तेजन खड्का
उर्लाबारी । मोरङको कृषकलाई यतिबेला धानबाली काट्ने चटारोले भ्याई नभ्याई छ । लामो समयदेखि हसियाँले धान काटेर भित्र्याउने किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । कम समयमा प्रसस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले उनीहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आइरहेका छन् ।
नयाँ यान्त्रिक प्रविधि कम्बाइन हार्भेष्टरले धान भित्रयाउँदा समय, श्रम र लागतमा बचत हुने भएकाले यस तर्फ किसानहरु आकर्षित भएका हुन् । धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो ।
कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका किसानले समयमा धान भित्र्याउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको किसानहरु बताउँछन् ।
धान पाकेपछि त्यसको व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता पर्ने, धेरै समय र लागत लाग्ने तथा कृषि श्रमिकको अभावमा समयमा धान भित्र्याउन नसक्दा त्यस जमिन गहुँ लगाउनसमेत ढिलो भइ त्यसको उत्पादनमा प्रतिकूल प्रभाव पर्ने गर्दथ्यो ।
अहिले गाउँमै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको उर्लाबारी–९ बोडरलाईनका कृषक गजेन्द्र राईले बताए ।
खेतलाले तीन दिनसम्म लगाएर गर्ने काम मेसिनले एकछिनमै सकायो,’ किसान राईले भने,‘धान भित्र्याउन यसवर्ष खर्च कमै लाग्यो ।’ गाउँमा आजभोलि खेताला खोज्नपनि झन्झटिलो हुँदै गएको उनले सुनाए । काम गर्न आउँदा ज्याला बढी लाग्छ । खाना, खाजा त्यसमा रक्सी पनि खुवाउनु पर्ने बाध्यता रहेको उनले बताए । प्रविधिले किसानलाई खेती गर्न सहज बनाएको उनले सुनाए ।
‘धानको खेत तयार गर्न ट्याक्टर लगाउनुपर्छ । रोप्न मजदुर लाग्छ । त्यसपछि पानी र मल खाद्य हाल्नुपर्छ,’ उनले भने,‘काट्ने बेला फेरि मजदुर । पेल्ने बेला मेसिन । सबैठाउँमा खर्च तिर्दै जाँदा हिसाब बराबर भइहाल्छ ।’ पछिल्लो पटक खेतमै पुगेर मेसिनले काट्ने र पेल्ने काम एकै पटक गर्दा सहज भएको उनले बताए ।
यो प्रविधिबाट आधा भन्दा कम खर्चमा धान भित्र्याउन सकिन्छ । भाडामा लिएर यो मेसिनको प्रयोगले धान भित्र्याउन पाउँदा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको राईले बताए ।
‘गाउँ–गाउँमा मजदुर भेट्दैन् । सबै काम गर्ने बैदेशिक रोजगारमा गएका छन्,’ पत्रकार समेत रहेका किसान रुपेन्द्र शेर्मा भन्छन्, ‘खेती गर्न अप्ठ्यारो लागिरहेको बेला प्रविधिले साहस थपेको छ ।’ सरकारले किसानलाई मल र विउविजनमा सहुलियत गरिदिए खेती गर्न आकर्षित हुने उनको भनाइ छ । खेतबाट धान भकारी राख्दा सम्म हप्तौँ लाग्थ्यो अब प्रविधि आएपछि एकैदिनमै त्यति काम भइरहेको उनले सुनाए।
मेसिन प्रयोग गरेर धान काट्दा माडिएर खेतमा नै धान झर्छ भनेर चिन्तित भएका स्थानीय नरेन्द्र देवान एउटा धानको बालो पनि खेर नगएपछि निक्कै खुशी भए । झन्डै ४ विगाहा बढी खेतको धान ३ घण्टामा नै ‘कम्बाइन हार्भेष्टर’ मेसिनले काटेको थियो । यति छिटो धान काटेर झार्छ भन्ने कल्पना पनि थिएन–देवानले भने ।
परम्परागत तरिकाले धान भित्रयाउँदा प्रति बिघा १८ देखि २० हजार खर्च लाग्ने गरेकामा कम्वाइन हार्भेष्टर मेसिनवाट धान भित्रयाउँदा प्रति बिघा ७ हजारमात्र खर्च लाग्ने गरेका छन् ।
हातले धान काट्दा, मुठा पार्दा, उठाउँदा र झार्दा मेसिनभन्दा दोब्बरसम्म खर्च हुने भएकाले यसको प्रयोग पछिल्लो समयमा किसानहरुले गर्न थालेको उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानली बताए । अहिले उर्लाबारी र आसपासको क्षेत्रमा दैनिक जसो कम्बाइन हार्भेष्टरको प्रयोग भइरहेको उनले जानकारी दिए ।
कम्बाइन हार्भेष्टरले गहु काट्ने र दाउनी पनि गर्ने गर्छ । स्थानीय सरकारले कम्बाइन हार्भेष्टरमा अनुदान नदिए पनि धान काट्नका लागि रिपर भने दिँदै आएको छ । रिपरभन्दा कैयौ गुना हार्बेष्टर लाभदायक र छिटो छरितो हुने बताइन्छ ।
साना तथा आली धुर धेरै भएकोले मेसिन प्रयोग गर्न असुविधा भएको किसानको भनाइ छ । खेतका गरा ठूला बनाउँदा अहिले लागेको खर्च पनि कम हुने रहेछ–स्थानीय कृषक बिजय आङ्गबुहाङले भने । समयको बचत र लागत खर्च कम गर्नका लागि यो उपयुक्त देखिएको किसानहरुको भनाइ छ ।
पछिल्लो समयमा तराईका जिल्लाहरुमा कम्वाइन हार्भेष्टर मेसिन बहुउपयोगी भएपछि यसप्रति कृषकको आकषर्ण बढ्दै गएको कृषि कार्यालाय मोरङले जनाएको छ । अहिले मोरङ सहित विभिन्न जिल्लामा ३५ वटाभन्दा बढी कम्वाइन हार्भेष्टर मेसिनको प्रयोग हुने गरेको अनुमान कृषि कार्यालायले गरेको छ ।