जेन–जी अगुवाहरू र जेन–जी विद्रोहको जगमा बनेको वर्तमान अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ–सामाग्री बन्न सक्ने मेरो आफ्नै जीवनको यो सत्य घटना–
२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो । थप जनधनको क्षति हुनथाल्यो । एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कदै गयो। निष्पक्ष छानवीन, दोषीलाई कार्वाही लगायतका मागहरू अतिरिक्त तत्कालीन प्र म गिरीजाप्रसाद कोइरालाले राजीनामा गर्नु पर्ने मुख्य मागहरू बने । सरकार टसमस भएन ।
महिनौंको संघर्षपछि भदौको कुनै दिन सरकार र आन्दोलनकारी वीच वार्ता गर्ने सहमति भयो । आन्दोलनकारीहरूको तर्फबाट तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, वरिष्ठ वामपन्थी नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्ष म चयन भयौं । सरकार पक्षबाट कांग्रेस सभापति तथा पूर्व प्र म कृष्णप्रसाद भट्टराई (किसुनजी) खटिनु भयो । ललितपुर सानेपाको कुनै घरमा वार्ता भयो ।
लामो रस्साकस्सी पछि अरू कुराहरूमा सहमति बन्दै गयो । तर प्रमको राजीनामाबारे सहमति हुन निकै सकस पर्यो । हामी पनि टसमस भएनौं । अन्त्यमा किसुनजीले भन्नुभयो – ‘लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ । म जिम्मा लिन्छु ।’
हामीले भन्यौं– ‘मिति तोक्नुपर्छ ।’
किसुनजीले भन्नुभयो – ‘लौ लौ, भदौ ३० गते ! मेरो वचन भयो ।’
मेरो मनमा शंका लाग्यो । किनकि म त्यतिवेला ३९ बर्षको जल्दोबल्दो थिएँ ।
मैले भनें– ‘किसुनजी, यसको एउटा लिखत गरौं न त !’
किसुनजीले बोल्नु अघि नै वहाँका समवयी र मेरा पिताको उमेरका मनमोहनजी र शम्भुरामजीले एकै स्वरमा भन्नुभयो – ‘किसुनजी जस्तो सन्तनेताले भनेपछि भैगो नि ! वहाँको वचननै लिखतभन्दा बलियो हुन्छ ।’
म हिस्स परें ।
भदौ ३० गते आयो । प्रम गिरिजा प्रसाद कोइरालाले राजीनामा गर्नुभएन ।
बरू ‘सन्तनेता’ ले पो भन्नुभयो – ‘मैले राजीनामावारे आश्वासन दिएकै थिइनँ ।’
सबै फासफूस भयो ।
यसको पाठ हो–राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास हैन शंकासहितको विश्वास गर्नुपर्छ ।
विशेषतः अहिले नयाँ इतिहास बनाइरहेका जेन–जी अभियन्ताहरूले पनि सिक्ने कि ?