इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरुको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए । कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गरे। “संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौं,” उनले भने, “श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ । तपाईंहरुको सहयोग भएमा आगामी दिनमा पक्कै समेटिनेछ ।”
त्यस्तै कोइरालाले भुटानी शरणार्थी प्रकरणमा राज्यले नै लागेको घटनाले सबै नेपालीको शिर निहुरिएको बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीहरुको हक अधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए । कार्यक्रममा सुनसरी कांग्रेसका सभापति एवम् इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।
इटहरीको नेवा पाटी प्यालेसमा भएको सातौं अधिवेशनले पुनः नारायणबाबु कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले खुल्ला उपाध्यक्षद्धयमा गोपालप्रसाद भट्टराई र डिकप्रसाद घिमिरे, महिला उपाध्यक्षमा सुनिता घिमिरे, उपाध्यक्ष अनौपचारिक क्षेत्र गंगाराम ओडारी, उपाध्यक्ष उत्पादन क्षेत्र पंछी वाइवा, उपाध्यक्ष सेवा क्षेत्र सुमन अधिकारी, सचिव उमानाथ आचार्य चयन भएका छन् ।
त्यसै गरी अधिवेशनले खुल्ला सहसचिवमा हरिनाथ फुँयाल, सहसचिव सेवा क्षेत्रमा पदम सुन्दर लिम्बु, सहसचिव उत्पादन क्षेत्र मणिराम भट्टराई, सहसचिव अनौपचारिक तथा सेवा क्षेत्र गणेश मगर कोषाध्यक्ष मुरारीप्रसाद आचार्य र सहकोषाध्यक्षमा रञ्जना पौडेललाई चयन गरेको छ । ३२ सदसीय कार्य समितिको सदस्यमा भक्तबहादुर बिक, अरविन्द विश्वास, नागेश चौधरी, कल्पाना राई, सरस्वती महतरा लगायत रहेका छन् ।
अधिवेशनले कोशी प्रदेश महिला समिति अञ्जु दाहालको अध्यक्षतामा सर्वसम्मतले गठन गरेको निर्वाचन अधिकृत रमेश पोखरेलले जानकारी दिए ।