नेपाली मौलिक कला र संस्कृतिहरु पर्यटक आकर्षणका लागि मुख्य केन्द्र हुन । ति बाहेक पनि नेपालमा पर्यटन प्रर्वद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सजिएका ठाउँहरु प्रसस्तै छन ।
पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि धार्मीक मठ मन्दिर र ऐतिहासिक संकृति र सम्पदाहरु नेपालको पर्यटनका लागि थप गन्तब्य बनेका छन् ।
अहिले पर्यटकको रुपमा अध्ययन, अनुसन्धान र मनोरञ्जनका लागि बिश्वका विभिन्न ठाउँहरुबाट मानिसहरु नेपाल आउने गर्दछन् । सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले आजभोली ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ ।
आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायतका दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने अहिले बिश्वमा होड नै चलेको छ । यस्तो सन्दर्भमा नेपालको विविधताले भरिपूर्ण प्राकृतिक सांस्कृतिक र धार्मिक संरचना पर्यटकीय गतिविधि बढाउन र पर्यटन प्रवर्धन गर्न हाम्रा लागि यो अवसर पनि बनेको छ ।
वाह्य पर्यटकहरु प्रकृतिलाई नजिकबाट नियालेर आनन्द लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ विहार, स्काई ड्राइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर, गाउँबस्तीको अनुपम मौलिकता अध्ययन अवलोकन र मनोरन्जन गर्न नेपाल आउछन् । नेपालमा प्राकृतिक विविधता, असंख्य जातजाति र भाषा संस्कार संस्कृतिले पर्यटकलाई आकर्षण गर्दछ ।
पर्यटकहरु विविधता हेर्न अवलोकन गर्न मात्रै नभएर पर्यटक पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानका लागि पनि नेपालमा आउने गर्दछन् । नेपालको सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताले नै पर्यटकहरु लोभिन्छन ।
नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो छ । अतिथि देवो भवः संस्कार संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न र पर्यटन प्रवद्र्धन गर्नका लागि कला सस्कृतिको संरक्षण गर्नु पर्दछ ।
नेपाली समाजको आपसी सुमधुर सम्बन्धको संरचना, विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिमा वाह्य पर्यटकहरुलाई उत्सुकता हुने गर्दछ । यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा धार्मिक सहिष्णुता अन्य देशका लागि छुट्टै अनुभुति हुन्छ । विभिन्न जातजाति तथा समुदायको पहिचान र उनीहरुको रहनसहन, संगीत र नृत्य देख्दा पर्यटकहरु रमाउछन् । नेपालीको कला सस्कृति लोकगीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, उत्सव, खाना र पेयमा पर्यटकहरु रमाउछन् ।
नेपालमा पर्यटकलाई आकर्षित गर्ने भौगोलिक अवस्था, सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता, परम्परागत कलाकौशल, ऐतिहासिक, पुरातात्विक सम्पदा, हिमाली श्रृंखला महाभारत पहाड, तराईका मैदानी उर्वर फाँटहरु, तालतलैया, नदीहरु, वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकृञ्जहरु रहेका छन् । पहाडी क्षेत्रमा पदयात्रा नदीहरुमा रोमाञ्चक जलयात्रा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु पर्यटकहरुलाई आकर्षित गर्ने क्षेत्र हुन् ।
पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । ग्रामीण पर्यटकहरुले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । नेपालमा आउने पर्यटकहरुले विश्वको सबै हावापानी महसुस गर्न र प्राकृतिक तथा सांस्कृतिक विविधता पाउन सक्दछन् ।
नेपालमा पर्यटकहरु बिदा मनाउन, शिक्षा आर्जन गर्न, मनोरञ्जन प्राप्त गर्न, भौगोलिक ज्ञान आर्जन गर्न, सांस्कृतिक रितिरिवाज, चालचलन, भेषभुषा, जस्ता कुराको ज्ञान हासिल गर्ने उद्देश्यले आउने गरेका छन ।
भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । नेपाल आउने वाह्य पर्यटकहरु मध्ये ७० प्रतिशत बिदा मनाउन, १५ प्रतिशत धार्मिक तथा सांस्कृतिक र ८ प्रतिशत एडभेन्चर लागि नेपाल आउने गरेको पर्यटन बोर्डको तथ्याकं छ ।
कोभिड–१९ को महामारीले गर्दा यो तथ्याक अनुसार पर्यटकहरु यो बर्ष नआउन सक्दछन् । तर पनि पर्यटकहरु मध्य धेरै कला र सस्कृतिको बारेमा रुचि राख्दछन् । संस्कृति जीवन यापनको जीवित अभिव्यक्ति हो । सस्कृतिले समुदायको सामूहिक परिचय दिन्छ भने संस्कृति भनेको सांस्कृतिक सम्पदाहरुको सामूहिक नाम पनि हो ।
संस्कृतिले मानिसको उत्पत्ति, चालचलन, भाषा, संस्कारलाई जनाउँदछ । मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरुपको जीवनशैली नै मानव–संस्कृति हो । सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनु पर्दछ ।
संस्कृति भनेको इतिहासको निश्चित कालखण्डमा मानिसले गरेका सिर्जनशील कार्य हुन् । मानिस बाँच्ने क्रममा खाद्य वस्तु, लत्ता कपडा उत्पादनदेखि लिएर सबै आवश्यक वस्तुको उत्पादनसंग सम्बन्धित कार्य, सीप नै संस्कृति हुन् । कलासंस्कृति सिंगो मानव जातिको कृति, प्रतिभा र सिर्जना हुन् ।
पाषाण औजारहरु निर्माण र प्रयोग गर्ने गरेको युगको संस्कृतिलाई पाषाणयुगीय संस्कृित भनिन्छ । ऐतिहासिक युगको विभिन्न कालखण्डका आधारमा पनि सांस्कृितक वर्गीकरण गर्ने प्रचलन थियो । नेपालको सन्दर्भमा किराँतकालीन संस्कृति, लिच्छविकालीन संस्कृति, मल्लकालीन संस्कृति, प्राचीन संस्कृति, मध्यकालीन संस्कृतिकाबारेमा धेरै पर्यटकहरु अध्यन अनुसन्धान गर्नको लागि नेपाल आउने गर्दछन् ।
पर्यटनको क्षेत्रमा सांस्कृतिक विविधता पनि छ । प्राकृतिक विविधतासँगै मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई पर्यटकहरुले चासो राख्दछन् । सांस्कृतिक पर्यटनहरु त्यसबाट मनोरञ्जन लिने गर्दछन् । सांस्कृतिक पर्यटनले पर्यटकहरुलाई सास्कृतिक रितीरिवाज, भाषा र भेषभुषाले आकर्षण गर्दछ ।
नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र जनजातीहरुको कला सस्कृतिनै हो भन्दा पनि हुन्छ । पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको विकास गर्न पनि प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई संरक्षण गर्न पर्दछ । जातिगत विविधता अनुसार सांस्कृतिक संग्राहलय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभुषाको विकास गर्न सके गन्तव्य स्थल बढदै जाने र अध्ययन र अनुसन्धान गर्ने पर्यटकका लागि नयाँ गन्तब्य बन्दछ ।
अब पर्यटन प्रवद्र्धन गर्न प्रकृति र संस्कृतिको संरक्षण गर्न सरकारको नीति, निजी व्यावसायीहरु बिचको समन्वय, सहकार्य र मानसिकतामा परिवर्तन हुनु पर्दछ । सांस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवद्र्धनको अवसरको रुपमा विकास गर्नु पर्दछ । सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरुमार्फत पर्यटन विकासमा समुदायहरुको सहभागितामा जोड दिनु पर्दछ ।
प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले पर्यटन क्षेत्रलाई फराकिलो बनाएको छ । तसर्थ, सांस्कृतिक भेषभुषा र जनजीवनलाई समेटी पर्यटन विकास गर्न सके मात्र पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । अहिले पर्यटनको क्षेत्र फराकिलो हुदै गएको छ । पर्यटननै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ ।
पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरु नेपालीहरुले मान्ने चाड पर्व र सस्कृतिमा रमाउन थालेको पाईन्छ । नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसंग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य साँस्कृतिक उत्सवहरु पर्यटन बिकासको लागि आधार हुन ।
पर्यटकहरुले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरु रुचीपूर्वक अवलोकन गर्नेगरेका छन् । विशेष गरी काठमाण्डौमा पशुपति आर्यघाटमा खुला रुपमा शव जलाएको दृष्य उनीहरुलाई अनौठो लाग्छ ।
त्यसै गरी मनाङ र मुस्ताङ जिल्लामा पदयात्रामा जाने पर्यटकहरुलाई मानिसको लासलाई काटेर गिद्धलाई खुवाएको देख्दा पर्यटकहरु अचम्म हुन्छन् । ती क्षेत्रमा तिब्बती मुलका मानिसहरुले लामाको जोखान अनुसार केहि मानिसको लासलाई काटेर गिद्धलाई खुवाउने सस्कार रहेको छ ।
यसैगरी हाम्रा मौलिक संस्कृतिहरु जन्मदा कतै रुने देखि कतै खुशी हुने, विवाहमा टाउको ठोकाउने देखि सिन्दुर साटासाट गर्ने, दाईजोमा चिउरीको रुख दिने देखि बिषको कचौरा दिनेसम्मका मौलिकपन र मृतकको शवलाई घरको भित्ता फोरेर निकाल्ने देखि मर्दा माटोमा गाडने देखि जलाउने सस्कृतिले वाह्य पर्यटकहरुका लागि अनौठो लाग्दछन् ।
नेपालमा आउने पर्यटकहरु नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या बढदै गएको छ । अर्को तर्फ नेपालीले मनाउने हरेक चाडवाडलाई पर्यटकहरुले विशेष चासोका साथ हेर्ने गर्दछन ।
हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटकहरु पर्यटकहरु नेपाल आउने गर्दछन् । पर्यटकहरु दशैको दुर्गा पूजा, नवमी र दशमीमा हुने पुजामा रमाइलो मानेर हेर्दछन । कतिपय पर्यटक टीका ग्रहण गरेर आशीर्वादसमेत लिन चाहन्छन् र पिङ खेलेर रमाइलो गर्छन् । तिहारमा देउसीभैलो खेल्ने, टीका लगाउनेमा पनि पर्यटकहरु हुन्छन् । कतिपय विदेशीले तिहारमा टीका लगाएर नेपालीलाई दिदी बहिनी बनाएका छन् ।
होलीको रंगमा रमाउने, पन्ध्र अषाढको दिन कृषकहरुसंग खेतमा गएर हिलो खेल्ने पर्यटकहरुको सख्या पनि कमि छैन । जुन कारणले हामीले मान्दै आएका चाडपर्व र संस्कृति सबै पर्यटकहरुका लागि उनिहरुको भन्दा नौलो, अनौठो र फरक खालको हुन्छ । उपत्यकामा मनाइने इन्द्र जात्रा, विस्केट जात्रा, घोडे जात्रा, गाई जात्रा र लाखे नाचमा समेत पर्यटकहरु रमाउछन । नेपालमा मौलिक चाडपर्वहरु वर्षैभरि मनाइन्छन् । विदेशी पर्यटकहरुका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ ।
वि.सं २०६८ को जनगणनाअनुसार नेपालमा १२ धर्म र १ सय २५ जातीहरु रहेका छन् । यी जातीहरुमा १२३ जातीहरुको आफ्नो भाषा समेत छ । यी भाषा भाषीहरुको पृथक संस्कृति, संस्कार र भेषभुषाले पर्यटकहरु आकर्षण हुने गर्दछन् । यी भाषाको संरक्षण आवस्यक छ ।
भाषा र लिपिले मानिसको पहिचानलाई उजागर गर्दछ । कतिपय भाषा लोप हुँदै जानु र कतिपय लोपोन्मुख हुँदै जानुले अबको पर्यटन के होला ? नेपालमा कतिपय पर्यटकहरु भाषा अध्ययनकै लागि आउने गर्दछन । तर अहिले हाम्रो मौलिक सस्कृति हराउदै जान थालेको छ ।
अहिलेको संस्कृति वैदिक र पौराणिक दुवै नभई मिसमास भएको छ । नेपाली मौलिक संस्कृति जोगाउन चुनौति हुन थालेको छ । संस्कृति हरेक जातीको पहिचानसँग जोडिएको हुन्छ । त्यसको संरक्षण भएन भने पर्यटकहरुलाई के देखाउने ?
अहिले युवापुस्ताको ठूलो हिस्सामा हाम्रो मौलिक सस्कृति प्रतिको मोह क्रमिक रुपले घटदै गएको छ । आधुनिकताको नाममा हाम्रा कतिपय राम्रा मौलिक परम्परा कला, संस्कृति, लोकसाहित्य, लोकसंगीत, लोकबाजाहरु, लोप हुने अवस्थामा पुगिरहेका छन् । जन्मोत्सवको सट्टामा बर्थ डे हाम्रो संस्कृति नै बनिसकेको छ ।
पञ्चेबाजालाई विस्थापित गर्दै ब्यान्ड बाजा स्थापित भैरहेको छ । यस्ता कुराहरु खोज गर्दै जाने हो भने धेरै भटिन्छन् । पर्यटन प्रवद्र्धनको लागि मौलिक संस्कृतिको जगेर्ना गर्दै इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न पर्दछ । अब यसको संरक्षण गर्न सबै पर्यटन ब्यवसायीहरु मात्र होइन सबैको साझा दायित्व सझनु पर्दछ ।
विकास भनेको सकारात्मक रुपान्तरण हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ ।
जहाँ जे कुराहरुको अभाव छ, ती चिजहरु प्राप्त हुनु नै विकास हो । पर्यटनको क्षेत्रमा यसलाई पुर्वाधार भनिन्छ । पर्यटनको लागि देशमा अनगिन्ती पर्यटकीय सम्भावना बोकेका भर्जिन गन्तव्यहरु छन् । ती गन्तब्यहरुको उचित प्रचार प्रसार भएको छैन । अनेकौ सांस्कृति तथा धार्मिक सम्पदा र तीर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन् । त्यस्ता सवै धरोहरहरुको खोज र प्रचारप्रसार गर्नु पर्दछ ।
अर्को तर्फ त्यस्ता भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार र सूचना प्रविधिको विकास हुनु पर्दछ । अहिले सम्म पर्यटकहरुलाई आकर्षण गर्ने प्राकृति सम्पदामा राज्यले खर्च गर्न परेको छैन । तर अब पर्यटनको बिकास गर्न ती सम्पदाहरुलाई संरक्षण गर्दै जानु पर्दछ । पुर्वाधारको बिकास गर्ने हो भने नयां गन्तव्यको पर्खाइमा बसेका पर्यटक घुमफिर गर्न उत्साहित हुन्छन् ।
तर हामी कहा पर्यटन बिकासको लागि पुर्वाधार निर्माण गर्ने काममा कुनै गुरु योजना छैन । आवस्यकता हो या हैन ? आफुखुशि पर्यटनको पुर्वाधार बन्न थालेका छन् । प्राकृतिक भ्युटार बनेका पहाडको टुप्पोमा भ्युटावर बनाउने होड चलेको छ । मोटरमार्ग पुगेको ठाउमा केवुलकारको योजना बनेको छ र कहि कतै निर्माण पनि हुन लागेको छ । प्रत्येक जिल्लामा यस्ता धेरै उधारण भेटिन्छन् ।
पर्यटन बिकासको लागि पर्यटकहरुको लागि खाना बस्न होमस्टे, होटल खुल्दै जानु पर्दछ । गाउँमा पुग्ने सडकमार्ग भरपर्दो हुनु पर्दछ । अर्को तर्फ पर्यटकहरुको सुरक्षा, सञ्चार सुविधा र स्वास्थ्य केन्द्रहरुको पनि ब्यवस्था हुनु पर्दछ ।