सुनसरी । मोरङको विराटनगर–१८ भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु भएको म्याराथन सुनसरीको बर्जुमा पुगेर समापन भएको छ ।
ऐतिहासिक चर्चा पाएको विराट राजाको दरबार क्षेत्रमा धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन सम्पन्न गरिएको हो । म्याराथनको शनिबार उद्घाटन गर्दै कोसी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री जिवन आचार्यले भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा म्याराथनले सहयोग पुग्ने बताए ।
खेलकुदमार्फत कोशी प्रदेशको राजधानी आसपासका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको मन्त्री आचार्यले बताए । मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नारा तय गरेको थियो ।
विराट दरबार क्षेत्रको लामो समयदेखि स्थानीयबासीले संरक्षण गर्दै आइरहेका छन् । वि.सं.२०२७ सालमा नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन् गर्दा प्राचीन कालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको चालिस वटा मुद्रासमेत भेटिए पश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राज दरबार भएको तथ्य पत्ता लागेपछि सरकारी स्तरबाट पनि यसको संरक्षणमा प्रयाहरु हुदै आएका छन् ।
कोसी प्रदेशको राजधानी विराटनगरबाट १२ किलोमिटर दुरीमा रहेको बर्जु ताल सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा छ । प्राकृतिक ताल र सिमसार क्षेत्रलाई स्थानीयवासीले चिमाडी ताल पनि भन्छन् । १ सय ५२ विघाको क्षेत्रफलमा फैलिएर रहेको तालमा माछाका विभिन्न प्रजातिहरू रहेका छन् । यो ताल विदेशबाट आउने चराहरूको वासस्थान पनि हो । यहाँ १०० प्रजातिका चराहरू देख्न सकिन्छ ।
यसैबीच, ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम भएका छन् । सिंहले निर्धारित विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गरेका थिए । म्याराथनको दोस्रो स्थानमा पनि सेनाकै सुशील कुमार शाही रहे । उनले १ घण्टा १८ मिनेटमा २३ किलोमिटर दूरी पार गरेका थिए । तेस्रो स्थानमा वैतडीका म्याराथन धावक मोहनदेव जोशी बने । उनले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा उक्त दुरी पुरा गरेका थिए ।
म्याराथनको चौथो पनि नेपाली सेनाकै होमलाल श्रेष्ठ भए । श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा, पाँचौं स्थानमा नेपाली सेनाकै श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र छैटौं स्थानमा सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा पुरा गरे ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले भाग लिएका थिए ।
विराट–बर्जु हाफ म्याराथनको महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीकीे सीमा थारु चौधरी भइन् । उनले उक्त दूरी १९ मिनेट ११ सेकेण्ड पार गरिन् ।
यस्तै नेपाल प्रहरीकी तिर्सना कुमालले सोही दूरी १९ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् । साथै २० मिनेट १६ सेकेण्डमा उक्त दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा २९ जना महिला धावक सहभागी थिए ।