनेहरूलाई कारबाही गर्ने हो भने आदेश पालना गर्ने प्रहरीको मनोबल त्यत्तिकै बढ्नेछ । आदेश दिनेहरूले पनि आफ्नो मात्र सुरक्षाको कुरा गरेर अनावश्यक आदेश गर्ने छैनन् ।
यतिबेला भत्किएका संरचनाको कुरा बढी भइरहेको छ । पहिलो कारबाहीको भागीदार पनि आन्दोलनकारीहरू नै भइरहेको छ । उनीहरूलाई मार्ने वा मार्न लगाउनेहरू झन् ठूलो आवाजमा गर्जिन खोज्दै छन् । हामी नेपालीहरू भने टुलुटुलु हेरेर बसिरहेका छौँ । यो अवस्थामा हामीसँग भएको मानविय संवेदनशीलता कसरी र किन हरायो ? माओवादी सशस्त्र द्वन्द्वका बेला पनि नघटेको यो आततायी घटना हामी यत्तिकै बिर्सन खोजिरहेका छौँ । घुसपैठ र विदेशी शक्तिको चाल भनेर नवयुवाहरूको रगतलाई हामी पानी बनाउन त लागेका होइनौँ ? अन्यथा सबैभन्दा पहिले जनहत्यारा र भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने होइन र ?
यतिबेला देउवा दम्पतीमाथि भएको दुर्वव्यहारले मलाई छाएको छैन । ती नेताहरूको भत्किएको, जलेको घरहरू देख्दा खासै दुःख लागेको छैन । केही अपवादलाई छाडेर हेर्ने हो भने त्यो सबै उनीहरूले जनता र देशमाथि गरेको घातको सजाय पाएका हुन् । जनता सार्वभौम हुन् भने सार्वभौम जनताले अर्थात् ‘जनअदालत’ले दिएको सजाय हो । अहिले कतिले देउवाको घरमा अकुत सम्पत्ति डढेको भिडियोहरू एआई एप्स प्रयोग गरेर बनाएको भन्दै लाज छोप्ने प्रयत्न असफल प्रयत्न गर्दै छन् । अहिले उनीहरूको भनाइ सुन्दा त्यो सजाय पनि कम भएको त होइन जस्तो भएको छ ।
फेरि पनि म भन्छु, भ्रष्टाचाररहित नयाँ नेपाल निर्माणका लागि नवयुवाले बगाएको रगत र उनीहरू ज्यानभन्दा भौतिक संरचनालाई ठूलो नठानियोस् । राज्य स्रोतको दुरुपयोग गरी देशका होनहार कर्णधार मार्ने आततायी सिकारीहरू त्यत्तिकै नछाडियुन् ।

पाथीभरा क्षेत्रमा रह ...

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन् ...

महिला सक्रियता ...

गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा निरन्तरक ...

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]