मिथिलामा चाडबाडको रौनक

  • साउन १७, २०७९ / नेपाल रेखा
alt

महोत्तरी । साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो ।
साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा झुलनोत्सवको परम्परा छ । यस अवसरमा मठ, मन्दिर र धार्मिकस्थलहरूमा मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नन्दिनी सीताका प्रतिमा चाँदीका डोलामा राखेर भजनकीर्तन गाउँदै ‘झुलाघर’ पुर्याइन्छ । अघि त्रेता युगमा ससुराल आउनुभएका भगवान् रामलाई जनकपुरधाममा सोही समयमा ठाउँठाउँमा झुला खेलाइएको सम्झनामा यो परम्परा चलेको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णव बताउछन् ।

यस पर्वका अवसरमा मिथिलाक्षेत्रका सबैजसो मठमन्दिरमा अहिले झुलनोत्सव समारोह आयोजन गरिएका छन् । प्रत्येक साँझ रामसीताका प्रतिमा झुलाघर (उत्सवका लागि झुला राखिएको खास कोठा या घर) मा पु¥याइएपछि सन्त, महन्थ र सर्वसाधारणले रामसीताका महिमा गान गाउँदै पालैपालो रामसीताका प्रतिमा राखिएका झुला झुलाउँछन् ।
यसै अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठसँगैको ‘झुलाघर’ उत्सवमय बनेको छ । महोत्तरी र आसपासका मठमन्दिरबाट रामसीताका प्रतिमा यही ‘झुलाघर’ मा ल्याइएका छन् । महोत्सवमा सन्त र महन्थहरूको जमघटले आफ्नो नगर अहिले उत्सवमय बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउछन् । महोत्सवभर प्रत्येक साँझ प्रारम्भ हुने झुलनोत्सव मध्यरातसम्म जारी रहन्छ । यस क्रममा रामायण पाठ गर्ने, रामलीला मञ्चन गर्ने परम्परा छ । झुलनोत्सवका लागि प्राचीन मिथिला क्षेत्रका भारतको विहार राज्यको तिरहुतसम्मका सन्त रमहन्थ जम्मा भएका छन् । मठमन्दिरमा सिंहासन निर्माण गरी भगवान् रामसीताको प्रतिमा राखेर झुलाइने गरिएको हुँदा यो पर्वलाई झुलनोत्सव भन्ने गरिएको हो ।
झुलनोत्सवसँगै मिथिलामा साउन शुक्ल पञ्चमीका दिन ‘लगपाँच’ पर्व मनाइन्छ । नाग देवताको पूजाआराधना गरिने यो पर्वको प्रभावले सर्प आदिको भय नहुने जनविश्वास गरिन्छ । त्यसरी नै साउन शुक्लपक्ष प्रारम्भसँगै मिथिलामा राखी (रक्षाबन्धन) पर्वको रौनक बढ्छ । दाजुभाइ दिदीबहिनीबीच आत्मीय सम्बन्धको प्रतीक मानिने साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ को रमझम र पूर्वतयारी साउन शुक्लपक्षको प्रारम्भसँगै सुरु हुन्छ ।
मिथिलामा आयोजन गरिने महोत्सव, शुभकार्य र सबै कर्मकाण्डीय अनुष्ठान मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा निर्णय गरिन्छ । दुवै प्रचलित पञ्चाङ्गमा वर्षको पहिलो महिनाको गणना साउन शुक्लपक्षसँगै प्रारम्भ हुन्छ ।
वर्षको प्रारम्भ नै साउन शुक्लपक्षबाट सुरु हुने भएको हुँदा सबै चाडबाडको प्रारम्भ साउनदेखि नै हुने मान्यता मिथिलामा स्थापित भएको बर्दिबास–२ का पण्डित (प.) महेशकुमार झाको भनाइ छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]