देशमा केही गर्न सकिँदैन भन्ने मानसिकता बोकेर हजारौँ युवा विदेशिन थालेको यो समयमा मकवानपुरका कृष्णप्रसाद सुबेदीले भने परम्परागत प्रविधिलाई आत्मसात् गर्दै स्वदेशमै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन् । हेटौंडा उपमहानगरपालिका–५ का ४० वर्षीय युवा सुबेदीले स्थानीय अर्गानिक अन्नलाई प्रवद्र्धन गर्दै घट्ट प्रविधिबाट कोदो, फापर र मकैको पिठो उत्पादन गर्ने ‘बुद्धभूमी खाद्य उद्योग’ स्थापना गरेका छन् ।
बजारमा गुणस्तरहिन, विषादीयुक्त खाद्यान्नको बढ्दो प्रयोग र स्वास्थ्यमा परिरहेको प्रतिकूल असर देखेर उनले ‘स्वस्थ जीवनशैली’ को लागि विकल्प खोज्दै यो यात्राको थालनी गरेका हुन् । परम्परागत प्रविधिमा आधारित भए पनि स्वास्थ्य र गुणस्तरप्रति उनी अत्यन्त सजग छन् ।
देशमै केही गर्न सकिँदैन भन्ने बुझाइलाई तोड्दै, उनले कृषि, स्वास्थ र परम्पराको संरक्षणलाई एकैसाथ अघि बढाएका छन् । उनै सुवेदीसँग नेपालरेखाले गरेको कुराकानी–
१. तपाईंले घट्टबाट पिठो पिस्ने र अर्गानिक पिठो उपभोक्तासम्म पुर्याउने यो व्यवसाय सुरु गर्न प्रेरणा कहाँबाट पाउनुभयो ?
– जब मानिसमा बिषादियुक्त र गुणस्तरहिन खाने कुराले दैनिक जिबनमा असार पारिरहेको थियोे । प्राणघातक रोग पहिलाको दाँजोमा अत्याधिक बढेर गएको थियो । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ । मेडिसिन भन्दा अर्को विकल्प के हुन सक्छ । भन्ने कुरा को खोजी गर्दै जादा यो घट्टमा पिसेको पिठोमा पिसान अबधिमा यसमा तापक्रम नबढ्ने सो कारण यस भित्र भएकोे तत्व नस्ट हुन नपाउने शरीरमा चाहिने गुणस्तर कायम रहने र अर्कोतर्फ पहाड का लोकल आर्गानिक उत्पादन जम्मा गरेर बिसानी गरि प्याकेज गरि उपभोक्ता सामु पुग्दा मानव शरीरमा रोगको मात्र कम लाग्ने मेरो निष्कर्ष नै मुख्य त मेरो घट्ट राख्ने मुख्य प्रेरणा को श्रोत बन्न पुग्यो । अर्कोतर्फ परम्पराको जगेर्ना पनि हो । आउदो पुस्तालाई यसले नयाँ पाठ र प्रेरणा दिने बिश्वासले नै मेरो यो घट्ट राख्नुपर्छ भन्नेमा मेरो ध्यान मोडिदियो ।
२. नयाँ पुस्ता अत्याधुनिक प्रविधिमा बढी निर्भर हुँदै गएको समयमा, तपाईंले परम्परागत घट्ट प्रविधिलाई कसरी सान्दर्भिक बनाउँदै हुनुहुन्छ ?
–मुख्य कुरा परम्परा र आधुनिक प्राविधिको होइन । मानव स्वास्थ को हो । अहिले को पुस्ता आधुनिकतामा रमाउने नाममा गुणस्तर हिन र अस्वस्थ कर खानेकुरामा बढी केन्द्रित भएको देखिन्छ जसका कारण दिनानुदिन अकालमा हुने मानिसको मर्ने दर बढिरहेको छ । हामीले पहिलेका पुस्ताबाट धेरै कुरा सिक्नु पर्छ । नराम्रो कुरालाई मात्रै छोड्ने भनेको हो । यो प्राविधि स्वास्थ र गुणस्तरका हिसाबले सदैब फलदायी हुनेछ । र यसले सबै युवा पुस्तालाई आत्मनिर्भरताको पाठ सिकाउने छ । आर्गानिक र गुणस्तर युक्त खाना स्वास्थको लागी औसधि हो । रोग लाग्नै नदिने औसधि ! यसलाई हामी सबैले फ्लो गर्नुपर्छ । त्यसैले यो घट्टमा पिसेको गुणस्तर युक्त र आर्गानिक पिठोले सबैको मन जित्नेमा म ढुक्क छु ।
३. अर्गानिक पिठोको स्वाद र पोषणतत्वलाई तपाईंले अरू उत्पादनहरूभन्दा फरक बनाउन के–कसरी सुनिश्चित गर्नुहुन्छ ?
– मैले माथि नै धेरै कुरा उल्लेख गरिसकेको छु । जब बन्द ठाउमा बस्तुलाई घर्षण दिइन्छ । त्यतिखेर त्यो बस्तुमा ताप उत्पन्न हुन्छ र त्यो तापका कारण बस्तु भित्र रहेको स्वाद र पोसण तत्व नष्ट भएर जान्छ । अहिले सबै पिठोहरु फलामको बन्द भाँडो भित्र घर्षण दिइन्छ । तपाईंले तातोले डडेको मकै र काँचो मकैमा के भिन्नता पाउनु हुन्छ । त्यहीबाट पनि हामी छुटाउन सक्छौ । घट्ट प्राविधि भनेको खुल्ला ठाउँमा बस्तुलाई घर्षण दिने हो जसको कारण बस्तुमा ताप उत्पन्न हुदैन । र सो कारण बस्तु भित्र भएको स्वाद र गुणस्तर नष्ट भएर जान पाउदैन । त्यसैले घट्ट प्राविधिबाट पिसेको अर्गानिक बस्तुको पिठो अरु भन्दा फरक स्वाद र गुणस्तरमा सुनिश्चित गर्न सकिन्छ ।
४. तपाईंको व्यवसायले स्थानीय कृषकहरू र उपभोक्तामा कस्तो प्रभाव पारेको छ ?
–हाम्रो यो प्राविधिको प्रयोगबाट आर्गानिक पिठो उत्पादन गरिरहदा स्थानीय निकै हािर्षत छन् । एकातिर किसानमा अर्गानिक बस्तुको सहज बिक्रीवितरण र उचित मूल्य पाएका छन् भने उपभोक्ताले अर्गानिक बस्तुको उहि स्वाद र गुणस्तरयुक्त बस्तु पाएका छन् । यसले आउदो पुस्तालाई शिक्षा मिल्नेमा हामी बिस्वस्त छौ ।
५. भविष्यमा तपाईंको योजना के–के छन् ? यो व्यवसायलाई कस्तो रूप दिन चाहनुहुन्छ ? साथै सरकारी र गैर सरकारी क्षेत्रबाट के कस्तो साथ सहयोगको अपेक्षा गर्नु भएको छ ?
–मुख्य त हामी यो पौराणिक प्राविधिलाई बिस्तार गर्नु चाहन्छौ । ताकि भोलिका पुस्तालाई एउटा शिक्षा बनोस् । नेपालमा पनि पुरानो प्राविधिलाई परिस्कृत गर्दै केहि गर्न सकिदो रहेछ । भन्ने आँट सबैमा होस भन्ने चाहन्छौ । राज्यले पनि यो प्राविधिको बिस्तार र प्याकेजिङमा सपोर्ट गर्ने आसा राखेका छौं ।
नेपाल स्वर्ग हो । यहाँ गरे नहुने कुरा केहि छैन । हाम्रा पू्र्खाले धेरै कुरा बनाइदिएका छन् । हामीले त्यसलाई परिस्कृत गर्दै आफ्नो पहिचानलाई बिश्वसामु चिनाउने काम गर्नु पर्छ । अरुको पछि लाग्ने क्रममा हामीले हाम्रो इतिहासलाई बिर्सदै गइरहेको छौँ । हरेक साधन र स्रोत जगेर्ना गर्नु आज हाम्रो पुस्ताको कर्तव्य हो । हामीले पू्र्खा र हाम्रो आयु बीच किन फरक आउदै छ भन्ने कुरा को हेक्का राख्नु पर्छ । १०० बर्ष बाँच्ने हाम्रो पु्र्खा आज हामी ५०–६० मै थलिएर बस्नु परेको छ । यदि खानपिनलाई नसुधार्ने हो भने भोलिका पुस्ताको आयु ४० मा नझर्ला भन्न सकिदैन त्यसैले आर्गानिक र गुणस्तर युक्ति खानेकुरा आजको अपरिहार्य आवश्यकता हो ।