नेपाली जनताको मूल्याङ्कनमा इतिहासकै रक्तपिपाशु ओली–देउवा

  • असोज ६, २०८२ / नेपाल रेखा
alt

भ्रष्टाचार उन्मूलन र सुशासनका लागि सडकमा निस्केका जेनजी (जेनरेसन जेड) पुस्ताका युवामध्ये भदौ २३ गते २१ जना र २४ गते २४ जनाभन्दा बढीले रगतको आहुति दिनुप¥यो । सुरुमा युवाहरूले आम जनताको भावनाअनुसारको माग राखेका थिए, सत्ता पल्टाउने योजना थिएन । तर रक्तपिपासु, सत्ता र शक्तिको उन्माद भरिएको सरकारले निधार र छाती ताकी–ताकी गोली ठोक्यो । परिणामतः मुलुकले इतिहासमै नसोचेको क्षति ब्यहोर्नु प¥यो ।
जेनजी पुस्ताले भ्रष्ट नेताहरूले देश बिगारेकोमा चिन्ता व्यक्त गर्ने गरेका थिए । उनीहरूले आन्दोलनमा जानुअघि बुबाआमा तथा दाजुदिदी पुस्तालाई नैतिक समर्थन दिन तर प्रदर्शनस्थलमा नजान सार्वजनिक आग्रहसमेत गरेका । मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिको विरोध हामीले नगरे कसले गर्ने ? भन्दै युवाहरू अभिभावकलाई सम्झाइ–बुझाई गएका थिए । धेरै युवाहरू विद्यालयको पोशाकमै सडक प्रदर्शनमा उत्रिएका थिए । उनीहरू ‘आचारसंहिता’ बनाएर शान्तिपूर्ण विरोध प्रदर्शनका लागि सडकमा आएका थिए ।
युवा तथा किशोर पुस्ताको इच्छा थियो, देशमा भ्रष्टाचार नहोस् । भ्रष्टाचार अन्त्य गरी देशको मुहार फेर्ने भन्दै उनीहरू आन्दोलित भएका थिए । कतिपय वीर–योद्धाहरू मजदुरी गरेर परिवार पाल्दै आएका थिए । कसैको सहारा थिए ती योद्धाहरू, जो नाहकमै ढालिए । बुबाआमाको मुटुको टुक्रा खोसियो । आफन्तहरूका लागि आकाश खस्यो । हजुरबुबा–हजुरआमाले नाति–नातिनी गुमाए, बुबाआमाले छोरा–छोरी गुमाए, भाइ–बहिनीले दाजु–दिदी गुमाए, दाजु–दिदीले भाइ–बहिनी गुमाए, मामा–माइजुले भान्जा–भान्जी गुमाए । अन्यायमा परेका जनताले न्याय गुमाए । देशले भविष्यका रत्नहरू गुमायो । राज्यद्वारा भएको आमहत्याको यो घटनाले घर–समाज, गाउँमात्र होइन, देशै अँध्यारो भएको छ । ७७ जिल्ला, सात सय ५३ पालिका शोकमग्न बनेको छ ।
दुईतिहाइ बहुमतको दम्भमा रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले रगतको खोलो बगाएर थप केही क्षण भए पनि सत्ता बचाउन खोजे । तर कवि गोपालप्रसाद रिमालले ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ,’ भनेजस्तो समय आएपछि कसैले रोक्नसक्ने कुरो थिएन । बालबालिकाको रगतमा पोतिएर ओलीको उन्मक्त सत्ता–साम्राज्य गल्र्यामगुर्लुम ढल्यो । समयको माग र युवाको भावना होइन, उखान–टुक्का प्रयोग र व्यङ्ग्य–वाण प्रहारमा दक्ष ओली आन्दोलित जेनजी युवालाई ‘केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भन्दै खिसी गर्दै थिए । तर भोलिपल्ट उनले युवा आक्रोशसामु लुरुक्क पर्दै प्रधानमन्त्रीको कुर्सी छोड्नुप¥यो । आफ्नो ज्यान बचाउन सेनाको सुरक्षा–घेराभित्र लुक्नुप¥यो । जनताका सामु जस्तोसुकै निरङ्कुश शासक पराजित हुनैपर्छ भन्ने अर्को एउटा अनपेक्षित नजिर नेपाली माटोमा बन्यो ।
‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।’ कवि भूपी शेरचनले भनेझैँ लेखन्त होला, धेरै नेपाली आमाका सपुत देशका लागि मरेर गए । सहिदका परिवारले मुटुको टुक्रा गुमाए । भ्रष्टाचार उन्मूलन र जनताको प्रत्यक्ष शासन सहिदको चाहना थियो । तथापि उनीहरूको सपना पुरा हुने हो–होइन, कुनै सुनिश्चित मार्गचित्र सार्वजनिक छैन । विगतमा पनि मुलुकको आमूल परिवर्तन र जनअधिकार प्राप्तिका लागि धेरै नेपाली युवाहरूको सहादत भएको थियो । तर तिनै सहिदको रगतको टीका लगाएर राज्य सञ्चालनको केन्द्रमा पुगेका लोभीपापीहरूले समयअन्तरमा सहिदको रगत पानी बनाइदिए । परिवर्तनको सपनामाथि तुषारापात गरिदिए ।
लोकतान्त्रिक आवरणमा ओली–देउवा सरकारले निरङ्कुशताका सबै हद पार ग¥यो । छिमेकी चीनको तियानमेन स्क्वायर हत्याकाण्डलाई बिर्साउने गरी आततायी सरकार निहत्था कलिला नागरिकमाथि बर्बर दमनमा उत्रियो ।
हत्यारा ओली–देउवा सरकारलाई तीन करोड नेपाली जनताको धिक्कार छ । बच्चाले खाना खाएन, किन खाएन आमालाई पिर, बिरामी भयो अस्पताल पु¥याउन बुबा–आमा, परिवार आफन्तलाई पिर, बोली नफुटेसम्म भोकायो कि भन्ने पिर, बामे सरेपछि कतै लड्ला, जोखिममा पर्ला भन्ने पिर, हिँड्ने–बोल्ने भएपछि कसैले कुटिदेला भन्ने पिर । स्कुल पठायो भोकै भयो होला भनेर खाजा लगिदियो, खुवाएर माया–प्रेमले आयो । कुन लुगा लाउने, कस्तो लाउने रोजाएर खुसी पारेर हुर्काएको सन्तति, एकै झड्कामा चुँडेर लगिदियो ।
ओली–देउवा सरकारले ताकेको बन्दुकको गोलीले यतिखेर दुई सयभन्दा बढी घाइते र ६ दर्जनभन्दा बढी सहिदका आमाहरूलाई कति पोलेको होला ? कसरी सहन गर्न सकेका होलान् ! भ्रष्ट सरकारको भ्रष्टाचारमै रम्ने सोखले ती अबोध निहत्थाको अनाहकमा ज्यान गयो । कठै ती निर्दोष, निहत्था सहिद ! ती अबोधहरूको आत्माले भन्दो हो– ‘आमा हामीलाई गोली हान्ने, हान्न निर्णय गर्ने र आदेश दिने सबैलाई कानुनको कठघरामा उभ्याऊ है ! अधिकार माग गर्र्दा छातीमा, टाउकोमा गोली हान्ने हत्यारालाई उम्किन नदेऊ है !’
रक्तपिपाशु ओली–देउवाको सत्तामोहले सहिदहरूको आत्मा रोएको छ । ती आत्माले तब शान्ति पाउने छन्, जब हत्याराहरूलाई न्यायालयले जेलमा हाल्नेछ । भ्रष्टाचारीका काण्डैपिच्छेका फायल खोलेर जेलमा कोचिने छ । देशमा भ्रष्टाचारको उन्मूलन हुनेछ, अनि सुशासन स्थापना हुनेछ ।
भ्रष्टाचार उन्मूलनका लागि आन्दोलनमा होमिएका किशोरकिशोरीले बुबाआमाको मन जितेर सडकमा आएका थिए । उनीहरूले सुनेका थिए, विद्यालय तथा क्याम्पसको पोशाक लगाएकालाई गोली हान्न मिल्दैन । यो अन्तर्राष्ट्रिय मान्यता हो । तर आततायी, अपराधी, नरपिचास शासकहरूका निम्ति के अन्तर्राष्ट्रिय मान्यता ? के मानवअधिकार ?
अति सर्वत्र वर्जित हुन्छ । पछिल्लो समय मुलुकमा भ्रष्टाचार अतिचार भएपछि युवाहरूले सम्झे– भ्रष्टहरूका कारण भोकभोकै तड्पिएर मर्नुभन्दा भ्रष्टहरूलाई तह लगाउन, देशमा आमूल परिवर्तन गर्न गोली खाएर मर्नु उचित हो । कम्तिमा बाँच्नेहरूले त सुखसाथ बाँच्न पाउँछन् । नमरी जानु न गरी खानुको अवस्था रहिरहनु भन्दा न्याय र अधिकारको लडाइँ लड्नु उचित हो ।
अन्ततः देशको चिन्ता काँधमा बोकेर नेपाल आमाका सपुतहरू सडकमा आए । न्याय र सत्यको पक्षमा होमिए । सरकारका अवरोधहरू पन्छाउँदै निडरतासाथ अगाडि बढे । हामीले केही गर्नु छ भन्ने सङ्लो मन लिएर विशुद्ध आवाज र खाली मुठ्ठी उठाए । सोचेका थिए– युवाहरूको जनसागर देखेर सरकारमा बस्नेहरूको बुद्धि अवश्य फिर्नेछ । अपराधीहरूले गल्ती सच्याउने छन् । हाम्रो भाग्य र भविष्य सुरक्षित गर्ने वचनबद्ध हुनेछन । तर सत्ताधारीहरूको व्यवहार सोचेभन्दा विपरीत भइदियो । नरसंहारकर्तासँग कसको के लाग्दो रहेछ र ?
सरकारले गरेको नरसंहारका कारण ६ दर्जनभन्दा बढी आमाको काख रित्तियो । दुई सयभन्दा बढीको अङ्गभङ्ग भयो । कयौँ गरिब तथा असहाय ज्येष्ठ नागरिकको सहारा, भरोसा खोसियो । नाहकमा भविष्यको आशा तुहाइयो ।
युवाहरू भनेका भविष्यका कर्णधार हुन् । सहिद भएका सबै युवाहरू अमूल्य रत्न थिए, देश र समाजका लागि केही गर्ने आशा थियो । उनीहरूप्रति आम नेपाली जनताको भरोसा थियो । तर सबै आशा–भरोसा जनहत्यारा ओली–देउवा सरकारले गोली बर्साएसँगै स्वाहा भयो । कतिपयको परिवारको जीवनै अन्धकार भयो ।
बाहिरको घाउ डाक्टरले लेखेको औषधिले निको पार्ला, भित्रको घाउ कसरी निको पार्ने ? त्यो तत्कालीन आततायी प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओली, ओलीलाई टेको लाउने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नरपिपाशु गृहमन्त्री रमेश लेखकले सत्ता बचाउन रगतको होली खेले । सबै नेपालीले चिनौँ, हेक्का राखौँ– सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक आवरणमा अबोध निहत्था किशोरकिशोरी तथा युवाहरूको छाती र निधारमा ताकी–ताकी गोली हान्ने र हान्न लगाउनेहरूलाई आजीवन काराबासमा नजाकुञ्जेल सहिदहरूको आत्माले शान्ति पाउने छैन ।
जेनजी आन्दोलनका घाइतेहरूको अवस्था अझ दयनीय छ । असह्य पीडाका कारण रोइरहेका, अस्पतालका ओछ्यानमा छटपटाइरहेका छन् । केही भने छातीमा, टाउकोमा, आँखामा लागेको गोलीसहित आम जनतालाई खबरदारी गर्न सञ्चारकर्मी तथा सामाजिक सञ्जालमार्फत आम जनतामा आह्वान गरिरहेका छन् ।
नेपाली दाजुभाइ, दिदीबहिनीहरू हामी सोचौँ– यी काङ्ग्रेस, एमाले, माओवादी, समाजवादी नाम गरेका राजनीतिक दलका भ्रष्टहरूबाट हामी र हाम्रा सन्तति कोही सुुरक्षित छैनौँ । लोकतन्त्र यिनीहरूको बाहिर देखाउने छद्मभेषी अनुहार हो । सक्कली अनुहार त भ्रष्टचारी, लुटेरा, ज्यानमारा, कमिसनखोरी, माफिया र तस्करी नै हो ।
इतिहासलाई केलाउँदा पनि कहीँ–कतै चित्त बुझ्दैन । चार महिना, ६ महिना, वर्षौँसम्म आन्दोलन गर्दा, अभियान चलाउँदा मानिसलाई यसरी मारिँदैनथ्यो । नरसंहार हुँदैनथ्यो । यदाकदा झुक्किएर, सुरक्षाकर्मीको ज्यादती वा आत्मरक्षाको परिस्थितिमा मात्र गोली चल्थ्यो । यसरी खुला मुठ्ठी उठाइरहेका युवाको छाती र निधारमा ताकी–ताकी गोली हानेको घटना मुलुकले पहिलोपल्ट बेहोर्नुप¥यो । लोकतन्त्रमा दुई ठुला दल मिलाएर कहिले पनि सरकार बनाउनु हुँदैन भन्ने विश्वव्यापी मान्यता छ । नेपालमा मूर्ख शासकहरूले त्यही मान्यताविपरीत गठबन्धन गरे, जसको परिणाम मानिसले सोचेभन्दा भयानक भयो ।
जनताले २००७ सालदेखि धेरै आन्दोलन गरेका छन् । राणाकालमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई राणा शासकले झुुन्ड्याएर मारे । २०४६ सालको ५० दिने जनआन्दोनमा करिब डेढ दर्जन मानिस मर्नासाथ तत्कालीन राजा वीरेन्द्रले पञ्चायती व्यवस्था अन्त्यको घोषणा गरे । २०६२–०६३ को १९ दिने जनआन्दोलनमा १९ जना मानिस गोली लागी मरेकाले तत्कालीन अधिनायकवादी शासन अन्त्य भएको थियो ।
२०८२ साल भदौ २३ गते भने स्कुल र क्याम्पसको पोसाकमा सडकमा गएका अबोध निहत्था किशोरकिशोरी तथा युवाहरूमध्ये एकै दिन १९ जनाको हत्या गरियो । त्यतिले नपुगेर भोलिपल्ट त्योभन्दा बढी सङ्ख्यामा रक्तपात मच्चाइयो । हत्यारा प्रधानमन्त्री केपी ओलीका लागि अबोध बालबालिकाको ज्यानभन्दा पद ठूलो भयो । उनी बालहठसहित थप अबोध ज्यान मार्न सुरक्षाकर्मी उक्साइरहेका थिए । तर लोकतन्त्रको नाममा नरसंहार गरी निरङ्कुश शासन थोपर्न ओलीलाई नेपाली सेनाले साथ दिएन । सेना जनताको सुरक्षामा अजर भएर उभ्यिो । फलतः जनभावना नबुझ्ने, अहङ्कारी, मूर्ख शासक सेनाको शरण पर्न बाध्य हुनुप¥यो ।
कोठाभरी अवैध पैसा थुपारेर, भ्रष्ट, गुण्डा र शक्तिको रापतापमा अबोध किशोरकिशोरी तथा युवाहरू मार्ने हत्याराहरूले यो वा त्यो बहानामा उन्मुक्ति पाउनु हुँदैन । सहिदको आत्माले हामीलाई नधिक्कारोस् । घाइते र सहिद परिवारको आँसु खेर नजाओस् । न्यायप्रेमी नेपाली जनता सचेत हुनैपर्छ । भ्रष्टाचारमुक्त नेपाली समाज निर्माण गर्न र सहिदको सपना साकार पार्न निरन्तर दबाबमूलक, खबरदारी अभियान जारी राख्नुपर्छ । भ्रष्टाचारविरोधी आन्दोलन सफल बनाउन हामी सबै लाग्नुपर्छ ।

पाथीभरा क्षेत्रमा रह ...

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन् ...

महिला सक्रियता ...

गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा निरन्तरक ...

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]