यस्तो छ– इटहरी उपमहानगरको शैक्षिक सुधार संकल्प

  • फाल्गुन २८, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत गरेको छ ।
आफ्नो क्षेत्र भित्रका विद्यालयहरूको गुणस्तर सुधारका लागि उपमहानगरले सङ्कल्प पत्र सार्वजनिक गर्दै कडाइका साथ कार्यान्वयन गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।
उप महानगरले आफूले सार्वजनिक गरेको सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने भएकाले सहयोगका लागि सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले बृहत् शैक्षिक अन्तरक्रिया गर्दै सङ्कल्प पत्र कार्यान्वयन गर्न सहयोगको आग्रह गरे ।
विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यी सङ्कल्प प्रस्तावहरूले आमूल परिवर्तन ल्याउने उपमहानगरले दाबी पनि गरेको छ ।
सङ्कल्प पत्रमा उल्लेखित योजना तथा कार्यक्रमहरूलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउने पनि उपमहानगरपालिकाले दाबी गरेको छ ।

के छ सङ्कल्प पत्रमा ?

इटहरी उप महानगरका जनप्रतिनीधिहरुले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा छोरा छोरी पढाउनु पर्ने नीति लिएको छ ।
जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाएसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नसुध्रने भएकाले छोरा छोरी सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प उप महानगरले गरेको छ ।
इटहरी उप महानगरमा ३६ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा जनप्रतिनिधिका छोरा छोरी सहित कर्मचारीका छोरा छोरी पनि सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति उप महानगरले लिएको छ ।
यस्तै उप–महानगर अन्तरगतका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले समेत छोरा छोरी सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प लिएको छ ।
शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूले आफ्ना छोराछोरी कक्षा १० सम्म सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्ने भएको छ ।
आगामी शैक्षिक सत्रबाट नै यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउने उपमहानगरले जनाएको छ ।
उपमहानगरका मेयर हेमकर्ण पौडेलले यसै शैक्षिक सत्रबाट आप्mना सन्तान सामुदायिक विद्यालयमा पढाउने बताए । उनले भने,‘म आफै सामुदायिक विद्यालयमा सन्तान भर्ना गर्छु । मैले आफै भर्ना गरेपछि अरूले पनि भर्ना गर्नु हुन्छ भन्ने अपेक्षा छ ।’
जनप्रतिनीधिरुहरुले सामुदायिक विद्यालयमा आफ्ना सन्तान भर्ना गरे कर्मचारी र व्यवस्थापन समितिले पनि आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्ने मेयर पौडेलले बताए ।
यसै गरी इटहरी उपमहानगरले शैक्षिक सत्र २०८१ बाट ठुला विद्यालय स्थापना गर्ने उपमहानगरको सङ्कल्प पत्रमा उल्लेख छ ।
विद्यार्थी शिक्षक अनुपात, भौगोलिक सेवा क्षेत्र न्यून भएका दुई वा सोभन्दा बढी विद्यालयलाई विद्यालय नक्साङन गरी ठुला विद्यालय स्थापना गरिनेछ ।
राम्रो भएको विद्यालयलाई विग विद्यालय मान्दै वरीपरि रहेका विद्यालयहरूको पनि शैक्षिक र भौतिक अवस्थामा सुधार गर्ने मेयर हेमकर्ण पौडेलले बताए ।
उनले भने विद्यालयको पूर्वाधार विकासले मात्रै विद्यालय सुधार हुँदैन । समग्र विद्यालयको सुधारका लागि विग स्कुलको अवधारणा लिइएको हो ।

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक, स्थानीय पाठ्यक्रम निर्माण

इटहरी उपमहानगरले खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक छनौट गरिने योजना अघि सारेको छ ।
उपमहानगरले अव राजनीति र भनसुनका आधारमा नभई आन्तरिक प्रतिस्पर्धाका आधारमा विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने जनाएको छ । प्रधानाध्यापकको कार्य क्षमताका आधारमा विद्यालयको सुधार हुन्छ ।
विद्यालयको समग्र सुधारका लागि सक्षम प्रधानाध्यापक छान्न खुल्ला प्रतिस्पर्धा गरिने प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए । यसै गरी उपमहानगरले आफ्नै स्थानीय पाठ्यक्रमलाई लागु गर्ने तयारी गरेको छ ।
आगामी शैक्षिक सत्रदेखि कक्षा १–८ सम्म इटहरीको सेरोफेरो विषय सबै विद्यालयमा अध्यापन गराइने सङ्कल्प पत्रमा उल्लेख छ । उप महानगरले इटहरीमा थारु बाहुल्यता रहेको क्षेत्रमा थारु भाषामा समेत पठन पाठन गर्न सङ्कल्प प्रस्तुत गरेको छ ।
उपमहानगरले यस अघि नै थारुलाई उप महानगरको प्रथम जातिको रूपमा घोषणा गरेको छ । प्रथम जातीको रूपमा घोषणा गर्दै थारु समुदायका भाषा, संस्कार र सस्कृती विकासका लागि बजेट विनियोजन गरेको उपमहानगरले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखी ५ सम्म थारु भाषामा पठनपाठन गराउने जनाएका छ । यसका लागि पनि पाठ्यपुस्तक तयारीको काम भएको उपमहानगरपालिकाले जनाएको छ ।
इटहरीमा रहेका संस्थागत अर्थात् निजी विद्यालयले लिने शुल्कका विषयमा समेत उपमहानगरले एकरूपता ल्याउने सङ्कल्प प्रस्तुत गरेको छ ।
पालिका भित्रका निजी विद्यालयहरूले मनलागि शुल्क लिएको गुनासो अभिभावकहरुले गर्ने गरेका छन् ।
यो समस्याको सम्बोधन गर्न यस अघि नै नगरपालिकाले काम थालेको थियो । स्वघोषणाका आधारमा विद्यालयको वर्गीकरण गर्ने र वर्गीकरणका आधारमा शुल्क लिन पाउने व्यवस्था गरिएको भए पनि कार्यान्वयनमा जान सकेको थिएन ।
वर्गीकरणका आधारमा उपमहानगरसँग स्वीकृति लिएर संस्थागत विद्यालयहरूले अभिभावक र विद्यार्थीसँग शुल्क लिन पाउने उपमहानगरले जनाएको छ । हामी आफै मापदण्ड तोक्छौ । मापदण्डका आधारमा शुल्कमा एकरूपता ल्याउने उपमहानगरले जनाएको छ ।
आगामी शैक्षिक सत्र २०८१ देखी संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई सबै प्रकारका शुल्कहरूमा एकरूपताका लागि आवश्यक व्यवस्था मिलाउने उपमहानगरले जनाएको छ ।

पूर्वाधारमैत्री विद्यालय, प्रविधिमैत्री अध्यापन

विद्यालयहरूमा आवश्यक न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी पूर्वाधारमैत्री विद्यालय बनाउने उपमहानगरले घोषणा गरेको छ ।
विद्यालयमा उच्च प्रविधिमैत्री अध्यापन शैली अपनाउने जनाएको छ । त्यसका लागि विद्यालयमा सूचना प्रविधिको प्रबन्ध, स्मार्ट बोर्ड,सी.सी क्यामरा, पुस्तकालय, विज्ञान प्रयोगशालाको व्यवस्थापन गर्ने जनाएको छ ।
बालबालिकालाई आवतजावतमा सहजताका लागि स्कुल बसको व्यवस्था क्रमशः विद्यालयमा विस्तार गर्दै लैजाने उपमहानगरले उल्लेख गरेको छ । क्रमशः विद्यालयहरूलाई बस हस्तान्तरण गर्ने योजना उपमहानगरको छ ।
यसै गरी शिक्षकको क्षमता विकास गर्न पेसागत विकास कार्यक्रम सञ्चालन गर्ने उपमहानगरले जनाएको छ । यसमा शिक्षकहरूको पेसागत सङ्घ सङ्गठनहरूलाई शैक्षिक गुणस्तर सुधारका लागि कार्यक्रम कार्यान्वयनका लागि उत्प्रेरित गर्ने जनाएको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग वार्षिक करार सम्झौता गरिने । सम्झौता अनुसार कार्य सम्पादन गर्ने प्रधानाध्यापकलाई क्रमशः दुई हजार, पन्ध्र सय र एक हजार मासिक रूपमा उपलब्ध गराउनेछ ।

विद्यार्थी आकर्षण गर्ने आकर्षक नारा

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन उपमहानगरले विभिन्न खाले नारा समेत ल्याएको छ । सामुदायिक विद्यालयमा आकर्षण जगाउन उपमहानगरले दिवा खाजा कार्यक्रम ठेक्का मार्फत सञ्चालन गर्न थालेको छ ।
दैनिक रूपमा मेन्यु अनुसार खाजा कार्यक्रम लागू भएपछि विद्यार्थीको आकर्षण बढेको छ । यो बाहेक उपमहानगरले फ्राइडे फर फ्युचर कार्यक्रम लागू गर्ने उपमहानगरले सङ्कल्प गरेको छ ।
सङ्कल्प पत्रका अनुसार हप्ताको एक दिन शुक्रवार सामुदायिक विद्यालयमा खेलकुद, सङ्गीत, भाषा, कला साहित्य, नेतृत्व विकास गर्ने कार्यक्रम सञ्चालन गरिने छ । यसै गरी इटहरीका सामुदायिक विद्यालयमा मोबाइल नर्सिङ सेवा इटहरीका सामुदायिक विद्यालयमा प्रदान गरिने उपमहानगरले जनाएको छ ।
यसै सबै विद्यालयहरूमा सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम विस्तार गर्ने । यस्तै विद्यालयमा योग ध्यान, प्राणायाम गराउने, आयुर्वेद शिक्षालाई पनि कार्यान्वयन गराइने उपमहानगरले सङ्कल्प गरेको छ ।
यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा तथा सिप विकासमा पहुँच र अवसर सृजना गरी औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालनमा ल्याउने, नगर खेलकुद विकास समिति मार्फत खेलकुदका कार्यक्रम सञ्चालन गरिने उपमहानगरले सङ्कल्प प्रस्तुत गरेको छ ।
यसै गरी विद्यालयमा स्काउट, बाल क्लब, जुरेस, युरेसजस्ता समूहको गठन गरी बालबालिकामा सामाजिक भावना नैतिक शिक्षा र व्यवहारिक सिप विकास गरिने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

योजना राम्रो कार्यान्वयन चुनौती

सामुदायिक विद्यालय सुधारका लागि इटहरी उपमहानगरले सार्वजनिक गरेको सङ्कल्प पत्र राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् । सामुदायिक विद्यालय सुधारमा उप महानगरले सार्वजनिक गरेको सङ्कल्प पत्र राम्रो भए पनि कार्यान्वयनमा समस्या रहेको जनसहयोग माविका प्रधानाध्यापक जनक बस्नेतले बताए ।
सामुदायिक विद्यालय सुधारका लागि सार्वजनिक भएको सङ्कल्प पत्र कार्यान्वयनमा हामी पनि लाग्ने छौ उनले भने तर सहज रूपमा कार्यान्वयन गर्न भने गाहे छ । उनले शिक्षकहरूका समस्या समाधान गर्ने तर्फ सङ्कल्प पत्रले ध्यान नदिएको भन्दै यस तर्फ पनि उपमहानगरको ध्यान जानु पर्ने बताए ।
उनले विद्यालयमा हुने व्यवस्थापन समितिमा देखिएको राजनीतिक भागबन्डाको परिपाटी अन्तय नभएसम्म सङ्कल्प पत्र कार्यान्वयनमा चुनौती रहेको बस्नेतले बताए ।
सबै जसो विद्यालयमा व्यवस्थापन समिति राजनीतिक दलको भागबण्डका आधामा गठन भइरहेको छ । यसले विद्यालयका शैक्षिक अवस्थामा सुधार आउन सक्दैन ।
इटहरी स्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी दंगालले सङ्कल्प पत्र कार्यान्वयनमा जान सके सामुदायिक विद्यालयको अवस्थामा सुधार आउने बताए । उनले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा नगरपालिकाले लगानी बढाउनु पर्ने बताए ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]