नेपालमा पर्यटनको इतिहास "–के.बि.मसाल "

  • असोज २८, २०७७ / "नेपाल रेखा"
alt

पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनजस्ता महत्वपूर्ण आयामको उपयोग गर्न पर्याप्त व्यवसायीकरण गर्न सकिएको छैन । 

यो बर्ष कोरोना भाइरसको महामारीले बिश्वनै कोकाहल बनेको अवस्था छ । महामारीको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आकलन अहिले सम्म भएको छैन् ।

पर्यटनको क्षेत्रमा गहिरो अध्यन गर्ने हो भने प्राचीनकालमा लिच्छविकाल समयमा नेपालमा चिनियाँ यात्री फाइयानले कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास भेटिन्छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दुःख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुरा लेखेका थिए । मल्लकालीन समयमा भोट अर्थात चीनमा व्यापारका कारण विदेशीहरु नेपाल आउने गरेका थिए । त्यो समयमा नेपालीहरुले पनि विदेश भ्रमण गरेका थिए । जुन कुरा वि.सं. १९०६ मा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रामा उनका टिममा ५० औं जनाको यात्रा उधारण लिन सकिन्छ । श्री ३ जगंबहादुर राणाको बेलायत भ्रमण गर्नु भन्दा पहिले व्रह्मपुत्र नदी पार गरेर कुनै पनि नेपाली वाहिरी मुलुकको भ्रमणमा गएका थिएनन् ।


नेपालको भूमीमा टेक्ने पहिला पर्यटक मन्जुश्रीलाई मानिएको छ भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मन्जुश्री नेपाल प्रवेश गरेर काठमाण्डौ उपत्यकाको जलाशयलाई चोभारमा गल्छी बनाएर निकास दिएर उपत्यकामा मानव बस्तीको विकास गरेका थिए । स्रोङचनगम्पो सन् ६१७ देखि ६९८ सम्म तिब्बती सम्राट थिए । यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटी सग विवाह गरी नेपालसंग सम्बन्ध गाँसिएको थियो । बैवाहिक सम्वन्धबाट तिब्बत गएपनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पहिलो पर्यटक मानिन्छ ।

हिमाली भेगमा मानिसहरु बसोवास गर्न थालेको करिवन ९ हजार वर्ष भएको छ । सम्भवत भोट–बर्मेली मूलका मानिसहरु नेपालमा २ हजार ५सय वर्ष अगाडि बसोबास गर्न थालेका थिए । ईशापूर्व १५०० तिर आर्यन जातिहरु उपत्यका प्रवेश गरेका हुन । लिच्छवीहरुले ५औं शताब्दिको उत्तरार्धमा आएर राज्य गरे । लिच्छवीवंश ८ औं शताब्दिको उत्तरार्धमा अस्त हुन थाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो । यी सबै इतिहासका कुराहरु पनि भ्रमणसंग जोडिएका छन् ।


सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक आठ हजार मिटरको हिमालमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । जुन कारणले नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७ र ५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए । त्यहीबेला जिम कोपम्यानले चितवनमा खोलेको हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो ।


पर्यटनले भ्रमण मात्र होइन राजनीतिक महत्व पनि बढदै गएको छ । राजनीतिक स्थिरता भएको ठाउँमा विकास एवं शान्ति हुन्छ । पर्यटनका लागि त्यो अनुकूल वातावरण हो । फेरि अहिले विश्वव्यापी रुपमा पर्यटन व्यवसाय फैलिएको सन्दर्भमा कुनै पनि राज्य वा समाजले आफ्नो पुरानो राजनीतिक पूर्वाग्रहलाई त्याग्न सकेन भने पर्यटन व्यवसाय फस्टाउन सक्दैन । कतिपय मुलुकहरु त्यस्ता पूर्वाग्रहलाई त्यागी पर्यटन प्रवद्र्धनका लागि राजनैतिक रुपमा भ्रमण गर्न थालेका छन् । चीन, भारत, पाकिस्तानजस्ता देशहरु नजिकका उदाहरणहरु हुन् ।

सरकारप्रमुख, राज्यप्रमुख, नेता, मन्त्री, उच्चपदस्थ व्यक्ति, सांसद आदिको औपचारिक भ्रमणदेखि राजनैतिक बैठक, सभा सम्मेलनजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रमहरुले पर्यटनलाई सहयोग पु¥याउदै आएको छ । अर्को तर्फ राजनैतिक संगठन, समूह अर्थात सार्क, ओपेक आदि हरुको नियमित बैठक, भ्रमण आदिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वर्तमान अवस्थामा कुनै पनि राष्ट्र एक–अर्को राष्ट्रसँग अछुत भएर बस्न सक्दैन ।

अहिले धेरै मुलुक पर्यटनका कारण भाइचारामा वृद्धि भएको छ । राजनैतिक रुपमा सहयोगको आदन–प्रदान भएको छ । जसबाट कुनै पनि देशको बाह्य सम्बन्ध राम्रो र सहयोगात्मक मात्र नभएर आन्तरिक विकासमा समेत पर्यटनको राजनैतिक भ्रमणले सहयोग पुगेको छ ।


विश्वको कतिपय मुलुकमा कृत्रिम सुन्दरताले समेत पर्यटकलाई आकर्षित गरिरहेको बेला प्राकृतिक रुपमै रमणीय र साहसिक पर्यटकीय क्षेत्र रहेको नेपालमा हामीले पर्यटकलाई आकर्षण गर्न सकिरहेका छैनौं । नेपालमा प्राकृतिक रुपमा रहेका सायौ पर्यटकिय सम्पदामा मानविय लगानी गर्न परेको छैन । तर अब संरक्षणको खाचो भएको छ ।

ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनजस्ता महत्वपूर्ण आयामको उपयोग गर्न पर्याप्त व्यवसायीकरण गर्न सकिएको छैन । तर पनि विश्वका जुनसुकै मुलुकबाट आएका पर्यटक नेपालमा एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरुले भनिरहेका हुन्छन्, म फेरि फर्केर आउँछु । त्यसपछि उनीहरु साथी भाइहरु सहित पुनः नेपाल आएको पाइन्छ ।


नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृखलाहरु, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता र वुद्धभुमी नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन ।

पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।


पर्यटकीय दृष्टिबाट हेर्ने हो भने नेपाल पहिलो नम्बरमा आउँछ । सगरमाथा र बुद्धको जन्मथलोको रुपमा नेपाल बिश्वमानै परिचित छ । बिश्वभरी करीव ५३ करोड बौद्ध धर्मावलम्वी रहेका छन् । ५३ करोडमध्ये पनि करीव ५० करोड संख्या त एशियाका १० देशका नागरिक छन् । ती देश नेपालबाट केही घण्टाको हवाई दूरीमा रहेका छन् । एशियाबाट मात्रै बौद्ध धर्मावलम्वीहरु ०.२ प्रतिशत पर्यटकका रुपमा भित्राउन सक्ने हो भने करीव १० लाख पर्यटकको आगमन एशियाबाट मात्र पु¥याउन सकिन्छ । जुन असम्भव पनि छैन, किनकी बौद्ध धर्मका प्रणेता भगवान बुद्धको जन्मभूमि नेपाल हो ।

नेपाल विश्वमा रहेका कुनै पनि देशहरुसँग तुलना गर्न नमिल्ने भूपरिवेष्ठित मुलुक हो । यहाँको जैविक विविधता, प्राकृतिक सौन्दर्य, भाषिक सांस्कृतिक एकता, तराई, पहाड र हिमालको छुट्टाछुट्टै वातावरणीय विविधता, अतिथि देवो भवःभन्ने यहाँका मानिसहरुको संस्कार, परिवेश अनुपम रहेकाले वाह्य पर्यटकहरुको मन लोभ्याउने गर्दछ ।


नेपालमा सन् १९५३ मा तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालको पर्यटन क्षेत्रले चर्चा पाउन थालेको हो । त्यसपछि विश्वका पर्यटकको ध्यान नेपालका हिमालले खिच्यो । पर्यटन विकासको क्रममा नेपालमा सन् १९७६ मा पर्यटन मन्त्रालयको स्थापना भयो र वन्यजन्तु संरक्षण क्षेत्रहरुको घोषणा भयो । त्यस पछि जैविक विविधताका आधारमा नयाँ पर्यटकीय स्थलहरु पहिचान गरी प्रचारप्रसार समेत भएको छ ।

नेपाल भित्रिने कुल वाह्य पर्यटकहरु मध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आउछन । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार तथा अन्य संरक्षित क्षेत्रमा जाने हरेक वर्ष वाह्य पर्यटकहरुको सख्या बढन थालेको छ । विश्वसम्पदा सूचीमा चितवन, सगरमाथा जस्ता संरक्षित क्षेत्र पर्न सफल भएको छ ।विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटा लगायतका क्षेत्र सूचीकृत भएका छन् । यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् ।


राणा कालिन समयमा नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबिचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए । बोरिसलाई दिइएको यो अनुमतिले नेपालमा वाह्य पर्यटक नेपाल भित्रिन शुरु भएको हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो पुग्न सफल भए । संसारमा १४ ओटा ८ हजार मिटर भन्दा माथि उचाईका हिमालहरु छन । त्यसमध्ये ८ ओटा हिमाल नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्य बन्न थाल्यो । हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य भएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ ।


पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ  । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो  । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सीमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरुका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ  ।

संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरुको कारणले यो १८ औं शताब्दीमा विश्वचर्चित भयो । आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरु जोडने अत्याधुनिक रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरु त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यस पछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरुको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।


भुपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । नेपालमा वाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारभन्दा बढी छन् । देशभरि गरेको अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् ।

संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् । ती ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ । यी जैविक र भौगोलिक विविधता नभएको भए यहाँ वाह्य पर्यटकहरु नेपाल आँउदैन थिए होला ?


त्यसै कारण यतिखेर हामी पर्यटन व्यवसाय वा पर्यटन उद्योगबाट मुलुकको विकास हुन्छ भन्ने कुरामा आशावादी भएका छौ । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः मुलुकको आर्थिक विकास हुन जान्छ । पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । प्रचार–प्रसार एवं पूर्वाधारको विकास हुने हो भने काठमाडौं, लुम्बीनी वा पशुपति दर्शनलाई आएका पर्यटकहरुलाई मुलुकको अन्य पर्यटकीय क्षेत्र सगरमाथा आधार शिविर, रारा ताल वा तिलिचो ताल अवलोकनमा पनि पु¥याउन सकिन्छ । जसबाट उनीहरुको बसाइ एवं खर्चमा वृद्धि हुँदै जान्छ । ठूलो संख्यामा पर्यटकहरु मुलुकमा भित्रिँदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ ।


नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।


चैत्र ११ देखि सुरु भएको लकडाउन अन्त्य भएको छ । तर पनि कोरोना भाइरसले सक्रमित हुनेको सख्या घटेको छैन । यतिखेर हवाईसेवा आंशिक रुपले खुलेको छ । हवाई सेवा खुलेसँगै लामो समयदेखि विभिन्न स्थानमा थन्किएर बसेका पर्यटकहरुलाई बिभिन्न मुलुक र नेपालका जिल्लाहरुमा आवत–जावत गर्न सजिलो भएको छ । सार्वजनीक यातायातका साधन सडकमा गुडन थालेका छन् । तर पनि पर्यटकहरुलाई भ्रमणमा निस्कन जोखिमहरु पनि उत्तिकै छन् । हामीले आशा गरौ यो महामारी लामो समयसम्म रहदैन । अब छिट्टै सामान्य अवस्थामा जनजीवन फर्किने छ र पर्यटनले पुन आफ्नो गती लिने छ ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]