पद मार्ग निर्माणले तीनजुरे र मकालु आधार शिविर सहजै पुग्न सकिने
असार ७, २०८१ / नेपाल रेखा
अनिष विष्ट सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–१ मा रहेको घोर्ले झरना आन्तरिक पर्यटकहरुमा निकै लोकप्रिय छ । झरनाको आसपास पूर्वाधार विकास सँगै आतजावतमा समेत सहज बनेपछि आन्तरिक पर्यटनमा बृद्धी भएको हो । गर्मीको मौसममा अग्लो छाँगोबाट ढुंगामा बजारिँदै झरेको झरनाले चिसो पानीमा रम्नकालागि जोकोहीको मन लोभ्याउने गर्दछ । जंगलको बीचमा १९१ मिटर अग्लो घोर्ले झरना निकै मनमोहक छ । कुसुवा खोलाबाट झरेको यो झरना तीनतला भएर बगेको छ । सबैभन्दामाथि पानीको छाँगा ९ मिटर, त्यसभन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर अग्लो छ । अन्तिम छाँगा सबैभन्दा लामो भएकाले दिनमा प्रायःजसो इन्द्रेणी देखिने गरेकोछ । झरनाको अघिल्तिर झरना दृश्यवलोकन गर्न झोलुङ्गे पुल समेत निर्माण गरिएको छ । ८५ मिटर लामो झोलुङ्गे पुल कोशी प्रदेश सरकारले निर्माण गरेको हो । झोलुङ्गे पुलबाट झरनाको अवलोकन गर्नकै लागिपनि आन्तरिक तथा बाह्य पर्यटकहरु घोर्ले झरना आउन थालेका छन् । झरनाको पानी जमेर बनेको दहमा पौडी खेल्नुको छुट्टै अनुभव हुने गर्दछ । ढुंगामा बजारिदै झरनाबाट पानी झर्ने क्रममा छिटाहरुले परसम्म भिजाउने गर्दछ । झरनामा पानी बढेसँगै सुन्दरता अझ थपिएको छ । घुम्नका साथै उक्त ठाउँँमा पिकनिक खानको लागि पनि मानिसहरु पुग्छन् । केही वर्ष यता प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा झरना आसपास पूर्वाधारहरु निर्माण भएका छन् । सडक मार्गबाट करिब पाँच सय मिटर पर गएपछि तीन तहमा रहेको घोर्ले झरनाको अवलोकन गर्न सकिन्छ । माथिबाट तल झरनाको फेदमा पोखरी देख्न सकिन्छ । त्यस पोखरीमा जान सिँढी निर्माण गरिएको छ । पोखरीलाई आकर्षक बनाउन ड्याम निर्माण गरिएको छ । पोखरीको छेउबाट छाँगामा जान अर्को सिँढी समेत निर्माण गरिएको । पाँचखपन नगरपालिका वडा १ वडा अध्यक्ष टंकबहादुर बुढाथोकीले झरना आसपासको पूर्वाधार विकास स्थानीय सरकारको प्रयासले मात्र सम्भव नभएपछि प्रदेश सरकारको भूमिका सहकार्यमा पुरा गरिएको बताएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको बजेटबाट पूर्वाधार निर्माणको कार्य भएको हो । पहिलो कार्यकाल झरना आसपासको क्षेत्रका प्रभावकारी रुपमा विकास गर्न नसके पनि पुनः दोस्रो कार्यकालका लागि समेत आफैं निर्वाचित भकाले झरना आउनजान र घुमडुलका लागि पूर्वाधार विकासको काममा निरन्तर लागिरहेको बुढाथोकीको भनाइछ । बाटो सहज भएपछि बाह्रै महिना पर्यटकहरु आउन थालेका छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट सभाखोला (वाना–हाँडी खर्क हुँदै घोर्ले झरना ३८ किलोमिटर सडक मार्गबाट पुग्न सकिन्छ । चैनपुर–बाह्रविसे सडक खण्डको कटहरेचोक–हाँडिखर्कबाट साढे १० किलोमिटर टाढा यो झरना रहेको छ । सुन्दर कुसुवा गाउँ हुँदै यो झरना पुग्न सकिन्छ । हाँडिखर्कबाट झरना पुग्ने सडकको अप्ठ्यारो ठाउँमा सोलिङ गरिएकाले बाह्रै महिना यातायात मार्फत झरना पुग्न सकिने वडा–१ का वडा अध्यक्ष बुढाथोकीको भनाइछ । यस आर्थिक वर्षमा पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको बजेटबाट मादी नगरपालिका–१ चौकी बजारमा सामुदायिक सभा हल निर्माण भएको छ । हल निर्माण पछि यसमा तालिम, गोष्ठी सञ्चालनमा सहज हुने वडा नं. १ का वडाध्यक्ष नारायणकुमार कार्कीले बताए । तीनजुरे क्षेत्रको भ्रमण गर्दै उच्च स्थानमा तालिम, गोष्ठीहरु गर्न यसै वर्ष निर्माण भएको हल प्रभावकारी हुने कार्कीको भनाई छ । वडाध्यक्ष कार्कीले भने–“यस क्षेत्रमा धेरै जना अट्न सक्ने हल नहुँदा कार्यक्रमहरु गर्न समेत असहज थियो ।” अब प्रदेश तथा राष्ट्रिय स्तरका कार्यक्रमहरु गर्न समेत सजिलो हुने उनको भनाइछ । यसै आर्थिक वर्षमा नै मादी नगरपालिका–९ को पर्यटकीय क्षेत्र फाविङ धन्सारमा रहेको किराँत माङहिम (मन्दिर) क्षेत्रको घेराबाराको काम समेत भइरहेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित बजेट बाटै माङ्हिम संरक्षणका लागि घेराबारको कार्य गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष इन्द्रमान लिङ्थेपले बताए । त्यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रालयबाटै विनियोजित बजेटबाट जिल्लाको पाँचखपन नगरपालिका–३ मा साङ्गे छोलिङ गुम्बा निर्माण भएको छ । मकालु गाउँपलिकामा पनि सिरुटार देखि बैद्धेसम्म पयटकीय पदमार्ग निर्माण भएको छ । सङ्खुवासभा जिल्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । तर यस आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका लागि यस जिल्लामा ९० लाखको ४ वटा योजना प्रदेश सरकार मार्फत आएको छ । ढुंगे सिँढीले पदैल यात्रा सहज बनाउ“दै पर्यटकीय पदमार्गहरुमा ढुंगे सिँढीहरु बनेपछि पदैल यात्रका लागि निकै सहज बनेको छ । मकालु गाउँपालिकाको सेदुवादेखि मकालु आधार शिविरसम्म पुग्नका लागि अधिकांश अफ्ठ्यारा ठाउँहरुमा ढुंगाको सिँढी निर्माण भएको छ । प्रदेश सरकार, संघीय र स्थानीय सरकारले पदमार्ग निर्माण गरेका प्रयासहरु सकारात्मक नै छ । पैदल यात्रीका लागि असहज बाटोलाई मानव निर्मित ढुंगे सिँढीले यात्रा सहज बनाएको छ । यहि ढुंगे सिँढी हुँदै बरुण उपत्यका, शिवधारा, मकालु आधार शिविर, मकालु हिमालसम्म पुग्न सकिन्छ । वरुण उपत्यका जैविक विविधताका लागि विश्व प्रसिद्ध छ । त्यसैले हिमश्रृंखलाको हिमाली वनस्पती, जडीबुटी हेर्दै, ताल, झरना तथा खोलाको सुन्दरताको दृष्यावलोकन गर्दै यात्रा गर्दा ठाडा ेउकालो ओरालो छिचोलेको पत्तै हुँदैन । जैविक विविधताका लागि विश्व प्रसिद्ध भौगोलिक क्षेत्र हो, वरुण उपत्यका । यो संखुवासभाको उत्तरी भू–क्षेत्रमा अवस्थित छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य पनि हो, वरुण उपत्यका । विश्वको पाँचौं सर्वाेच्च शिखर मकालु हिमालको काखमा रहेका अनगिन्ति हिमतालबाट निस्केको पवित्र वरुण नदीको महिमा मण्डित वरुण उपत्यकाको प्रमुख केन्द्र शिवधारा हिन्दू, किराँत तथा बौद्धमार्गीको आस्थाका कारण शिवधारा अहिले धार्मिक तीर्थ स्थल तथा पर्यटकीय गन्तव्य बनेको छ । धार्मिक आस्थाका रूपमा सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ सहितका हिन्दु, किँरात तथा बौद्धमार्र्गी भक्तजनहरू शिवधारा दर्शनका लागि जाने गरेका छन् । विशेषगरी शिवधारा जनैपूर्णिमाको अवसरमा परेर जाने गर्दछन् । बौद्ध धर्मावलम्बीले भने ती गुफाहरूमा रिम्पोछे लामाले तपस्या गरी भक्तलाई अभिषेक गरेको भन्ने धार्मिक मान्यता रहेको छ । अजंगको चट्टानीभीरको शिरमा बसेको शिवधारा पुग्नफलामेकिला टेकेर साङ्लोको भरमा जानु पर्दछ । चट्टानीभीर छिचोल्न सरकारले भित्तामा फलामे किला ठोक्दै र चट्टान खोप्दै हिड्ने बाटो निर्माण गरिएको छ । अहिले शिवधारा परिसरमै हेलिप्याड निर्माण गरिएको छ । पैसा हुनेहरू हेलिकप्टर चाटर्ड गरेर पनि शिवधारा पुग्न सक्छन् । सदरमुकाम खाँदबारीदेखि हिँडेर करिव पाँच दिनमा शिवधारा पुगिन्छ । त्यसमा थप दुई तीन दिनमा मकालु आधार शिविर पनि पुगेर आउन सकिन्छ । शिव र पार्वती गुफा दुई सय मिटरको पेरीफेरीमा छन् । पहरा खोपेर बनाइएको जस्तो देखिने अर्धवृत्ताकार आकृतिका गुफा हेर्दै अचम्म लाग्छ । शिव गुफा करिब ३० मिटर अग्लो छ । माथिबाट निरन्तर पानीको धारा बगिरहन्छ । भक्तजनहरु त्यही पानीमा नुहाउँछन् । त्यहाँबाट ३० मिनेट उत्तरमा पार्वती गुफा छ । यहाँ पनि पहराबाट पानी निरन्तर झरिरहन्छ । बिचमा गणेशस्थान छ । मकालु हिमाल आरोही तथा वेश क्याम्प सम्म पुग्ने पर्यटकहरुको यात्राअझ सहज बनाउन बरुण नदीको विभिन्न स्थानमा झोलुङगे पुल निर्माणमा पनि ध्यान जान जरुरी छ । मकालु बेस क्याम्प सम्म वरुण नदीमा चार र अन्य केही स्थानमा काठका पुलहरू मात्र छन् । ती पुल पनि जीर्ण हुँदा जोखिम पूर्ण यात्रा हुने गरेको छ । हाइकिङका लागि ५ हजार ५ सय ५५ सिँढी जिल्लाको खाँदबारी नगरपलिका–४ मा पदमार्ग(हाइकिङ) का लागि ५ हजार ५ सय ५५ सिँढी तयार हुँदैछ । सदुरमुकाम नजिकै रहेको अरुण थान हरेलो पदमार्गमा अहिले १ आठ सय सिँढी निर्माण गरिएको छ । सिमेन्ट र ढुंगाबाट पक्की सिँढी निर्माण गरिएको ४ नंं. वडा अध्यक्ष विनोद सुब्बा गुरुङ बताउँछन् । प्रदेश सरकार र संघिय सरकारबाट प्राप्त बजेटबाट सिढी निर्माण कार्य सुरु गरिएको गुरुङले जानकारी दिए । अरुण थान–फिरफिरे–दलपाटे हुँदै करिव ३ घण्टामा हरेलो पुग्न सकिन्छ । गुराँस फुलेको हेर्न र गुरुङ संस्कृतिकालागि यो पदमार्ग हिड्न रुचाउँछन् आन्तरिक पर्यटक । जंगलको विचबाट गएको यस पद मार्गमा मृग, कालिज, वनकुखुरा लगायतका जिवजन्तु समेत देख्न पाइन्छ । जंगल कटेपछि भाङ्खर्क सामुदायीक होमस्टेमा स्थानीय परिवार खाँदै गुरुङ संस्कृतिमा रम्न सकिन्छ । अरुणथान हरेलो हुँदै लहरी खर्क, छ्याङ्कुटी, रमितेको बाटो हुँदै थालेडाँडा सम्मको पदयात्रा गर्न उपयुक्त मानिन्छ ।