यस्तो छ– इटहरी उपमहानगरको शैक्षिक सुधार संकल्प

  • फागुन २८, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत गरेको छ ।
आफ्नो क्षेत्र भित्रका विद्यालयहरूको गुणस्तर सुधारका लागि उपमहानगरले सङ्कल्प पत्र सार्वजनिक गर्दै कडाइका साथ कार्यान्वयन गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।
उप महानगरले आफूले सार्वजनिक गरेको सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने भएकाले सहयोगका लागि सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले बृहत् शैक्षिक अन्तरक्रिया गर्दै सङ्कल्प पत्र कार्यान्वयन गर्न सहयोगको आग्रह गरे ।
विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यी सङ्कल्प प्रस्तावहरूले आमूल परिवर्तन ल्याउने उपमहानगरले दाबी पनि गरेको छ ।
सङ्कल्प पत्रमा उल्लेखित योजना तथा कार्यक्रमहरूलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउने पनि उपमहानगरपालिकाले दाबी गरेको छ ।

के छ सङ्कल्प पत्रमा ?

इटहरी उप महानगरका जनप्रतिनीधिहरुले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा छोरा छोरी पढाउनु पर्ने नीति लिएको छ ।
जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाएसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नसुध्रने भएकाले छोरा छोरी सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प उप महानगरले गरेको छ ।
इटहरी उप महानगरमा ३६ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा जनप्रतिनिधिका छोरा छोरी सहित कर्मचारीका छोरा छोरी पनि सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति उप महानगरले लिएको छ ।
यस्तै उप–महानगर अन्तरगतका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले समेत छोरा छोरी सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प लिएको छ ।
शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूले आफ्ना छोराछोरी कक्षा १० सम्म सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्ने भएको छ ।
आगामी शैक्षिक सत्रबाट नै यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउने उपमहानगरले जनाएको छ ।
उपमहानगरका मेयर हेमकर्ण पौडेलले यसै शैक्षिक सत्रबाट आप्mना सन्तान सामुदायिक विद्यालयमा पढाउने बताए । उनले भने,‘म आफै सामुदायिक विद्यालयमा सन्तान भर्ना गर्छु । मैले आफै भर्ना गरेपछि अरूले पनि भर्ना गर्नु हुन्छ भन्ने अपेक्षा छ ।’
जनप्रतिनीधिरुहरुले सामुदायिक विद्यालयमा आफ्ना सन्तान भर्ना गरे कर्मचारी र व्यवस्थापन समितिले पनि आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्ने मेयर पौडेलले बताए ।
यसै गरी इटहरी उपमहानगरले शैक्षिक सत्र २०८१ बाट ठुला विद्यालय स्थापना गर्ने उपमहानगरको सङ्कल्प पत्रमा उल्लेख छ ।
विद्यार्थी शिक्षक अनुपात, भौगोलिक सेवा क्षेत्र न्यून भएका दुई वा सोभन्दा बढी विद्यालयलाई विद्यालय नक्साङन गरी ठुला विद्यालय स्थापना गरिनेछ ।
राम्रो भएको विद्यालयलाई विग विद्यालय मान्दै वरीपरि रहेका विद्यालयहरूको पनि शैक्षिक र भौतिक अवस्थामा सुधार गर्ने मेयर हेमकर्ण पौडेलले बताए ।
उनले भने विद्यालयको पूर्वाधार विकासले मात्रै विद्यालय सुधार हुँदैन । समग्र विद्यालयको सुधारका लागि विग स्कुलको अवधारणा लिइएको हो ।

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक, स्थानीय पाठ्यक्रम निर्माण

इटहरी उपमहानगरले खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक छनौट गरिने योजना अघि सारेको छ ।
उपमहानगरले अव राजनीति र भनसुनका आधारमा नभई आन्तरिक प्रतिस्पर्धाका आधारमा विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने जनाएको छ । प्रधानाध्यापकको कार्य क्षमताका आधारमा विद्यालयको सुधार हुन्छ ।
विद्यालयको समग्र सुधारका लागि सक्षम प्रधानाध्यापक छान्न खुल्ला प्रतिस्पर्धा गरिने प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए । यसै गरी उपमहानगरले आफ्नै स्थानीय पाठ्यक्रमलाई लागु गर्ने तयारी गरेको छ ।
आगामी शैक्षिक सत्रदेखि कक्षा १–८ सम्म इटहरीको सेरोफेरो विषय सबै विद्यालयमा अध्यापन गराइने सङ्कल्प पत्रमा उल्लेख छ । उप महानगरले इटहरीमा थारु बाहुल्यता रहेको क्षेत्रमा थारु भाषामा समेत पठन पाठन गर्न सङ्कल्प प्रस्तुत गरेको छ ।
उपमहानगरले यस अघि नै थारुलाई उप महानगरको प्रथम जातिको रूपमा घोषणा गरेको छ । प्रथम जातीको रूपमा घोषणा गर्दै थारु समुदायका भाषा, संस्कार र सस्कृती विकासका लागि बजेट विनियोजन गरेको उपमहानगरले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखी ५ सम्म थारु भाषामा पठनपाठन गराउने जनाएका छ । यसका लागि पनि पाठ्यपुस्तक तयारीको काम भएको उपमहानगरपालिकाले जनाएको छ ।
इटहरीमा रहेका संस्थागत अर्थात् निजी विद्यालयले लिने शुल्कका विषयमा समेत उपमहानगरले एकरूपता ल्याउने सङ्कल्प प्रस्तुत गरेको छ ।
पालिका भित्रका निजी विद्यालयहरूले मनलागि शुल्क लिएको गुनासो अभिभावकहरुले गर्ने गरेका छन् ।
यो समस्याको सम्बोधन गर्न यस अघि नै नगरपालिकाले काम थालेको थियो । स्वघोषणाका आधारमा विद्यालयको वर्गीकरण गर्ने र वर्गीकरणका आधारमा शुल्क लिन पाउने व्यवस्था गरिएको भए पनि कार्यान्वयनमा जान सकेको थिएन ।
वर्गीकरणका आधारमा उपमहानगरसँग स्वीकृति लिएर संस्थागत विद्यालयहरूले अभिभावक र विद्यार्थीसँग शुल्क लिन पाउने उपमहानगरले जनाएको छ । हामी आफै मापदण्ड तोक्छौ । मापदण्डका आधारमा शुल्कमा एकरूपता ल्याउने उपमहानगरले जनाएको छ ।
आगामी शैक्षिक सत्र २०८१ देखी संस्थागत विद्यालयको शैक्षिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई सबै प्रकारका शुल्कहरूमा एकरूपताका लागि आवश्यक व्यवस्था मिलाउने उपमहानगरले जनाएको छ ।

पूर्वाधारमैत्री विद्यालय, प्रविधिमैत्री अध्यापन

विद्यालयहरूमा आवश्यक न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी पूर्वाधारमैत्री विद्यालय बनाउने उपमहानगरले घोषणा गरेको छ ।
विद्यालयमा उच्च प्रविधिमैत्री अध्यापन शैली अपनाउने जनाएको छ । त्यसका लागि विद्यालयमा सूचना प्रविधिको प्रबन्ध, स्मार्ट बोर्ड,सी.सी क्यामरा, पुस्तकालय, विज्ञान प्रयोगशालाको व्यवस्थापन गर्ने जनाएको छ ।
बालबालिकालाई आवतजावतमा सहजताका लागि स्कुल बसको व्यवस्था क्रमशः विद्यालयमा विस्तार गर्दै लैजाने उपमहानगरले उल्लेख गरेको छ । क्रमशः विद्यालयहरूलाई बस हस्तान्तरण गर्ने योजना उपमहानगरको छ ।
यसै गरी शिक्षकको क्षमता विकास गर्न पेसागत विकास कार्यक्रम सञ्चालन गर्ने उपमहानगरले जनाएको छ । यसमा शिक्षकहरूको पेसागत सङ्घ सङ्गठनहरूलाई शैक्षिक गुणस्तर सुधारका लागि कार्यक्रम कार्यान्वयनका लागि उत्प्रेरित गर्ने जनाएको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग वार्षिक करार सम्झौता गरिने । सम्झौता अनुसार कार्य सम्पादन गर्ने प्रधानाध्यापकलाई क्रमशः दुई हजार, पन्ध्र सय र एक हजार मासिक रूपमा उपलब्ध गराउनेछ ।

विद्यार्थी आकर्षण गर्ने आकर्षक नारा

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन उपमहानगरले विभिन्न खाले नारा समेत ल्याएको छ । सामुदायिक विद्यालयमा आकर्षण जगाउन उपमहानगरले दिवा खाजा कार्यक्रम ठेक्का मार्फत सञ्चालन गर्न थालेको छ ।
दैनिक रूपमा मेन्यु अनुसार खाजा कार्यक्रम लागू भएपछि विद्यार्थीको आकर्षण बढेको छ । यो बाहेक उपमहानगरले फ्राइडे फर फ्युचर कार्यक्रम लागू गर्ने उपमहानगरले सङ्कल्प गरेको छ ।
सङ्कल्प पत्रका अनुसार हप्ताको एक दिन शुक्रवार सामुदायिक विद्यालयमा खेलकुद, सङ्गीत, भाषा, कला साहित्य, नेतृत्व विकास गर्ने कार्यक्रम सञ्चालन गरिने छ । यसै गरी इटहरीका सामुदायिक विद्यालयमा मोबाइल नर्सिङ सेवा इटहरीका सामुदायिक विद्यालयमा प्रदान गरिने उपमहानगरले जनाएको छ ।
यसै सबै विद्यालयहरूमा सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम विस्तार गर्ने । यस्तै विद्यालयमा योग ध्यान, प्राणायाम गराउने, आयुर्वेद शिक्षालाई पनि कार्यान्वयन गराइने उपमहानगरले सङ्कल्प गरेको छ ।
यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा तथा सिप विकासमा पहुँच र अवसर सृजना गरी औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालनमा ल्याउने, नगर खेलकुद विकास समिति मार्फत खेलकुदका कार्यक्रम सञ्चालन गरिने उपमहानगरले सङ्कल्प प्रस्तुत गरेको छ ।
यसै गरी विद्यालयमा स्काउट, बाल क्लब, जुरेस, युरेसजस्ता समूहको गठन गरी बालबालिकामा सामाजिक भावना नैतिक शिक्षा र व्यवहारिक सिप विकास गरिने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

योजना राम्रो कार्यान्वयन चुनौती

सामुदायिक विद्यालय सुधारका लागि इटहरी उपमहानगरले सार्वजनिक गरेको सङ्कल्प पत्र राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको सरोकारवालाहरूले बताएका छन् । सामुदायिक विद्यालय सुधारमा उप महानगरले सार्वजनिक गरेको सङ्कल्प पत्र राम्रो भए पनि कार्यान्वयनमा समस्या रहेको जनसहयोग माविका प्रधानाध्यापक जनक बस्नेतले बताए ।
सामुदायिक विद्यालय सुधारका लागि सार्वजनिक भएको सङ्कल्प पत्र कार्यान्वयनमा हामी पनि लाग्ने छौ उनले भने तर सहज रूपमा कार्यान्वयन गर्न भने गाहे छ । उनले शिक्षकहरूका समस्या समाधान गर्ने तर्फ सङ्कल्प पत्रले ध्यान नदिएको भन्दै यस तर्फ पनि उपमहानगरको ध्यान जानु पर्ने बताए ।
उनले विद्यालयमा हुने व्यवस्थापन समितिमा देखिएको राजनीतिक भागबन्डाको परिपाटी अन्तय नभएसम्म सङ्कल्प पत्र कार्यान्वयनमा चुनौती रहेको बस्नेतले बताए ।
सबै जसो विद्यालयमा व्यवस्थापन समिति राजनीतिक दलको भागबण्डका आधामा गठन भइरहेको छ । यसले विद्यालयका शैक्षिक अवस्थामा सुधार आउन सक्दैन ।
इटहरी स्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी दंगालले सङ्कल्प पत्र कार्यान्वयनमा जान सके सामुदायिक विद्यालयको अवस्थामा सुधार आउने बताए । उनले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा नगरपालिकाले लगानी बढाउनु पर्ने बताए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]