नेपालमा राजनीतिक स्थायित्व

  • भदौ ७, २०८१ / नेपाल रेखा
alt

कुनै पनि देशको सम्वृद्धि त्यहाँको राजनीतिक स्थायित्वमा भर पर्दछ । राज्य व्यवस्थामा बारंबार उथलपुथल भइरहने, मानिसहरु हिंसात्मक आन्दोलनमा उत्रिरहनु पर्ने अवस्था भएमा त्यो देशको विकास र उन्नति कल्पनासम्म पनि गर्न सकिंदैन । अझ भन्ने हो भने त्यहाँका भैतिक संरचना नष्ट भइरहने, ब्यापक धनजनको क्षति भइरहने, ब्यापक जनसमुदाय डर त्रास र आतंकको वातावरणमा रहिरहनु पर्ने अवस्था आउँछ । यसले त त्यहाँ उन्नति भन्दा अवन्नति र विकास भन्दा बिनास गराइरहन्छ । त्यस कारण मानव जातिको सुख, शान्ति र समृद्धिको लागि स्थायित्व र शान्ति अपरिहार्य छ । अनि मात्र त्यहाँको राष्ट्रिय एकताको भावना सुद्धढ हुन्छ । अब वास्तवमा राज्नीतिक स्थायित्व कस्तो हुनुपर्छ त कसरी प्राप्त हुन्छ त ? अब हाम्रो देशमा पनि राणा शासन, पञ्चायत शासन, २०४६ सालदेखि २०६२ सालसम्मको बहुदलीय शासन व्यवस्था राजानीतिक स्थायित्वको कालखण्ड थियो त ? पक्कै थिएन । किन भने राजनीतिक स्थायित्वको लागि सबै जनता जागरुक र चेतन शिल हुनुपर्छ; आफ्नो हकहित र भलाइको लागि बुलन्द आवाज उठाउन सक्नु पर्छ; एउटा प्वाल भित्र थिचिएर, मिचिएर, शोषित पीडित भएर रहि देशमा एउटा सुनशान सन्नाटाको वातावरण भई केही मानिसले राज्य व्यवस्थामा मनपरीतन्त्र गर्न पाउनु राजनीतिक स्थायित्व होइन । यो त एउटा विशाल हुरी बतास आउनुभन्दा अगाडिको सुनसान अवस्था मात्र हो । नागरिकहरु चेतनशील भएर राज्य व्यवस्थाको हरेक अंगमा संलग्न नभइ त्यहाँ केवल बल र धम्कीको भरमा शासन व्यवस्था चल्नु राजनीतिक स्थायित्व होइन । यो त झन एउटा खतरनाक अवस्थाको संकेत मात्र हो ।
त्यसकारण हालसम्म हाम्रो देशमा पूर्णतया राजनीतिक स्थायित्व प्राप्त भएको छैन । त्यो अवस्था प्राप्त हुने वातावरण बनेको छैन । २०६२–०६३ को जन आन्दोलनपछि नागरिकलाई केहि राजनीतिक अधिकार प्राप्त भयो । देशमा कानुनभन्दा माथि कोहि भएन । देशका कुन काप्चामा बसेका नागरिकले आफ्नो असन्तुष्टी ब्यक्त गर्न पाए । सडकदेखि सदनसम्म आफ्ना आवाज राख्न पाए । त्यो एउटा सकारात्मक कुरा थियो । यो केवल कुलिन घरानीया नेपाली र उच्च मध्यम वर्गीय नेपालीको लागि मात्र राज्यका अंगमा सरीक हुने सुनौलो अवसर थियो । तर यहाँका गरिब, किसान, मजदुर र सर्वहारा वर्गका मानिसका लागि हात्ती आयो फुस्सा मात्रै थियो । नेताको दया माया र कृपा प्राप्त केही मानिसले ठाउँ पाए पनि व्यापक नेपाली जनतालाई यसले केहि दिएन । गरिवी महँगी असुरक्षा र रोदन क्रन्दन मात्र दियो । यसकारण आर्थिक समानता बिनाको राजनीतिक स्वतन्त्रता केही हुने खाने, धनी र चलाख मानिसको लागि मात्र भयो; व्यापक नेपाली जनसमुदायको लागि अर्थहिन भयो । ल भन्नुहोस् न नेपालको कुन आर्थिक क्षेत्रमा, कुन उत्पादनका साधनको क्षेत्रमा पुनरसंरचना भएर कति निरपेक्ष गरीवीको रेखामुनी भएका मानिसले त्यसको लाभ लिन पाए ? भनियो केवल राजनीतिक पुनरसंरचना; प्रदेश र जिल्लाको सिमाना र नाम हेरफेर भयो । बास यही हो आर्थिक समानता सहितको राजनीतिक समानताको नेपाल ? यसबाट देशमा राजनीतिक स्थायित्व कायम हुन सक्छ ? अनि आजका भोका नाङ्गा नेपाली बिदेशी भूमिमा गएर रगत र पसिना कहिलेसम्म बगाउने ? आफू बेचिएर, आफ्नो अस्तित्व समाप्त गरेर । विदेश सुरक्षित छ ? यूरोप र अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपाली भोली भुटानमा जस्तो अल्पसंख्यकमा परेर विस्थापित हुनु पर्ने अवस्था आउन सक्छ ? अनि बिदेशमा चाहि के महको खोला बग्ने, डलर सधै फल्ने हो र ? त्यहाँ पनि उत्पादनका साधन सिमित हुँदै छन् । त्यहाँ पनि आप्रवासीको चाप बढ्दो छ । अहिलेको यहाँको अवस्था भोलि त्यहाँ पनि आउछ । यो प्रकृया त कुनै समस्या समाधानको उपाय होइन क्षणिक मात्र हो ।
बौद्धिक महानुभावले तलका केहि समस्याको समाधान मनन् गर्न अनुरोध गर्दछु ः–
१) हाम्रा पहाडी भेगका उर्बरशील जमिनका फाँट उजाड छन्, बाँझै छन् । यहाँ मानिस कुपोषणले मरिरहेका छन् । यसको जिम्मेवार को ?
२) हाम्रा तराईका ग्रमीण क्षेत्रका खेति योग्य जमिनले उचित श्रम पाएका छैनन्, त्यहाँ श्रम गर्ने जनसंख्या पर्याप्त छैन, यसको जिम्मेवार को ?
३) शहरमा मानिस दिनभर कोठामा टोलाएर बस्छन्, २५ प्रतिशत जनसंख्या डिप्रेसन भएर मानसिक रोगको शिकार भएका छन्; व्यायमशाला र बाटोघाटो मर्निङ वाकमा भिडभाड हुन्छ; तर आफ्नो खेतिपाति जग्गा जमिन त्यसै छोडेर विलासी जिवन बिताउन मानिसहरु चाहन्छन् । सागसब्जी, अनाज, फलफुलको उत्पादन गर्दैनन् । एउटा कल्पनाको महल खडा गरेर दुःखदायी जिवन बिताएर बस्छन् । यसको जिम्मेवार को ?
४) जनसंख्या अत्याधिक बढेको छ । गरीवी र समस्याले पीडित समुदायमा अरु खाने मुख थपिदा कस्ले खानदिने ? यसको जिम्मेवार को ? तपाई हामी आज मसंग छ भनेर सुरक्षित अनुभव गरेपनि भोलि कोही सुरक्षित छैनन् ।
५) देशमा खाने लाउने र अन्य आर्थिक तनावको कारणले हत्या हिंसा र आतंक बढेको छ समाज असुरक्षित छ । यसको जिम्मेवार को ?
६) वनजंगल फाँडेर उजाड छ वातावरण नस्ट भएको छ; प्राकृतिक प्रकोप बढिरहेको छ । अव्यवस्थित र रोगीपूर्ण सहरी करण भएको छ । समुदायमा रासायनिक र ध्वनी प्रदूषणजस्ता समस्या बढिरहेका छनन् । यस्को जिम्मेवार को ?
७) शारीरिक श्रम गर्न लजाउने निम्न पुँजीबादी सोचको हावी छ; यसको जिम्मेवार को ?
८) समाज र जनसमुदायको हितलाई ध्यानमा नराखी जुनसुकै कुकर्म गरेर ठूलो धन राशी जम्मा गर्ने उग्र पूँजीवादी सोचको प्रधानता छ । के यसले नेपाली समाजमा सुख संमृद्धि ल्याउछ ? यसको जिम्मेवार को ?
९) हाम्रा बिद्यालय कक्षा कोठा र बिश्वविद्यालयमा हामीले तिरेको राजस्व खर्च गर्दै बिद्यार्थी भाइबैनीले लिएको ज्ञान कतिको जीवनउपयोगी र व्यबहारिक छ ? कि फजुल समय र पैसाको बर्बादी मात्र हो ? उत्पादनशील र स्वावलम्वी बनाउन नसक्ने शिक्षाको के काम ? अनि अत्यन्त कठिन बिषय अध्ययन गरेका (क्वान्टम फिजिक्स, न्युक्लियर फिजिक्स) जीवनको महत्व पूर्ण समय खर्चेका हाम्रा सम्मानित भाइबैनीले आफुले लिएको शिक्षाको देशमा के उपादेयता छ ? केवल घोक्ने र घोकाउने मात्रै ? यसको जिम्मेवार को ?
यी माथि उठेका सवाललाई कसले समाधान गर्ने ? स्पस्ट रुपमा वर्तमान राज्य व्यवस्थाले गर्ने हो । अनि राज्य व्यवस्थाको बागडोर लिएर बसेका मानिसमा यो समस्या समाधान गर्ने क्षमता छ ? देशमा घुसखोरी, भ्रष्टाचार अतियमितता र कुशासनलाई, बढवा दिने, जनतामा उठेका भ्रष्टाचार बिरोधी सवाललाई महत्व नदिने; दमन गर्ने यो राज्य व्यवस्थाले राजनीतिक स्थायित्व कायम गर्ला भन्ने आस राखिन्छ त ? पक्कै आश गर्न सकिंदैन । यो एउटा जिम्मेवारीबिहिन अराजक राज्य व्यवस्था हो । पद र शक्तिको लुछाचँुडी हुन्छ, तर सामाजिक अव्यवस्थालाई कुसल ढंगले व्यवस्थापन गर्ने कुरामा कुनै सोच राख्दैनन्; त्यस दिशामा कुनै कार्य छैन । अनि भोलिको संवृद्ध नेपाल कसरी कल्पना गर्न सकिन्छ यसको लागि ३ वटा उत्तम बिकल्पहरु प्रस्तुत गर्न चाहान्छु ः–
१) देशका वामपन्थी गैर वामपन्थी दल पदको लागि होइन कमकोेलागि एक जुट भएर राष्ट्रिय एकतालाई कायम राखेर समयमै समस्या हल गर्ने ।
२) गैर वामपन्थी दलमा भएको उग्रपुँजिवाद र ब्यक्तीवादको कारणले उनीहरु सहमतमा नआए बामपन्थी कम्युनिस्टहरुको बिच सच्चा एकता कायम गरि चुनाबको माध्यमबाट पुँजिवादलाई परास्त गरि देशमा आर्थिक समानता र संबृद्धि कयम गरि समाजबादी अर्थ ब्यवस्थाको निर्माणमा अगाडि बढ्ने ।
३) यी माथिको दुबै बिकल्प सम्भव नभए देश जनविद्रोहको अवस्थामा जानसक्छ । जनताले एउटा गौरवपूर्ण क्रान्तिको माध्यमबाट आफ्नो समस्या समाधान गर्न सक्छन् । जुन बाटो निक्कै नै कष्टकर तर दिगो राजनैतिक शान्ति र मुक्तिको बाटो हुनेछ । यिनै हुन हाम्रो नेपाली मोडेलको राजनीतिक स्थायित्वको मार्ग चित्र ।

पाथीभरा क्षेत्रमा रह ...

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन् ...

महिला सक्रियता ...

गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा निरन्तरक ...

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]