श्रमजीवी स्वतन्त्र पत्रकार "–के.बि.मसाल"

  • असोज १९, २०७७ / "नेपाल रेखा"
alt

पत्रकारिता स्वतन्त्र पेसा हो भने यो पेसा अपनाउन चाहनेमा न्यूनतम योग्यता हुनैपर्दछ । स्वस्थ पत्रकारिता सशक्त र सुयोग्य पत्रकारबाट मात्रै सम्भव हुन्छ । पत्रकारिता आफैमा श्रद्धेय बौद्धिक पेसा हो तर आज पत्रकार भन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था पत्रकारिताको धर्म नबुझेकाहरुको प्रवेशकै कारण सिर्जना भएको हो । 


नेपालमा अहिले पत्रकारहरु राजनीतिक दलहरुको छायामा रहेका प्रेस युनियन, प्रेस सगठन, प्रगतिशिल पत्रकार संघ, क्रान्तीकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत बिभिन्न जातीय पत्रकार संघ÷संगठन भित्र रहेर पत्रकारिता गर्नेहरुको सख्या धेरै छ । ती संगठन भित्र रहेर पत्रकारिता गर्नेहरु मध्य धेरै नेपाल पत्रकार महासंघको सदस्य समेत भएका छन ।


नेपालको पत्रकारिता अहिले दलीय पक्षधरताले गर्दा पर्चाकारितामा परिणत भएका छन् र पाठक, श्रोता र दर्शकले पनि कुन सञ्चार गृहको, कुन सञ्चार माध्यमले, कुन पार्टीको, कुन नेताको कस्तो समाचार दिन्छ भनेर बुझ्न थालेका छन् । जुन कारणले अब पक्षधरता नाङ्गो रुपमा देखापर्न थालेको छ । नेपालमा तीन दशक लामो पञ्चायतकालभरि पञ्चायतका पक्ष र विपक्षमा पत्रकारहरुको शीतयुद्ध चल्यो । बहुदलीय व्यवस्था पुनरावृत्ति भएपछि सबै पत्रकारहरु बहुदलको पक्षमा एकढिक्का भएर लाग्ने अनुमान थियो तर त्यसो भएन । राजनीतिक आस्था वा लाभको आशाले पत्रकारहरुको एकता खण्डीकृत मात्रै भएन, दलैपिच्छे, गुटैपिच्छे लाग्ने पत्रकारहरु को सख्या बढन गयो । यसै कारण अब पत्रकारिताको पेशाको गरिमा र मर्यादा बचाउँन पत्रकारहरु स्वयं सजग हुन जरुरी छ ।


सत्य तथ्य घटनाहरुमा अधारित रहि संचार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग बिज्ञानको युग हो । बिश्वमा घटेका हरेक घटनाको जानकारी र बिबरण तुरुन्तै बिश्वको सबै कुनामा पुग्दछ । संचारको माध्यमबाट जनाकारीले सबै सामु पुग्दछ । पत्रकारितालाई राज्यको चौथो अगंको रुपमा स्वीकार गरिएको छ । जसरी निष्पक्ष न्याय सम्पादनमा स्वतन्त्र न्यायपालिकाको वकालत गरिन्छ, त्यसैगरी नागरिकको सुसूचित हुने अधिकार प्राप्तिका लागि स्वतन्त्र पत्रकारिता हुनुपर्छ । स्वतन्त्र पत्रकारिताको माध्यमबाट देश र नागरिकले सही समाचार र विचार प्राप्त गर्न सक्छन् । यसो भनिरहँदा मुलुकको पत्रकारिता भने दलगत राजनीतिबाट मुक्त हुन सकिरहेको देखिँदैन । पत्रकारहरु विभिन्न राजनीतिक दलको भातृ संगठनका रुपमा क्रियाशील बनिरहेका छन् । पत्रकारहरुको छाता संगठन मानिने नेपाल पत्रकार महासंघ पनि राजनीतिको छायाँबाट मुक्त हुन सकेको छैन । स्वतन्त्र पत्रकारिताको स्वाभिमानलाई राजनीतिक दलहरुका भ्रातृ संगठनमार्फत आत्मसमर्पण गर्नु भनेको होइन । काग आफ्नो भाषा बोल्छ त्यहि कारण उ स्वतन्त्र छ । तर सुगा अर्काको भाषा बोल्दछ । त्यसैले उ जीवनभर पिजडामा रहन्छ । विभिन्न गुट–उपगुटको दास भएर स्वतन्त्र प्रेस भन्नु प्रेस स्वतन्त्रताकै अपमान हो ।


जन्मदा हरेक मानिसको विचारशून्य हुन्छ । शिक्षादीक्षा, जीवनका भोगाइ र सामाजिक परिवेशले उसभित्र आफ्नै मौलिक विचार निर्माण हुन्छ । त्यसैले विचार नभएको मानिस हुँदैन । यदि कोही छ भने त्यो असामाजिक प्राणी हो । त्यसलाई विचारवान बनाउनु पर्दछ । तर, कुनै पत्रकारले म विचारवान छु र अमूक राजनीतिक संगठनको कार्यकर्ता भएर हिँड्छु भन्नु उस्को मुख्र्याइँ पन हो । पत्रकारिता पेशा संसारभर प्रचलनमा रहेकाले यहाँ अर्काे प्रति प्रश्न पनि गर्न सकिन्छ, के संसारभरिका पत्रकार आ–आफ्नो देशका राजनीतिक दलसँग सम्बद्ध छन् ? छैनन् । संसारभरि चलेको प्रचलन अनुसार पत्रकारको संगठन पत्रकारहरुमा मात्रै सीमित हुनुपर्ने हो । तर, हामीकहाँ त्यसो हुन सकेको छैन । राजनीति गर्नु कुनै खराब पेशा अँगाल्नु होइन । तसर्थ, राजनीति गर्न मन लागे पत्रकारले आजदेखि म फलानो भूमिकामा लागें भनेर सार्वजनिक जानकारी दिनु पर्दछ । तर हाम्रो पत्रकारितामा त्यो पाउन सकिएको छैन ।


स्वतन्त्र शब्द संस्कृतबाट आएको तत्सम हो । स्व भनेको आफू वा आफ्नो भन्ने हुन्छ भने, तन्त्र भनेको शासन हो । जसबाट यो सिद्ध हुन्छ आफू आफ्नो ठाउँमा रहेर आफ्नै लागि गरिने कर्म स्वतन्त्र हुन्छ । तर,स्वतन्त्र संस्थाका नाममा बिभिन्न खाले संगठन खोलीएका छन । संसदमा प्रतिनिधित्व गर्ने जति राजनितिक दलहरु छन, सबैले आफ्ना भातृ संगठन खोलेका छन । आफ्नो हैसियत अनुसार ट्रेड युनीयनहरु बनाएका छन । दलै पिच्छेका बिद्यार्थी संगठन, पत्रकार संगठन, किसान संग, महिला संघ लगायतका संस्थाहरु पनि छन । ति सबैले समाजसेवी, गैर नाफामूलक र गैरराजनीतिक संस्थांका रुपमा आफ्ना बिधान बनाएका छन । स्वतन्त्रता तथा अधिकारकै लागि संगठित भएको उनीहरुको रटान पनि दोहोरी रहन्छ । राजनितिक दलका कतिपय भातृ संगठनहरुले नाम जुराउँदै स्वतन्त्र शब्दलाई झुण्डयाएको देखिन्छ ।


नेपाली बृहत् शब्दकोशमा स्वतन्त्र शब्दको अर्थ कसैको नियन्त्रण, बन्धन वा दवावमा नपरेको, आफ्नै अधिनमा रहेको, आफ्नो सोच अनुसार चल्नु अर्थात अरुको आड नलिने र भर नपर्ने भनी भनिएको छ । यस्तो अर्थ आफ्नै तन्त्र वा शासनमा रहने तथा स्वयं आफैँबाट निर्देशित हुन सक्ने वा पाउने हो । बसन्तकुमार शर्माको ‘नेपाली शब्दसागर’ मा पनि ‘स्वतन्त्र’ शब्दलाई ‘नियमसंगत रहनु, अनुशासन, विधि, कसैको नियन्त्रणमा नरहने वा र स्वविवेकमा आफैंले जिम्मेवारी बोक्नुपर्ने भनिएको छ । यसरी हेर्दा अरुबाट निर्देशित नभएको, स्वायत्त संस्था वा संगठनलाई स्वतन्त्र समुह भन्न सकिन्छ । तर नेपालमा त्यस्ता संगठन पाउन निक्कै गाह्रो छ । बिभिन्न संचारमाध्यमहरुबाट पत्रकारले समाचार सम्प्रेषण गरिरहेका हुन्छन, फलानो निकट फलानो स्वतन्त्र संगठनले यस्तो गर्यो र भन्यो संचामध्यमबाट सम्प्रेशित समाचारका हेडलाईन यस्ता देखिन्छन ।


सामान्यतया अध्यन गर्ने हो भने स्वतन्त्रको परिभाषा अनेक छन । जसरी हाम्रो मुलुकमा स्वतन्त्रहरु अनेक छन् । एउटै कामका लागि एउटै क्षेत्रबाट, एउटै मुद्दा उठान गर्नका लागि दर्जनौं स्वतन्त्रहरु उभिने स्वतन्त्रता छ । स्वतन्त्र हुनु एक्लै हुनु बिल्कुन होइन । अरुभन्दा फरक हुनु होइन । कहींकतै आबद्ध नहुनु पनि होइन । वश स्वतन्त्र हुनु नै स्वतन्त्र हुनु हो । स्वतन्त्र हुन कतै निवेदन दिनु पर्दैन । नागरिकता, पासपोर्ट वा लालपूर्जा देखाउनु पर्दैन । कुनै निकायबाट वर्गीकृत हुनु पर्दैन । स्वतन्त्र हुनु नै स्वतन्त्र हुनु हो । स्वतन्त्र हुनु र स्वतन्त्र नदेखिनु बेग्लै कुरा हो । दर्जनौं स्वतन्त्रहरुको भीड बढेर गैरस्वतन्त्रभन्दा बढी हुनु, देखिनु संयोगमात्र हो । स्वतन्त्रको स्वतन्त्र गाथा हुन नहुनसक्छ । हरेकको स्वत्व नहुनसक्छ, स्वनिर्णय नहुन सक्छ तर उ स्वतन्त्र हुनसक्छ किनकि स्वतन्त्रको कुनै योग्यता छैन ।


आफ्नो समाजको लागि आफ्नै ठाउँ, समाज र देशको लागि लेख्नु, बोल्नु स्वतन्त्र हुन्छ । स्व भनेको अस्तित्व, प्रकृति हो, मुल केन्द्र हो । जसका लागि मानिस आजीवन संघर्ष गरिरहन्छ । पाणिनीय व्याकरणमा स्वस्व अवस्थायां प्रकृतिभाव भनिएको छ । जसको अर्थ प्रकृति सगं सन्तुलन रहनु भन्ने हुन्छ । प्रकृति भनेको वास्तविकता हो । मानिस सदैव दबाब, दमन र निश्चित घेरा तोडेर आफ्नै अस्तित्व चाहना गर्ने र स्वतन्त्र बाच्न खोज्ने प्राणी हो । संसारमा बन्धन कसैले चाहदैन । बन्धन नहुनु भनेको स्वतन्त्र हुनु हो । स्वतन्त्रताको आकार असीमित हुन्छ । यस भित्र सबै अटने, सबै जोडिने र सबैको स्थान सन्तुलन रहेको हुन्छ ।


स्वतन्त्र भनेको संतुलन पनि हो । सन्तुलन भयो भने मात्र प्रगति सम्भव छ । सन्तुलनमा नै समानता हुन्छ । समानता भनेको उदारता हो । उदारताको लागि प्रतिबन्धित घेरामा सिमित भएर होइन राजनीति, सैद्धान्तिक आग्रहपूर्वाग्रह, धर्म सम्प्रदाय, जात, भाषा, समाज र निश्चित घेराहरुलाई परिवेशानुकुल तोडन सक्नु पर्छ । मानिसको अन्तिम उदेश्य भौतिक सुख, मान, प्रतिष्ठा मात्र नभएर वास्तविक आनंद हो । त्यसको लागि पनि हामी स्वतन्त्र हुनु आवश्यक छ । हामी कुनै सकिर्ण विचारमा कैद भएर होइन । आफ्नो अस्तित्वमा रहेर बसुधैव कुटुम्भकम् भने भावनालाई आत्मसात गरेर मात्र स्वतन्त्रतालाई कायम राख्न सकिन्छ । पत्रकारिताको जगतमा स्वतन्त्रता एक पहिलो आधार हो, जरो हो र माध्यम हो । महान वैज्ञानिक थोमस एल्भा एडिसनले भनेका छन् फैलिएर रहेका र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन । यो कति सुन्दर छ भने दैनिक हजारौ कहाँ पुग्दछ, तिनीहरुलाई ज्ञान, सूचना, शिक्षा, र मनोरन्जन प्रदान गर्दछ ।


स्वतन्त्र पत्रकारिता त्यो हो जहाँबाट अनेकौं रसहरु पैदा हुन सक्छ । जसबाट ब्याक्ति, समाज, देश र विश्वलाई नै सुसूचित गराइरहेको हुन्छ । स्वतन्त्र पत्रकारिताले समाजमा दैनिक रुपमा भइरहने क्रियाकलापलाई सञ्चार माध्यमबाट स्वतन्त्र ढंगले प्रकाशन प्रसारण गर्दछ र वास्तविक ज्ञान, सूचना, शिक्षा, र मनोरन्जनका साथै सचेत एवं जिम्मेवार नागरिक बनाउन प्रेरित गर्दछ । स्वतन्त्र पत्रकारिताको उद्देश्य आदर्श समाजको निर्माण हो । स्वतन्त्रता बिनाको पत्रकारिता अपांग मात्र होइन अपूर्ण हुन्छ र अधुरो हुन्छ । पत्रकारिताले समाज रुपान्तरण गर्न पर्छ । पत्रकारले आचारसंहिताको परिधिमा आफूलाई अडिग राख्न सक्नुपर्छ । पत्रकारिता गर्दा आफ्नो राजनीतिक आस्था तपाईंको लेखाइ, बोलाइ वा अन्य व्यवहारमा छचल्किन वा प्रतिविम्बित हुनु हुदैन । राजनीतिक संगठनका आडमा पत्रकारिताका सीमाहरुलाई उल्लंघन गर्नु हुदैन । पत्रकारितालाई राजनीतिको भ¥याङ चढने साधनको रुपमा प्रयोग गर्नु भएन । हामीकहाँ धेरै लेखक र पत्रकारहरु लेख–रचनामा राजनीतिक राग ओकल्छन् । पत्रकारलाई कुनै राजनीतिक दलको मौन समर्थन गर्न र गोप्य मतदानमा भाग लिन मात्रै छुट हुन्छ । तर हामी कहा त्यस्तो ब्यवहारमा देखिदैन ।


हामीकहा पत्रकारितालाई राजनीतिक आस्थासँग जोडेर स्वतन्त्र कित्तामा उभ्याउन खोजिएको छ । पत्रकार महासंघको निर्वाचनमा विजयी हुनेलाई पार्टीको नेताले संसदको चुनाव जितेजत्तिकै महत्वसाथ हेर्ने गरिएको छ । स्वतन्त्र पत्रकारहरुको योगदानलाई भन्दा पार्टीगत पत्रकारिताको योगदानलाई तिनै राजनीतिक दलका आसेपासेहरुले उच्च मूल्याङन गर्दै महत्व दिनेक्रम बढदो छ । केहि समययता राजनीतिक खोल ओढेर, व्यापारिक उद्देश्य बोकेकाहरुको निष्पक्ष पत्रकारिता हावी हुँदै गएको छ । पत्रकार साँच्चिकै पत्रकारभन्दा पनि कार्यकर्ता भएका छन् । सीमित बाहेक धेरै पत्रकार कार्यकर्ता पत्रकारको झुण्ड बन्दै गएका छन् । यसले स्वतन्त्र पत्रकारिताको मर्म र भावनालाई निस्तेज पारिदिएको छ ।


स्वतन्त्र पत्रकार भएर समाजमा बाँच्न चुनौतीपूर्ण होला ! तर पनि पत्रकारितामा लाग्नेले म पत्रकार हुंँ भनि सामाजमा स्वतन्त्र पहिचान बनाउन सक्नुपर्छ । पत्रकारले बोलिदिए हुन्थ्यो, लेखिदिए हुन्थ्यो, अन्यायबिरुद्ध लडिदिए हुन्थ्यो भन्ने अधिकार विहीनको जमातलाई अन्यायमा पार्नु हुँदैन । जो अन्यायमा परेको छ, बोल्न सक्दैन, लडन सक्दैन त्यहि वर्गको न्यायको वकालत पत्रकारले गर्न सक्नुपर्छ । त्यो वकालत राजनीतिक पूर्वाग्रह रहित हुन सक्नुपर्छ । पत्रकारले देश तथा समाज परिवर्तनका लागि निर्वाह गर्नसक्ने भूमिका बुझेर नै चौथो अंगको संज्ञा दिइएको हो । हरेक पत्रकारले स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई भुल्नु हुँदैन । तर हाम्रो पत्रकारितामा यी कुरा लागु भएको छ त ? स्वतन्त्र पत्रकार बन्न आग्रह गर्दा धेरैजसो पत्रकारले दिने उत्तर एउटै हो–विचारबिनाको पत्रकार हुन्छ ? उत्तर जायज छ, तर कुटिल छ । विचार नै नभएकाले कसरी पत्रकारिता गर्नु ? अरुका विचार लिन, त्यसमा विश्लेषण गर्न र आफ्नो विवेकलाई प्रस्तुत गर्न पो कुनै व्यक्ति पत्रकार भएको होला । तर, त्यसैलाई लिएर एउटा प्रश्न गरौं–के त्यस्तो विचार राजनीतिक भ्रातृ संगठनमा लागेपछि मात्रै प्राप्त हुने हो ? अवश्य होइन ।


अझै पनि आफैँ सम्पादक, आफैँ प्रकाशक तथा आफैँं वितरक हुने श्रमजीवी पत्रकार धेरै छन । मोफसलमा साप्ताहिक रुपमा निस्कने धेरैजसो अखबार यसै परिभाषाभित्र पर्दछन । यस्तो सञ्चार संस्थामा श्रमजीवी पत्रकारको हक–हितको कुरा सिद्धान्ततः समानुपातिक विज्ञापन पाउनुपर्ने र राज्यले दिएको सुविधामा वृद्धि गर्नुपर्ने विषयमा गएर टुंगिने गरेको छ । अर्कोतर्फ मोसफलमा रहेका कतिपय मिडिया हाउस सञ्चालन भइरहने तर श्रमजीवी पत्रकारले भने भोकभोकै काम गर्नुपर्ने अवस्था पनि रहेको छ । साना मिडिया हाउस भनिने यस्ता सञ्चार संस्थामा देखिने व्यवस्थापकीय कमजोरी, समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा देखिएको समस्या, विज्ञापनका लागि हुने अस्वस्थ प्रतिस्पर्धा, ठूला मिडियासँग गर्नुपर्ने प्रतिस्पर्धा, बजार अभावलगायतका विभिन्न कारणले गर्दा श्रमजीवी पत्रकारले तलब पाउन सकेका छैनन् ।


धेरैजसो श्रमजीवी पत्रकार दुई वा सोभन्दा बढी मिडियामा कार्यरत भेटिन्छन् । यस्ता श्रमजीवी पत्रकारले राजधानीबाट निस्कने र स्थानीय मिडियामा काम गर्छन् । अभावै अभावमा बाँच्न बाध्य श्रमजीवीलाई यही कमजोरी समातेर प्रयोग गर्ने सञ्चार गृहहरु पनि छन । पुुरस्कार, खानपिन, उपहारले पत्रकारलाई पत्रुकार अनि पत्रिकालाई मुखपत्रका रुपमा प्रयोग गरेका धेरै उदाहरण छन् । जबसम्म मोफसलमा सित्तैमा काम गरिदिने पत्रकार भेटिनेछन सिकारु सित्तैमा काम माग्दै सम्पादक वा प्रकाशक कार्यालय धाउनेछन, मिडिया हाउसको पत्रकार परिचयपत्र बोक्न लालयितको भीड छाटिदैन । मोफसलका कतिपय अखबारका सम्पादक कहिले पनि पत्रकारका रुपमा चिनिएका छैनन् । प्रकाशक र सम्पादक भएपनि पत्रिकामा लेख्दैन । अरुले पत्रकारिता गरेको देखिन्छ । त्यसैले पनि श्रमजीवी पत्रकारको हक–हितको कुरा कुरैमा सीमित हुने गरेको छ । अर्कोतर्फ मोफसलका कतिपय सञ्चार संस्थामा पत्रकारलाई पारिश्रमिक दिनुभन्दा पानी, बिजुली, टेलिफोन, इन्टरनेट र घरभाडा तिर्ने कुराले पहिलो प्राथमिकता पाउँछ । प्रस्ट छ, ऐन कानुन भएरमात्र हुँदैन कार्यान्वयन पनि हुनु आवश्यक छ ।


पत्रकारिता स्वतन्त्र पेसा हो भने यो पेसा अपनाउन चाहनेमा न्यूनतम योग्यता हुनैपर्दछ । स्वस्थ पत्रकारिता सशक्त र सुयोग्य पत्रकारबाट मात्रै सम्भव हुन्छ । पत्रकारिता आफैमा श्रद्धेय बौद्धिक पेसा हो तर आज पत्रकार भन्नासाथ नाक खुम्च्याउनुपर्ने अवस्था पत्रकारिताको धर्म नबुझेकाहरुको प्रवेशकै कारण सिर्जना भएको हो । सानो स्वार्थका लागि कसैलाई पनि धुरी चढाइदिने वा सानो रिसइबिकै कारण कसैको हुर्मतै लिने असंयम अभ्यासका कारण पत्रकारिताको गरिमामा आँच आइरहेको छ । राजनीति पत्रकारिता गर्ने उद्देश्यले स्थापित भएका पत्रपत्रिकाहरु ब्यवसायिक र स्वतन्त्र हुन नसक्दा पत्रकारिता राजनीतिक घेराभित्र रुमलिनु पनि पत्रकारिता क्षेत्रमा अर्को समस्या र चुनौती बनेको छ । यस्तै, विस २०४७ साल यता राजनिती दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको सट्टा आफू पक्षधर पार्टीको विचार प्रवाह गर्ने र वास्तविकतालाई ढाकछोप गर्ने प्रवृति पनि हाम्रो सामु रहेको छ ।


संचारमाध्यमहरु राजनीतिक दलहरुको संरक्षणमा हुर्किएको कारणले नै आज नेपाली पत्रकारिता क्षेत्र स्वतन्त्र हुन सकेको छैन । नेपाली संचार माध्यामहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारिता गर्ने अवस्था नेपाली पत्रकारिताको लागि चुनौतीको बिषय बनेको छ ।

 

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]