झापा । अठ्ठाइसौँ जनयुद्ध दिवस नेकपा (माओवादी केन्द्र) ले देशभर विविध कार्यक्रम गरी मनाएको छ ।
जनयुद्ध दिवसकै अवसरमा जनयुद्धमा विभिन्न मोर्चा लडेका पूर्व जनसेनाहरुले झापाको दोमुखामा सोमबार पुनःमिलन कार्यक्रम आयोजना गरेका छन् । पूर्व जनमुक्ति सेना नेपाल का १ नम्बर प्रदेश समितिको आयोजनामा भएको सो कार्यक्रममा त्यसबेलाका उच्च तहका कमाण्डरदेखि सदस्यसम्मको करिब १५ सय बढी जनमुक्ति सेनाको सहभागिता रहेको पूर्व जनमुक्ति सेना नेपाल प्रदेश सचिव प्रदीपकुमार श्रेष्ठ (सौगात)ले जनाकारी दिए । सामाजिक संजाल साथै भौतिक उपस्थितिमा बैठक बसी कार्यक्रमको तयारी गरिएको थियो । वनभोजसहितको कार्यक्रममा आफ्ना बालबच्चासहित पूर्व जनमुक्ति सेनाका परिवारहरु उपस्थिति हुदा वातावरण रोमान्चक बनेको थियो ।
पूर्व जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेशका अध्यक्ष रामकुमार राई (राजेश) को अध्यक्षतामा भएको कार्यक्रममा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डययन उड्यय मन्त्री सुदन किराँती, १ नम्बर प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, संविधानसभा सदस्य किरण राई, प्रदेशसभा सदस्य गिता तिमसिना लगायत तत्कालीन जमुक्ति सेनाका व्रिगेड कमाण्डर, कमिसारहरुको उपस्थिति रहेको थियो ।
जनयुद्ध दिवसमा नेपाल सरकारले सार्वजनिक बिदा नै दिएपछि उपस्थित जनयुद्धमा सहभागि जनसेनाहरु खुशि भएका थिए । कार्यक्रममा बोल्दै जनयुद्धमा जनसेनाको कमिसार भई काम गरेका संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन उड्डयन मन्त्री सुदन किराँती पूर्वदेखि पश्चिम नेपालसम्म जनयुद्धको पदमार्ग निर्माण गरि युद्ध संग्रहालयको रुपमा बिकास गर्न आफू लागि परेको बताएका थिए । उनले भने–‘जनयुद्धमा लडाइ भएको युद्धस्थल र जनसेना बसेको अस्थायी क्याम्पहरु संग्रहालयको रुपमा विकास गर्न नेपाल सरकार लाग्छ ।’
मन्त्री किराँतीले जनसेनाको आवश्यकता अझै नसकिएको तर भुमिका फेरिएको बताए । जनसेनालाई समाजमा स्थापित गरि अहिलको सरकारबाट सम्मानजनक बाच्न पाउने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्ड पनि सचेत रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्यले जनयुद्धमा लड्ने जनसेनालाई गणतान्त्रिक योद्धा घोषणा गर्नुपर्ने जोड दिए । जनयुद्धमा लडेका जनसेनाको योगदानका कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले ती योद्धालाई सम्मान गरि राज्यले उपयुक्त व्यवस्थापनका लागि आफुपनि पहल गर्ने मन्त्री आचार्यले बताए ।
कार्यक्रममा संविधानसभा सदस्य किरण राईले जनयुद्धको जगमा देश अघि बढेको अवस्थामा जनसेनाको पुनः मिलन र शुभकामना आदनप्रदान कार्यक्रमले राम्रो सन्देश दिएको बताए । उनले भने–‘जनयुद्धको जगमा देश अघि बढेको तर योद्धा चै अभावमा बाच्नुपर्ने बाध्यता अन्त्य गर्न राज्यले सहि सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य गिता तिमसिनाले प्रतिक्रान्तिको संभावना अधिक रहेकाले हुने प्रतिक्रान्ति रोक्न जनसेनाको महत्व अझै रहेको बताइन् ।
उनले भनिन्–‘बोल्न नपाउने शासनको अन्त्य गरि सबै खुलेर बोल्ने, लेख्ने र व्यवसाय गर्ने व्यवस्था विरुद्ध प्रतिक्रान्तिको सम्भावना रहेकाले त्यस बिरुद्ध लड्न जनसेनाको आवश्यकता रहेको बताइन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सोले जनताका अधिकार स्थापित गर्न लडेका जनसेनाको गाँसबासको व्यवस्थाका लागि पार्टीका नेता र सरकारले पनि सम्बोधनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा (रमण) ले जनसेनाको आवश्यकता रहेको अझैपनि रहेको बताए । उनले भने– हिजो हामीलाई युद्ध लड्न तालिम र हतियार आवश्यकता रहेको थियो अब गाउँमा पुनस्थापित भएर जनतालाई अहिलेको व्यवस्थाबारे बुझाउने नयाँ योजनाका साथ अघि बढ्नुपर्छ ।’ पूर्व व्रिगेड कमिसार हिमाल सुवेदी, वैज्ञानिक समाजवादी पार्टीका आसिस लिम्बू, विप्लव नेतृत्वको नेकपाका नेता दिपेश राईले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा लोकगायक शम्भु राई, प्रगतिशील गायकहरु प्रदीप देवान, आधुनिक देवान, बालकृष्ण गजमेर (स्लाम) लगायातले जनवादी गित प्रस्तुत गरेर कार्यक्रमलाई भव्य बनाएका थिए ।
कार्यक्रमको संचालन पूर्व जनमुक्ति सेना प्रदेश सचिव प्रदीपकुमार श्रेष्ठ (सौगात) ले गरेका थिए ।
