समाजशास्त्रीय दृष्टिकोणमा कोरोना कहर र राजनीति

  • जेठ १४, २०७७ / "नेपाल रेखा"
alt

आजको २१ औं शताब्दीको आधुनिक युगलाई कोरोना भाइरस (कोविड–१९) ले भारी चुनौती दिइरहेको छ । हाल विश्वजगतै यो भाइरसले आक्रान्त भैरहेको छ । कोरोना भाइरसले अहिलेसम्म २१० भन्दाबढी देशहरु प्रभावित भैसकेका छन् । यो विपदको घडीमा धेरैजस्तो देशहरुले मानव जातिको रक्षाको लागि लकडाउन गरिरहेका छन् । किनकी यो भाइरससँगको लडाईमा लड्नका निम्ति अचुक अस्त्र नै लकडाउन सावित हुन पुगेको छ । अहिलेसम्म लकडाउनको विकल्पमा कुनै औषधी खोप पत्ता लाग्न सकेको छैन । विश्वमा अहिले यी पङ्क्ति लेखुन्जेल सम्ममा संक्रमितको संख्या ५५,९३,१४८ जना पुगिसकेको छ भने मृत्यु हुनेको संख्या ३५,०५०९ जना पुगेको छ । त्यस्तैगरि रिकभर भएर घर जानेको संख्या २२,८८,०३४ जना छ ।
कोरोना महामारीको चपेटामा नेपाल पनि परिसकेको छ । हाल नेपालमा पनि लकडाउन कै नीति अवलम्वन गरिएको छ । हाल नेपालमा संक्रमितको संख्या ७७२ जना पुगेको छ भने मृत्युको हुनेको संख्या ४ जना पुगेको छ । त्यसैगरी रिकभर भएर घर जानेको संख्या १७६ जना पुगेको छ । यो अवस्थाले विश्व जगत तथा नेपालमा ठुलै खतराको घण्टी बजिरहेको अनुमान गर्न सकिन्छ । नेपालमा केही हदसम्म लकडाउनलाई प्रभावकारी रुपमा पालना गरिएको अवस्था भएता पनि संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि देखा पर्न थालेकोछ । तर विश्वका कतिपय देशहरुले यो भाइरसलाई हल्कारुपमा लिएर हेलचेक्राई गरि बसिरहे जसको कारण ती राष्ट्रका धेरै नागरिकहरुले ज्यान गुमाई रहेका छन् । विश्वजगतलाई नियाल्दा मानव जातीको विनाशै हुनेजस्तो कहालीलाग्दो अवस्था देखिन्छ ।
मानव समाजमा प्रकृतिले विभिन्न काल खण्डमा मानव जातिहरुलाई कडा चुनौती दिदै आएको इतिहासहरु पाउन सकिन्छ । मानव जातिलाई यस्ता चुनौतीहरुको सामना गरि तङ्ग्रिनका लागि लामो समय लागेको पाइन्छ । मानिसहरु जबसम्म आफुलाई पर्दैन तव सम्म अरुलाई परेको समस्याको वास्ता गर्दैनन् । यो मानव जातिको स्वार्थीपनको स्वाभाव हो । जसले मानव जातिलाई प्रकृति भन्दा दश कदम पछाडि धकेलिदिन्छ । जब आफुलाई त्यही समस्याले गाँजे पछि पुरपुरुमा हात राखेर बस्नुको विकल्प मानव जातिसँग अरु केही हुदैन । यतिखेर सम्म समाजमा धेरै धनजनको क्षति भैसकेको हुन्छ । अहिलेको कोरोनाभाइरसको महामारीको सन्र्दभमा हेर्दा विश्व समाजमा यही अवस्था देखिन्छ । चीनको वुहान शहरमा पहिलो चोटी यो भाईरस देखा परेर आक्रामक भई फैलिदै जाँदा त्यहाँ कैयौं मानिसहरुको ज्यान जोखिममा परिरहेको थियो भने कतिले ज्यान गुमाईरहेका थिए । चीनले यस महामारीको जानकारी गराउँदा पनि अन्य देशहरुले चीनलाई सहयोग गरि सहानुभूति दर्शाउनुको सट्टा वेवास्ता गरेर मुकदर्शक भएर बसे । चीन एक्लै यो कोरोनाभाइरससँगको युद्धमा लड्यो । अझ अनेकन उपनाम दिदै विभिन्न लान्छना लगाएर वेवास्ता गरि बसिरहे । खास गरि अमेरिकाजस्तो विकसित राष्ट्रले कोरोना महामारीलाई चीनको महामारी भनि उपहास गरि रहयो । अहिले अन्य देश लगायत अमेरिका पनि यो महामारीको कडा चपेटामा परेकोछ । अमेरिका सवै भन्दा धेरै मानिसहरुको सक्रमित संख्या भएको पहिलो नम्वरमा आउँछ भने मृत्युदर पनि सवै भन्दा बढी अमेरिकामा नै देखिन्छ । यो महामारी विश्व भरि नै भुसमा आगो सल्केझै फैलिएकोछ भने लाखौ मानिसहरुको ज्यान लिइरहेकोछ । विश्वजगत नै एउटा घरको कोठामा बन्दाबन्दी भएर बस्न बाध्य भएको छ । यदि यो भाइरसले चीनलाई आक्रमण गर्ने वित्तिकै सवै देशहरुले गम्भीरताका साथ चासो लिई आफु सचेत हुन सकेका भए र चीनलाई सहयोग गरेका भए अहिले आएर पछुताउनु पर्दैन थियो । यो महामारीबाट विश्वजगतलाई बचाउन सकिने थियो ।
हाम्रो मानव समाजमा व्याप्त भएको खतरनाक सामाजिक महामारी लाञ्छना हो । मानव जाति कुनै रोगको महामारी होस वा अन्य समस्याको समाधानका बाटाहरु खोज्नुको सट्टा एक अर्कालाई आरोप प्रत्यारोप गर्न मै व्यस्त भएको समाजमा पाइन्छ । जसले गर्दा समस्याले विकराल रुप धारण गरि समाजमा अशान्तिको वातावरण सिर्जना हुन्छ । रोगले कहिले पनि जाति, धर्म, लिङ्ग, धनी, गरिव केही हेर्दैन । कुनै पनि मानिसलाई आफु विमारी हौं अनि आफ्नो घरपरिवार, छरछिमेक, राष्ट्रलाई नै विमारी बनाउ भन्ने हुदैन । आफुलाई रोग लगाउन कसैलाई रहर हुदैन । अहिले समाजमा देखिएको कुरा के छ भने विदेशमा रोजगार तथा अध्ययनको सिलसिलामा बसेकाहरुले देशमा आउँदा रोग भित्रयाए, चिनियाहरुले चमेराको मासु खाएर भाइरस फैलाए, ट्रम्मले अटेरी गरेर आज अमेरिका ध्वस्त हुदैछ भन्ने जस्ता आरोपप्रत्यारोहरु सुनिन्छ । जुन लाञ्छनाको महामारी हो । यसले समाजमा रोगको महामारी भन्दा पनि ठुलो क्षति पु¥याउँछ । हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरु रोग लिदै आएर देशलाई अप्ठयारोमा पार्नका लागि विदेश गएका होइनन् । उनीहरु उच्च शिक्षा हासिल गर्न र केही पैसा कमाएर यहि देशलाई आफुले सकेको योगदान पु¥याउनका निम्ति आफ्नो पसिना बगाउन बाध्यताले गएका हुन् । साँच्चै भन्नु पर्दा हाम्रो देश वहाँहरुको योगदान कै कारण रेमिट्यान्सले चलिरहेको कुरा हामी नेपाली जोकोहीले पनि भूल्नु हुदैन । कसैलाई पनि स्वस्थ्य भएको अवस्थामा साथी र रोग लागेको वेलामा वैरीको व्यवहार गर्नु महा अनैतिक व्यवहार हो । त्यसैले हामीले यो महामारीको संकटको वेलामा सवैलाई सहानुभूतिको व्यवहार गर्नु आवश्यक हुन्छ ।
नेपाली समाज पनि यो स्वार्थी स्वभावको महारोगबाट आक्रान्त छ । कुनै टाढाको ठाउँमा महामारी रोग देखा पर्यो भने शुरु अवस्थामा नै कसैले वास्ता गर्दैनन् । जस्तो की अछाम, डोटी, जाजरकोट जस्ता ठाँउहरुमा हैजा जस्ता रोगहरु देखा पर्यो भने काठमाण्डौ र अन्य सुविधासम्पन्न ठाँउमा बस्ने मानिसहरुले वास्ता गर्दैनन् । कहिलेकाही यस्ता मानवका स्वार्थीमय स्वभाव समाजका लागि घातक भएर देखा पर्दछ । त्यसैले स्वार्थीपनालाई त्यागेर मानव जातीले एकअर्कामा परेका हरेक समस्याहरुलाई आफ्नै समस्या सम्झी हरसंभव भए सम्म एकअर्का प्रति सहयोगी भावना लिनु नै मानव जातीका लागि कल्याणकारी हुने देखिन्छ । कुनै पनि गाउँठाउँ तथा देशहरुमा फैलिरहेका महामारी रोग तथा अन्य समस्याहरुको सवै मानव मिलेर निवारण गर्नु नै मानवताको एक अपरिहार्य कर्तव्य र उत्तरदायित्व हुन्छ । जसले समाज र मानवजातिको साथै सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक आदि सवै क्षेत्रको संरक्षण हुन सक्दछ ।
आज कोविड–१९ को महामारी विश्वभरि आ–आफ्नो देशमा भित्रै पछि मात्र विश्वभरिका मानिसहरुको गम्भिर ध्यानाकर्षण भएको देखिन्छ । यतिखेर सम्म धेरै देशका मानिसहरु संक्रमित भइरहेका छन् भने धेरैले ज्यान गुमाइ रहेका छन् । यो महामारीले मानव जातिको अस्तित्व नै मेटिने हो की भन्ने डर त्रास सवै मानिसहरुमा व्याप्त छ । यस महामारीलाई समाजशाास्त्री दृष्टिकोणबाट हेर्दा आज विश्वभरि कोरोना महामारी सँगै डर र त्रासपूर्ण वातावरणको सिर्जना भएकोछ । जस्तै कुनै पनि समाजका मानिसहरु जति सम्बन्धित रोगको बारेमा अनविज्ञ हुन्छन् त्यति नै यो रोग समाजमा फैलिदै जान्छ । जसले समाजमा त्रासपूर्ण सामाजिक महामारीको रुप लिन्छ । कुनै पनि रोगको उत्पति कसरी हुन्छ, रोग फैलिने माध्यमहरु के के हुन सक्छन्, कसरी फैलिन्छ, रोगका लक्ष्णहरु के के हुन्छन् भन्ने ज्ञानको अभावका कारण अहिले विश्वका गाँउघर, शहरहरुमा त्रासको महामारी फैलिरहेको छ । जसको कारण विश्वमा मानवका हरेक क्रियाकलापहरु ठप्प हुन पुगेका छन् । मानव विश्वजगतले धेरै ठुलो क्षति व्यहोरिरहेको छ ।
यो परिस्थितिबाट नेपाल पनि अलग हुन सकेको अवस्था छैन । नेपालमा पनि कोरोना महामारी फैलिएर दिनप्रतिदिन बढ्दो क्रममा रहेकोछ । साथै नेपाली समाजमा पनि त्रासपूर्ण सामाजिक महामारी पनि फैलिरहेको पाइन्छ । अहिले विश्व लगायत नेपालमा पनि यस रोगको पूर्ण ज्ञान नभएकै कारण लकडाउन गर्नु परिरहेको छ । यो महामारीको कुनै औषधि र खोपको पत्ता लगाउन विभिन्न देशका वैज्ञानिक तथा विज्ञहरु लागी परिहेको अवस्था छ तर पत्ता लगाउन सकिरहेका छैनन् । आज मानिसहरु आफ्नो कामकाजबाट विमुख भएर घर भित्रै बस्न बाध्य हुनु, मानिसहरु विमारी पर्दा सहयोग नपाउनु, स्वतन्त्ररुपले हिडडुल गर्न नपाउनु, मानिस मर्दा छुन डराउनु, साथै मलामी जान हिच्किचाउनु, आफ्mन्तहरु संक्रमित भएको अवस्थामा छुन नपाउनु, गर्भवती महिलालाई अस्पताल लग्न नमान्नु र घरमै सुत्केरी भई मृत्यू हुनु, आफ्नै खेतबारीमा समेत काम गर्न नजानु, स्थानीय सरकारले गाउँघरमा समेत सामाजिक दुरी कायम गर्न आदेश दिनु, प्रहरी प्रशासनबाट पनि बाहिर स्वतन्त्ररुपले हिडडुल गर्न रोक लगाउनु, नागरिकहरु आफ्नो काम विशेषले बाहिर निस्किदा पनि कारवाहिको भागीदार हुनु, हिडने वाटाघाटाहरुमा स्थानीयवासिन्दाहरुले बार लगाई बाटोहरु बन्द गर्नु, सीमानाकाहरु बन्द गर्नु आदि यसैका उदाहरणहरु हुन् ।
समाजमा विभिन्न अफवाह फैलिनु पनि सामाजिक महामारी हो । यसले समाज ठुलो घात गर्न सक्दछ । जस्तै कि नेपाल र भारतमा यो भाइरसको महामारी पश्चिमा मुलुकहरुको जस्तो फैलिदैन । किन की नेपाली र भारतीहरुको आहारविहारको कारण रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता छ भनि विश्वास गरिएको देखिन्छ । लसुन, अदुवा, बोझो खाएमा यो रोगले आक्रमण गर्न सक्दैन भन्ने अफवाहहरु गाउघर तिर सुन्नमा पाइन्छ । राम्रो पोषिलो खानाले सवै रोगसँग लड्न सक्ने क्षमताको विकास भई रोगबाट तङ्ग्रिन सहयोग पु¥याएता पनि कोरोनाभाइरसले कुनै खाना विशेषले गर्दा आक्रमण गर्न सक्दैन भनि ढुक्क हुने अवस्था देखिदैन । किन की यो भाइरसले भारत र नेपालमा प्रवेश गरिसकेकोछ । यस रोगका संक्रमित दिनप्रतिदिन तिब्ररुपमा बढिरहेका छन् । शहरी क्षेत्रमा मात्र नभई गाँउघरहरु पनि अरु जोखिमपूर्ण हुदै गएको आभाष हुन्छ । यसबाट के प्रष्ट छ भने कुनै पनि रोगले आहारविहारका कारणले मात्र आक्रमण गर्न सक्दैन भनि ढुक्क भएर बस्नु भनेको मुर्खता हो । कुनै पनि रोगले जतिखेर पनि आक्रमण गरी मान्छेको ज्यान लिन सक्ने छ ।
समाजमा फैलिएको अर्को सामाजिक महामरी भनेको नैतिकीकरण र धार्मिकीकरण हो । समाजमा एक थरी मानिसहरु के भनिरहेका छन् भने अहिले मानिसहरु पथ भ्रष्ट भएका छन् । यो संसारमा पापको घडा भरिदै आएको छ । मानिसहरु प्रकृति विरुद्ध गए । त्यसैले प्रकृतिले मानिसलाई छाटेर आफ्नो साइजमा राख्नको लागि यो महामारी आएको हो । कहिले सुनामी हावाहुरी वाढी आउँछ त कहिले भुकम्प आउँछ । दैवले नै मानिस मास्न खोजिरहेछ भन्ने भनाइहरु समाजमा सुन्न सकिन्छ । मानव जातिले विकाशको क्रममा मानव समाजमा प्रकृति विरुद्ध गई ठुल्ठुला कलकारखानाहरुको स्थापना गरेका छन् भने विभिन्न आणविक यन्त्रहरुको आविस्कार गरेका छन् । अन्य विभिन्न विकासका कामहरु गरेका छन् । यी सवै विकासहरु बढ्दो जनसंख्या र मानव समाजलाई व्यवस्थित र सभ्य बनाउनका निम्ति आवश्यक भएकोले नै यस्ता आविस्कार, विकास, प्रयोग र काम गरेका हुन् । तर समाजका धार्मिक मानिसहरुले कोरोना महामारी आउनु भनेको भगवान स्वयमले मानिसको कर्म अनुसारको सजाय दिएको हो भन्ने अर्थ लगाएको पाइन्छ ।
तर मानव समाजमा विभिन्न कालखण्डमा विभिन्न किसिमका महामारी र विपत्तिहरु आएका इतिहासहरु हाम्रो सामु छन् । जस्तै स्पेनिस फ्लु, अमेरिकामा फैलिएको ज्वरो, वर्डफ्लु, सार्स, इवोला जस्ता महारोगहरुले करोडौ मानिसहरुको ज्यान लिएको छ । विज्ञान कै कारणले गर्दा आज धेरै ज्यानमारा रोगहरु उन्मुलन भएका छन् । त्यसैले हरेक धार्मिक विश्लेषकहरु र आश्थावानहरुले यो संसारमा भगवानको अस्तित्व छ भने भगवान कृपालु पनि छन् भन्ने कुरा कहिले भुल्नु हुदैन । अहिले समाजका कतिपय मानिसहरुले यो महामारीलाई विज्ञानको हारको संज्ञा पनि दिइरहेको पाइन्छ । तर आधुनिक विज्ञानको विकास हुनु भन्दा पहिले पनि मानव जाति पटकपटक यस्ता महामारीको भुमरीमा फसेको हाम्रो इतिहास साक्षी छ ।
यति बेला पनि विज्ञान, वैज्ञानिक र डाक्टरहरु नै हाम्रा भगवान् सावित भैरहेको अवस्था छ । विमारी भइ मृत्यु हुनेको संख्या भन्दा रोगलाई परास्त गरेर निको हुनेको संख्या पनि धेरै छ । यो संम्भव विज्ञानले नै वनाएको हो । त्यसैले हामीले धैर्य गरि संमयमित हुनु पर्दछ । कोरोना महामारीको पनि अवश्य चाँडै सहि उपचार पत्ता लाग्नेछ भन्ने ठुलो आशा र विश्वास लिनु जरुरी छ ।
नेपाली समाजमा देखा परेको डरलाग्दो खतरनाक सामाजिक महामारी भनेको नाम मात्रको सामाजिक काम गरेर देखाउने प्रवृति हो । हाम्रो देशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख भएअनसार मिती २०७६ साल माघ ९ गते (२३ जनवरी २०२०) मा पहिलो पटक एक जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको थियो । विश्वजगत भने आक्रान्त बनिरहेको थियो । हाम्रो देशमा दोश्रो पटक कोरोना संक्रमित देखिना साथ सरकारले लकडाउन गर्ने उचित निर्णय गरेयो । विश्वमा तिब्र विकास भइ औद्योगिकरण भएका मुलुकहरुमा लकडाउन गरेसँगै मजदुरवर्गहरुलाई हातमुख जोर्न कठिनाई हुने देखिए पछि ती देशहरुका सरकारहरुले राहत कार्यक्रमको घोषणा गरे । अन्य मुलुकको सिको गर्दै नेपालमा पनि एक दुई हप्तामै राहत कार्यक्रमको संचालन त गरियो । तर यो राहत कार्यक्रम समाजमा त्यति प्रभावकारी भएको देखिएन । राहत दिदै गरेको कन्यादान गरे जस्तो फोटो खिचेर सामाजिक संजालका भित्ताहरु पोतिएका छन् । जसले निम्न आयश्रोत भएका मजदुर तथा व्यक्तिहरुको गरिवीको उपहास गरिएको गुनासाहरु समाजमा सुन्न पाईन्छ । साँच्चै यस्तो व्यवहारले गरिवीको धज्जी उडाएको आभाष हुन्छ । त्यसैकारण मजदुरहरु राहत लिन जान नै हिच्किचाउने गरेको समाजमा देखिन्छ । जसले समाजमा दुषित वातावरण सिर्जना गरिरहेको अनुभव गर्न सकिन्छ ।
काम देखाउने महामारीबाट हाम्रो समाज कति सभ्य छ भन्ने कुराको आँकलन गर्न सकिन्छ । यो रोगबाट हाम्रो समाज अति नै ग्रसित भएकोछ । वास्तवमा हरेक मुलुक र ती मुलुक भित्र निश्चित भेग र भौगोलिक क्षेत्रका आ–आफ्नै सामाजिक, आर्थिक, धार्मिक विशेषताहरु हुन्छन् । महामारी विरुद्ध राहत दिदै गर्दा यी कुराहरुलाई पनि ध्यान दिनै पर्दछ । महामारीको समयमा सवैलाई असहज भएकै हुन्छ नै । तर यस्तो विषम घडीमा हरेक समाजका व्यक्तिहरुले आफुलाई अनुकूलन गर्ने क्षमता तथा रणनीति बनाए कै हुन्छन् । केही शहरी क्षेत्र बाहेक नेपाली समाजको मानिसहरु गाँउघर तिर अझै पनि कृषि व्यवसायमा निर्भर छन् । किसानहरुले छ महिना वर्षदिन सम्म पुग्ने अन्नपातको जोहो गरेकै हुन्छन् । गाउँघरमा हुनेले नहुनेलाई ऐचोपैचो उधारो दिने हाम्रो परम्परा देखिको सामाजिक चलन नै हो । मानिस सामाजिक प्राणी भएकै कारण परेको बेलामा मानिसले एकले अर्कालाई सहयोगी भावना र त्यागी स्वभाव देखाउँछ । यस्ता महामारीको अवस्थामा बाँच्न कै लागि एकअर्कामा सहयोगको आदानप्रदान हुन्छ नै र गर्नु मानवजातिको उत्तरदायित्व पनि हो । त्यसैले गाँउघर तिर राहतको आवश्यकता सामाजिक तथा आर्थिक दृष्टिबाट पर्दैन । त्यसैले समाजलाई स्वभाविक रुपमा आफ्नै ढंगले चल्न दिनु नै हित हुन्छ नत्रभने समाज असल अर्थमा समाज बन्न सक्दैन ।
तर शहरीक्षेत्रमा बस्ने मजदुरवर्ग ज्यालादारी काम गरि आफ्नो दैनिकी चलाउने वर्गहरु तथा विद्यार्थी वर्गहरुलाई भने महामारीका कारण लकडाउन भएको यो अवस्थामा अवश्य पनि कठिनाइ भएको छ । यस्ता मजदुर तथा विद्यार्थी वर्गहरुलाई खास वास्तविक हातमुख जोर्न नै कठिन हुनेहरुलाई सरकारले व्यवहारिक र व्यवस्थितरुपमा राहतको व्यवस्था गर्नु पर्ने अत्यन्त जरुरी देखिन्छ ।
नेपाली समाजमा दुषित राजनितीको हावी भएको देखिन्छ । जसलाई एक सामाजिक महामारीको रुपमा लिन सकिन्छ । किन की आज विश्व समाज नै कोरोना महामारीबाट आक्रान्त भइ दयनीय अवस्थामा गुज्रिरहेकोछ । हाम्रो नेपाली समाज पनि विश्वसमाजसँगै दिनप्रतिदिन आक्रान्त बन्दै गएको अवस्थामा सरकारको सवै वल ध्यान जनतामा केन्द्रित गर्नुको सट्टामा राजनीतिको फोहोरी खेल खेलिरहेको देखिन्छ । जसले समाजमा नागरिकहरु निराशा भएको अवस्था पाइन्छ । किन कि आज हरेक नागरिकहरु कोरोना महामारीको विरुद्धमा गरिएको लकडाउनका कारण भोकभोकै मर्न सक्ने अवस्थाको सिर्जना हुदै गइरहेकोछ भने कति नागरिकहरु बाटबाटैमा अलपत्र परिरहेको अवस्था छ । वैदेशिक रोजगारमा गएका नागरिकहरु विदेशी भूमिमै रोजगार गुमाई अलपत्र अवस्थामा छन् । आफ्नो मातृभूमि मै आउन गुहार मागिरहेका छन् । तर कोही आफ्नो सत्ता जोगाउन व्यस्त छन् भने कोही सत्ता हडपेर आफ्नो कब्जामा लिन तल्लिन देखिन्छन् । त्यस्तै गरी राहत वितरण कार्यमा पनि विवाद नै विवादको अवस्था देखिन्छ भने नागरिकहरु भोकै वस्नु परेको घट्नाहरु पनि विभिन्न समाचारहरुमा देख्न र सुन्न पाइएकोछ । यस किसिमको प्रवृतिले समाजलाई धमिल्याइरहेको अनुभव गर्न सकिन्छ । समाजमा यस किसिमको वातावरण सिर्जना हुनु भनेको नागरिकहरुको सरकार प्रतिको विश्वासमा ह्रास आउँदै जानु हो । समाजमा यस्ता क्रियाकलाप हुनु भनेको समाजशास्त्रीय दृष्टिकोणमा राम्रो पक्ष होइन् । त्यसैले सरकारले समयमा नै यसतर्फ ध्यान दिई जनता र राष्ट्रका लागि सहि दिशा लिनु पर्ने आवश्यकता देखिन्छ । यो महामारीबाट हाल देखा परेका समस्याहरुको सहि र प्रभावकारीढंगले सिमित साधन श्रोतलाई उपयोग गरि समाधान गर्दै जानु पर्ने आजको तडकारो आवश्यकता देखिन्छ ।
अन्तमा यो कठोर कहालिलाग्दो महामारी रोगले आक्रमक रुप लिदै गरेको दयनिय अवस्थामा अवैज्ञानिक कथन र अफवाह फैलाउनु, अव्यवहारिक राजनीति गर्नु, कुर्शी र सत्ता मोहमा नै नेताहरु अल्मलिनु, काम गरेको देखाउनु, सीमा नाकाहरु खुल्ला हुनु, राहत वितरण अव्यवहारिक हुनु, भ्रष्टचारको हावी हुनु जस्ता कामकारवाही हुनु भनेको स्वस्थ र सभ्य समाज निमार्णको लागि सहयोगि कदापि हुनै सक्दैन । यो कुरो अति नै दुख लाग्दो कुरा हो । यो विषम परिस्थितिमा कोरोनाभाइरसको महामारी विरुद्धको युद्धमा सफलता हात पार्नका लागि र मानव समाजलाई जोगाई सामाजिक स्वास्थ्यविद, समाजशास्त्री, अर्थशास्त्री, कृषिविद, सुरक्षाविद र विपत व्यवस्थापनविद आदि सवै क्षेत्रका विशेषज्ञहरुको सहकार्य अपरिहार्य हुन्छ ।
त्यस्तैगरि सरकारमा राजनीतिक वितृष्णा हावी हुनु, नागरिक विमारी भएपछि स्वतः सचेत भइ अस्पताल चेकजाँच नगराउनु, अस्पताल सम्म गएका विमारीहरुलाई अस्पतालले विभिन्न वहानामा भर्ना गर्न नमान्नु, क्वारेनटाइनमा राखिएका व्यक्तिहरु भाग्नु, देशभरि नै भाइरस चेकजाँचको राम्रो व्यवस्था नहुनु, ज्यालादारी काम गर्ने कामदार, मजदुरवर्ग र विद्यार्थीवर्गहरुको लागि राहत कार्यक्रमको राम्रो व्यवस्था नहुनु लगायतका विभिन्न कारणहरुले गर्दा कोरोनाभाइरसको महामारी दिनप्रतिदिन बढ्दै जाने क्रम अझै तिव्र हुदै जाने हो भने हाम्रो असावधानी कै कारण भोलिका दिनमा नेपालमा पनि ठुलो महामारीको समस्या उत्पन्न हुन नसक्ला भन्न सकिदैन । त्यसकारण यो कठोर परिस्थितिमा राजनीति, कालोवजारी, भ्रष्टचार जस्ता अमानवीय कार्यहरु नगरि सरोकारवाला नागरिक, मानव अधिकारकर्मी, सुरक्षा निकाय, राजनैतिकदल, नागरिक समाज, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, किसान, मजदुर र विद्यार्थी लगायत सवैले आ–आफ्नो क्षेत्रबाट योगदान दिदै हातेमालो गरि कोरोनाभाइरस महामारी विरुद्धको विश्वव्यापी महाअभियानमा सहभागीता जनाउनु मै मानव जातिको हितमा हुने देखिन्छ ।
लेखकः समाजशास्त्री तथा मेलमिलाप कर्ता हुनुहुन्छ ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]