निशानामा निजी विद्यालय

  • भदौ २१, २०७८ / प्रेम तुलाधर
alt

नेपालमा रोजगारयुक्त कलकारखाना, उद्योग धन्दा धेरै सङ्ख्यामा खुलेका छैनन् । भएका कलकारखाना, उद्योगधन्दा पनि विविध कारणले बन्द हुँदै गएका छन् । रोजगारको अभाव वा नेपालमा भन्दा बढी सुविधा तथा तलबको आशाले युवाहरु विदेशिनु बाध्य भएका छन् । दैनिक रुपमा हजार भन्दा बढी युवाहरु रोजगारको खोजीमा विदेश गइरहेका छन् । विदेशीएका यी युवाहरुमध्ये अधिकांशले विदेशमा काम गरेर नेपालमा पैसा पठाइरहेका छन् । युवाहरुले पठाएका रेमिट्यान्सबाट नै हाम्रो देशको आर्थिक स्रोतको मेरुदण्ड बन्न पुगेको छ ।


नेपालमै रहेका केही व्यक्तिहरुले आफ्नै देशमा रही देशको सेवा गर्ने पवित्र उद्देश्य लिई आफ्नै लगानी र परिश्रममा निजी विद्यालयहरु खोले, विदेशमा गएर पढ्न जाने विद्यार्थीहरु केही सङ्ख्यामा रोकिए । आफ्नै देशमा स्तरीय शिक्षा पाउन थालेपछि नेपाली विद्यार्थीहरु विदेशीन बाध्य भएनन् । नेपालमा निजी विद्यालय स्थापना पछि धेरैजसो नेपालीहरुले निजी विद्यालयमै पढाउने मौका पाए । यसरी निजी विद्यालयले विदेशमा खर्च हुने रकम रोकी नेपालमै गुणस्तरीय शिक्षा दिए । यसले धेरै नेपालीहरुलाई बेरोजगार हुनबाट बचाएको छ ।


अहिले नेपालमा दशौं हजारभन्दा बढी निजी विद्यालय रहेको पाइन्छ । त्यसमा लाखौं विद्यार्थीहरु अध्ययनरत छन् । थोरै अपवाद बाहेक सामुदायिक तथा सरकारी विद्यालयको भन्दा यी निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुको गुणस्तरीयता कायमै छ । यसको लागि विगतमा एस.एल.सी. तथा वर्तमानमा एस.इ.इ.मा विद्यार्थीहरुले पाएको सफलतालाई तुलनात्मक रुपले अध्ययन गरे पुग्छ । सरकारी सुविधा, राम्रो तलब, बेलाबखतमा पाइने तालिमबाट पोख्त भएका शिक्षक शिक्षिकाहरु सरकारी विद्यालयमा छन् । सरकारको कुनै पनि सुविधा नपाएको, तालिम पनि अप्राप्त शिक्षक शिक्षिकाहरु निजी विद्यालयमा छन् । तर पनि केही अपवाद बाहेक अधिकांश निजी विद्यायहरुको परिणाम राम्रै देखिएकाले अभिभावकहरुको आकर्षण बढेको पाइन्छ । हुनु त निजी विद्यालयको जस्तै देशका विभिन्न क्षेत्रका केही सरकारी विद्यालयहरुले निजी विद्यालयकै जस्तै सुविधा दिएर पढाएर नमुना विद्यालय बन्न सफल पनि भएका छन् ।


निजी विद्यालय सञ्चालन गरेर कतिपय सञ्चालकहरुले अकुत सम्पति जोडे होलान् कतिले आफ्नो भएको सम्पति पनि सिध्याए होलान् । केही विकृति, विसंगति, केही निजी विद्यालयमा नपाइएका होइनन्, धेरै शुल्क अभिभावकबाट उठाउने, शिक्षक शिक्षिकाहरुलाई भने दिँदै नदिने वा दिए पनि कम मात्रामा तलब दिने गरेका पनि होलान् । विगतमा र हालपनि निजी विद्यालयलाई हेर्ने दृष्टिकोण नितान्त भिन्न छ । सञ्चालकहरुलाई शोषक, सामन्ती इत्यादि भन्ने गरिन्छ भने राज्यबाट पनि समान व्यवहार गरेको पाइन्न । राज्यको लागि कर प्राप्त गर्ने आम्दानीको स्रोत पनि अवश्य मानिएको छ, निजी विद्यालयलाई । निजी विद्यालयले रोजगारी , शिक्षा तथा राज्यकोषमा गरेको योगदानलाई धेरैले चटक्क बिर्सिने गर्दछन् । यो पंक्तिकार सबै निजी विद्यालयलाई राम्रो छ भनेर एउटै तराजुमा राख्न चाहँदैन किनकि एउटै हातका औंलाहरु त फरक फरक आकारका हुन्छन् भने ती विद्यालय तथा संचालकहरु पनि आ–आफ्नै विचारका हुन सक्छन् । राज्यको नियम नमान्ने, सामन्ती, शोषक इत्यादि स्वभाव भएका वा शिक्षकशिक्षिका एवं विद्यार्थीहरुलाई दृव्र्यवहार गर्ने आर्थिक अनियमितता गर्ने पनि हुन सक्छन् जसलाई राज्यको नियम कानून अनुसार सजाय वा कारवाहीको भागिदार बनाउनु आवश्यक हुन्छ ।


विगतमा विभिन्न बहानामा निजी विद्यालयलाई बन्द गर्न नखोजेका होेइनन् । प्रायः सबैको आँखाको तारो भएको निजी विद्यालय भने अब निशानामा परेको छ । कोरोनाको कहरको असर जताततै परेको छ । यसले निजी विद्यालयलाई नछुने कुरै भएन । कोरोनाले गर्दा शिक्षाक्षेत्र तहस नहस भएको छ । धेरैजसो निजी विद्यालयमा भाडामा भवन लिई सञ्चालित छन् । ती विद्यालयहरुले भाडा तिर्न सकेका छैनन् । निजी विद्यालयका सञ्चालकहरु सुध्रिनै पर्दछ । अभिभावकहरुको रोजगारी खोसिएकाले आफ्ना नानीहरुको शुल्क तिर्न नसकी धमाधम निकाल्दै छन् र शुल्क तिर्नु नपर्ने सरकारी विद्यालयमा आफ्ना नानीहरुलाई भर्ना गराउँदैछन् भने कतिपयले पढाई बीचैमा छोडेका पनि पाइन्छन् । कोरोनाको कहर कहिले रोकिने यो, टुंगो छैन । कतिपय निजी विद्यालयहरु अघोषित रुपमै बन्द भइसकेका छन् । कोरोना यसरी नै रहिरहने हो, निषेधआज्ञा रहिरहने हो भने अधिकांश साना निजी विद्यालयहरु बन्द हुनेछन् । यसरी बन्द हुँदा कुनै कुनै पक्ष खुशी होलान् तर ती विद्यालयसँग सम्बन्धित शिक्षक, शिक्षिका, तिनीहरुप्रति आश्रित परिवार भने दुःखी हुनेछन् , रोजगार पाएकाहरु बेरोजगार बन्नेछन्, विभिन्न आर्थिक समस्याले पिरोलिने छन् । बेरोजगारीको सङ्ख्या बढ्नेछन्, फेरी स्तरीय शिक्षाको नाममा विद्यार्थीहरु समेत विदेशिन बाध्य हुनेछन् । यसर्थ बेलैमा सम्बन्धित निकायको ध्यान जानु अति आवश्यक भइसकेको छ ।

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]