खेलप्रसाद बुडाक्षेत्री (पराग)
सुदुर उत्तर पूर्वी पहाड तथा हिमाल (कोशी प्रदेशको ताप्लेजुङ) मा बाढी पहिरोले बर्सेनिजसो गर्ने क्षति र यसको तत्कालीन र दीर्घकालीन असरको निदान गरी उपायहरुको खोजी गर्नु अनिवार्य देखिएको छ । अब कुनै पनि कारणले ढिलाई गर्नु हुन्न । यसले मानव सभ्यता, बिकास र सम्वृद्धिमा नकारात्मक रुपमा ठुलो प्रभाव पारिरहेको छ ।
बाढी पहिरो जानुको कारणहरु; १. भारी बर्षा हुनु (अति बृष्टि), २.जमिनको वनावट बढी भर्टिकल हुनु, ३.मोटर बाटो निर्माणमा समस्या हुनु ,४.हाइड्रो पावर निर्माण, ५. अनियन्त्रित (अव्यवस्थित ) बसोबास, ६.अन्य मानवजन्य कार्यहरु ।
पहिरो, बाढी पीडितहरुलाई तत्काल उद्दारपछि उपचार र राहत चराइरहेको घाउमा मलमपट्टि मात्र हो । यो स्थायी सावधान होइन । पहिरोमा परेर घर पूर्ण क्षति भएका र उच्च जोखिममा परेका परिवारहरुको घर पुनःनिर्माण तथा पुनर्वास महत्वपूर्ण विषय हो । बाढी पहिरोका कारण सुरक्षित स्थान खोज्दै तराई झर्नेहरुको संख्या पनि कम छैन । जसका कारण दिन प्रतिदिन ठाउँहरु खाली हुँदैछन् । हुन त सरकारले पुनःनिर्माणको लागि रु.५०००००।– र पुनर्वासको लागि रु.८०००००।– (संघ+प्रदेश+स्थानीय सरकार) रकम पनि दिन्छ । तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा केन्द्रीकृत रुपमा सुरक्षित बसोबासको योजना असफल जस्तै छ । सुरक्षीत ठाँउमा बसोबासको केन्द्रीकृत बस्ती बस्दा आफुले भोग चलन गर्दै जिबिको पार्जन गर्दै आएको जमिनको सदुपयोग कसरी गर्ने भन्ने प्रश्नको भरपर्दो जवाफ नमिलेसम्म बसोबास केन्द्रीकृत गर्न नसकिने रहेछ । सबैलाई सुरक्षीत ठाउँमा बसोबास गर्न मन छ तर आर्थिक समस्या र जमिनको उपयोगको कुराले मानिसहरु पहिरो जाने ठाउँमा बस्न बाध्य भएको स्थिति छ । यो जटिल प्रश्नको जवाफ सरकारले नै दिनु पर्छ । सामान्यतयाः त्यस्ता क्षेत्रहरूमा चिया, अलैंची, फलफूल, वनजंगल, लोक्ता, अल्लो, गाँजा, बेसार आदि खेती गर्न सकिएला जुन खेती धाएर गर्न सकियोस् । अथवा अन्य कुनै बैकल्पिक उपायको खोजी गरेर लागु गर्नु आवस्यक छ । एकातिर केन्द्रीकृत बस्तिले बाटो, बिद्युत, स्कुल, खानेपानी, स्वस्थ, बजारको सुलभता दिन्छ भने अर्को तिर बाढी पहिरोबाट पनि मुक्त भएर बांच्न सकिन्छ । यसले गर्दा बसाइँसराइको दर पनि घटेर हिमाली पहाडी जिल्ला पनि सघन रुपमा बसोबास गर्न सकिन्छ ।
अर्को विषय यस्तो पनि छ कि कुनै कुनै रणनीतिक महत्वको ठाउँहरु छन् । जून ठाउँको सुरक्षा नगर्ने हो भने ती बस्तिहरु त उजाड नै हुनेछन् थप समग्र जिल्ला तथा मानव समुदायको आर्थिक, सामाजिक, शैक्षिक, स्वस्थ, पर्यटन आदि क्षेत्रमा नकारात्मक असर परेर समग्र जिल्ला नै बस्न लायकको हुनेछैन । अति जोखिम र संबेदनसिल देखिएका याम्फुदिन (थुंगिम, छुमादिन)–सिरिजङ्गा गापा, दोभान–मिरिङ्देन गा.पा,आँखोप(खिर्लाबोटे)–सिदिङ्वा गापा, सिंवा–फक्तालुङ गापाजस्ता ठाउँहरुको बचाउ अभियान संचालन गरेर पक्की (आरसीसी) बाँध बाँधी दीर्घकालीन रुपमा रक्षा गर्नु पर्छ ।
मोटर बाटो आवश्यक र अनिवार्य छ । तर यसको निर्माण प्रक्रियामा भएका कमजोरीका कारण पनि क्षति हुन गएको छ । राम्रो इन्जिनियरिङ डिजाइनमा नाली सहित कच्ची सडकका पनि सबै मापदण्डहरु पुरा गरेर बाटो निर्माण गर्नु पर्ने देखिन्छ । बाटो निर्माण र बाटोको सुरक्षामा स्थानीय जनतालाई सचेत बनाएर जिम्मेवार पनि बनाउनु आवश्यक छ ।
हाइड्रो पावर उत्पादनले देश र जनता धनी बनाउने कुरा कसैको दुई मत छैन । तर, हाइड्रो पावर निर्माणले स्वभाविक रुपमा बगेको खोलाको धार परिवर्तन हुँदा थप बाढी चल्न मद्दत गरेको कुरा आँखैले देखिन्छ । यस्तो कुरालाई मध्यनजर गरेर बरु ठुला हाइड्रो पावर निर्माण गर्न तिर लाग्दा राम्रो होला । जति साना हाइड्रो पावर उति बढी क्षति भएको पनि देखिएको छ ।
हामीले काट्ने रुख बिरुवा र रोप्ने कुराको वा पहिरो रोकथाम गर्ने प्राकृतिका बोट बिरुवाको सन्तुलन नमिल्दा पनि बढी बाढी पहिरोले क्षती पुर्याएको छ । सामान्यतः प्राकृतिक बिपत्तिको सामना गर्न स्थानीय सरकार र प्रहरी प्रशासन र जनता नै सम्पूर्ण तयारीका साथ उच्च सतर्कतामा रहनु पर्ने देखिन्छ । किनभने बिपत्तिमा सबैभन्दा छिटो सहयोग गर्ने छिमेकी नै हो । त्यस पछि मात्र बिस्तारै अरुहरु ।
हाङ्देवाको पहिरो त नाम चलेकै पहिरो हो । जुन पहिरोले सयौं मानिसहरुलाई बसाइँ हिडायो भने हजारौं मुरी धान फल्ने खेत पहिरोमा परिणत भयो । त्यस्तै सिनाम पहिरो, खोक्लिङ–लिवाङ –लिङ्तेप पहिरो, लिङ्खिम पहिरो, सावादिन पहिरो, सादेवा पहिरो, मामाँखे पहिरो, याम्फुदिन पहिरो, लिम्बुदिन पहिरो, आँखोप पहिरो,सुरुमखिम पहिरो, दोखु पहिरो, फेरि अहिले मेहेले, पेदाङ, खेवाङ, साँघु, याम्फुदिन, सुरुमखिम, आँखोप, दोभान आदि आदि !!जतासुकै बाढी–पहिरो !बर्सेनि तनाव । क्षती, सग्लो कुनै गाउँ छैन । रहने पनि देखिन्न ।
कुनै न कुनै सालका आफ्नै आँखा वरिपरीका घटनाहरु मात्र हुन यी त । यसै वर्षको बाढी पहिरोले क्षती पुर्याएका अधिकांश ठाउँहरुमा पुगेर देखेर, हेरेर पीडितहरुको मनोबिज्ञान, सहयोगी दाताहरूको मन, सरकारको पहलकदमि, सबैको चासो र चिन्तालाई अध्ययन गरेर यो निष्कर्समा पुगेको हुँ । यो विचार खास गरेर ताप्लेजुङको सेरोफेरोमा केन्द्रीत छ । सन्दर्भले अरु हिमाली पहाडी जिल्लाको लागि पनि मेल खान सक्ला ।
लेखकः नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा .ताप्लेजुङ इन्चार्ज जिल्ला हुन् ।