काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड तत्काल एमालेसँगको एकता अस्वीकार गरेका हुन् ।
‘हामीले पहिल्यै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो’, उनले भने, ‘तर नराम्रोसँग धोका खाइयो । पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ । अहिले तत्काल त्यो सम्भावना छैन । २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन ।’
प्रचण्डले अहिले आफ्नो ध्यान सरकारतिर नभएको जिकिर गरेका छन् । यद्यपि सरकार उल्टो बाटोमा हिँडिरहेको र सुशासन भत्काउने तिर गइराखेकाले त्यसको खिलाफमा खबरदारी जारी राख्ने उनले बताए ।
साथै, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ । आजबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड लगायतका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला पुगेका थिए ।
देउवासँग कुराकानी भएको जानकारी प्रचण्ड आफैँले शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए । ‘डडेलधुरा शेरबहादुर देउवाको जिल्लाले चिनिन्छ । उहाँसँग कुराकानी भएको थियो । मेरो जिल्लामा तपाईंलाई स्वागत छ भन्नुभयो । उहाँले अभियान सफल रहोस् भनेर शुभकामना दिनुभयो । अन्य दलका नेताहरूले पनि हामीलाई न्यानो स्वागत गर्नुभएको छ’, प्रेस सेन्टर नेपाल डडेलधुराले गरेको पत्रकार सम्मेलनमा उनले भनेका थिए । यद्यपि दुई नेताबिच टेलिफोन कुराकानी बिहान भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । अभियानको क्रममा देउवाको गृह जिल्लामा भएकाले जानकारीमूलक कुराकानी भएको आचार्यले बताए ।