कुनै पनि देशको सम्वृद्धि त्यहाँको राजनीतिक स्थायित्वमा भर पर्दछ । राज्य व्यवस्थामा बारंबार उथलपुथल भइरहने, मानिसहरु हिंसात्मक आन्दोलनमा उत्रिरहनु पर्ने अवस्था भएमा त्यो देशको विकास र उन्नति कल्पनासम्म पनि गर्न सकिंदैन । अझ भन्ने हो भने त्यहाँका भैतिक संरचना नष्ट भइरहने, ब्यापक धनजनको क्षति भइरहने, ब्यापक जनसमुदाय डर त्रास र आतंकको वातावरणमा रहिरहनु पर्ने अवस्था आउँछ । यसले त त्यहाँ उन्नति भन्दा अवन्नति र विकास भन्दा बिनास गराइरहन्छ । त्यस कारण मानव जातिको सुख, शान्ति र समृद्धिको लागि स्थायित्व र शान्ति अपरिहार्य छ । अनि मात्र त्यहाँको राष्ट्रिय एकताको भावना सुद्धढ हुन्छ । अब वास्तवमा राज्नीतिक स्थायित्व कस्तो हुनुपर्छ त कसरी प्राप्त हुन्छ त ? अब हाम्रो देशमा पनि राणा शासन, पञ्चायत शासन, २०४६ सालदेखि २०६२ सालसम्मको बहुदलीय शासन व्यवस्था राजानीतिक स्थायित्वको कालखण्ड थियो त ? पक्कै थिएन । किन भने राजनीतिक स्थायित्वको लागि सबै जनता जागरुक र चेतन शिल हुनुपर्छ; आफ्नो हकहित र भलाइको लागि बुलन्द आवाज उठाउन सक्नु पर्छ; एउटा प्वाल भित्र थिचिएर, मिचिएर, शोषित पीडित भएर रहि देशमा एउटा सुनशान सन्नाटाको वातावरण भई केही मानिसले राज्य व्यवस्थामा मनपरीतन्त्र गर्न पाउनु राजनीतिक स्थायित्व होइन । यो त एउटा विशाल हुरी बतास आउनुभन्दा अगाडिको सुनसान अवस्था मात्र हो । नागरिकहरु चेतनशील भएर राज्य व्यवस्थाको हरेक अंगमा संलग्न नभइ त्यहाँ केवल बल र धम्कीको भरमा शासन व्यवस्था चल्नु राजनीतिक स्थायित्व होइन । यो त झन एउटा खतरनाक अवस्थाको संकेत मात्र हो ।
त्यसकारण हालसम्म हाम्रो देशमा पूर्णतया राजनीतिक स्थायित्व प्राप्त भएको छैन । त्यो अवस्था प्राप्त हुने वातावरण बनेको छैन । २०६२–०६३ को जन आन्दोलनपछि नागरिकलाई केहि राजनीतिक अधिकार प्राप्त भयो । देशमा कानुनभन्दा माथि कोहि भएन । देशका कुन काप्चामा बसेका नागरिकले आफ्नो असन्तुष्टी ब्यक्त गर्न पाए । सडकदेखि सदनसम्म आफ्ना आवाज राख्न पाए । त्यो एउटा सकारात्मक कुरा थियो । यो केवल कुलिन घरानीया नेपाली र उच्च मध्यम वर्गीय नेपालीको लागि मात्र राज्यका अंगमा सरीक हुने सुनौलो अवसर थियो । तर यहाँका गरिब, किसान, मजदुर र सर्वहारा वर्गका मानिसका लागि हात्ती आयो फुस्सा मात्रै थियो । नेताको दया माया र कृपा प्राप्त केही मानिसले ठाउँ पाए पनि व्यापक नेपाली जनतालाई यसले केहि दिएन । गरिवी महँगी असुरक्षा र रोदन क्रन्दन मात्र दियो । यसकारण आर्थिक समानता बिनाको राजनीतिक स्वतन्त्रता केही हुने खाने, धनी र चलाख मानिसको लागि मात्र भयो; व्यापक नेपाली जनसमुदायको लागि अर्थहिन भयो । ल भन्नुहोस् न नेपालको कुन आर्थिक क्षेत्रमा, कुन उत्पादनका साधनको क्षेत्रमा पुनरसंरचना भएर कति निरपेक्ष गरीवीको रेखामुनी भएका मानिसले त्यसको लाभ लिन पाए ? भनियो केवल राजनीतिक पुनरसंरचना; प्रदेश र जिल्लाको सिमाना र नाम हेरफेर भयो । बास यही हो आर्थिक समानता सहितको राजनीतिक समानताको नेपाल ? यसबाट देशमा राजनीतिक स्थायित्व कायम हुन सक्छ ? अनि आजका भोका नाङ्गा नेपाली बिदेशी भूमिमा गएर रगत र पसिना कहिलेसम्म बगाउने ? आफू बेचिएर, आफ्नो अस्तित्व समाप्त गरेर । विदेश सुरक्षित छ ? यूरोप र अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपाली भोली भुटानमा जस्तो अल्पसंख्यकमा परेर विस्थापित हुनु पर्ने अवस्था आउन सक्छ ? अनि बिदेशमा चाहि के महको खोला बग्ने, डलर सधै फल्ने हो र ? त्यहाँ पनि उत्पादनका साधन सिमित हुँदै छन् । त्यहाँ पनि आप्रवासीको चाप बढ्दो छ । अहिलेको यहाँको अवस्था भोलि त्यहाँ पनि आउछ । यो प्रकृया त कुनै समस्या समाधानको उपाय होइन क्षणिक मात्र हो ।
बौद्धिक महानुभावले तलका केहि समस्याको समाधान मनन् गर्न अनुरोध गर्दछु ः–
१) हाम्रा पहाडी भेगका उर्बरशील जमिनका फाँट उजाड छन्, बाँझै छन् । यहाँ मानिस कुपोषणले मरिरहेका छन् । यसको जिम्मेवार को ?
२) हाम्रा तराईका ग्रमीण क्षेत्रका खेति योग्य जमिनले उचित श्रम पाएका छैनन्, त्यहाँ श्रम गर्ने जनसंख्या पर्याप्त छैन, यसको जिम्मेवार को ?
३) शहरमा मानिस दिनभर कोठामा टोलाएर बस्छन्, २५ प्रतिशत जनसंख्या डिप्रेसन भएर मानसिक रोगको शिकार भएका छन्; व्यायमशाला र बाटोघाटो मर्निङ वाकमा भिडभाड हुन्छ; तर आफ्नो खेतिपाति जग्गा जमिन त्यसै छोडेर विलासी जिवन बिताउन मानिसहरु चाहन्छन् । सागसब्जी, अनाज, फलफुलको उत्पादन गर्दैनन् । एउटा कल्पनाको महल खडा गरेर दुःखदायी जिवन बिताएर बस्छन् । यसको जिम्मेवार को ?
४) जनसंख्या अत्याधिक बढेको छ । गरीवी र समस्याले पीडित समुदायमा अरु खाने मुख थपिदा कस्ले खानदिने ? यसको जिम्मेवार को ? तपाई हामी आज मसंग छ भनेर सुरक्षित अनुभव गरेपनि भोलि कोही सुरक्षित छैनन् ।
५) देशमा खाने लाउने र अन्य आर्थिक तनावको कारणले हत्या हिंसा र आतंक बढेको छ समाज असुरक्षित छ । यसको जिम्मेवार को ?
६) वनजंगल फाँडेर उजाड छ वातावरण नस्ट भएको छ; प्राकृतिक प्रकोप बढिरहेको छ । अव्यवस्थित र रोगीपूर्ण सहरी करण भएको छ । समुदायमा रासायनिक र ध्वनी प्रदूषणजस्ता समस्या बढिरहेका छनन् । यस्को जिम्मेवार को ?
७) शारीरिक श्रम गर्न लजाउने निम्न पुँजीबादी सोचको हावी छ; यसको जिम्मेवार को ?
८) समाज र जनसमुदायको हितलाई ध्यानमा नराखी जुनसुकै कुकर्म गरेर ठूलो धन राशी जम्मा गर्ने उग्र पूँजीवादी सोचको प्रधानता छ । के यसले नेपाली समाजमा सुख संमृद्धि ल्याउछ ? यसको जिम्मेवार को ?
९) हाम्रा बिद्यालय कक्षा कोठा र बिश्वविद्यालयमा हामीले तिरेको राजस्व खर्च गर्दै बिद्यार्थी भाइबैनीले लिएको ज्ञान कतिको जीवनउपयोगी र व्यबहारिक छ ? कि फजुल समय र पैसाको बर्बादी मात्र हो ? उत्पादनशील र स्वावलम्वी बनाउन नसक्ने शिक्षाको के काम ? अनि अत्यन्त कठिन बिषय अध्ययन गरेका (क्वान्टम फिजिक्स, न्युक्लियर फिजिक्स) जीवनको महत्व पूर्ण समय खर्चेका हाम्रा सम्मानित भाइबैनीले आफुले लिएको शिक्षाको देशमा के उपादेयता छ ? केवल घोक्ने र घोकाउने मात्रै ? यसको जिम्मेवार को ?
यी माथि उठेका सवाललाई कसले समाधान गर्ने ? स्पस्ट रुपमा वर्तमान राज्य व्यवस्थाले गर्ने हो । अनि राज्य व्यवस्थाको बागडोर लिएर बसेका मानिसमा यो समस्या समाधान गर्ने क्षमता छ ? देशमा घुसखोरी, भ्रष्टाचार अतियमितता र कुशासनलाई, बढवा दिने, जनतामा उठेका भ्रष्टाचार बिरोधी सवाललाई महत्व नदिने; दमन गर्ने यो राज्य व्यवस्थाले राजनीतिक स्थायित्व कायम गर्ला भन्ने आस राखिन्छ त ? पक्कै आश गर्न सकिंदैन । यो एउटा जिम्मेवारीबिहिन अराजक राज्य व्यवस्था हो । पद र शक्तिको लुछाचँुडी हुन्छ, तर सामाजिक अव्यवस्थालाई कुसल ढंगले व्यवस्थापन गर्ने कुरामा कुनै सोच राख्दैनन्; त्यस दिशामा कुनै कार्य छैन । अनि भोलिको संवृद्ध नेपाल कसरी कल्पना गर्न सकिन्छ यसको लागि ३ वटा उत्तम बिकल्पहरु प्रस्तुत गर्न चाहान्छु ः–
१) देशका वामपन्थी गैर वामपन्थी दल पदको लागि होइन कमकोेलागि एक जुट भएर राष्ट्रिय एकतालाई कायम राखेर समयमै समस्या हल गर्ने ।
२) गैर वामपन्थी दलमा भएको उग्रपुँजिवाद र ब्यक्तीवादको कारणले उनीहरु सहमतमा नआए बामपन्थी कम्युनिस्टहरुको बिच सच्चा एकता कायम गरि चुनाबको माध्यमबाट पुँजिवादलाई परास्त गरि देशमा आर्थिक समानता र संबृद्धि कयम गरि समाजबादी अर्थ ब्यवस्थाको निर्माणमा अगाडि बढ्ने ।
३) यी माथिको दुबै बिकल्प सम्भव नभए देश जनविद्रोहको अवस्थामा जानसक्छ । जनताले एउटा गौरवपूर्ण क्रान्तिको माध्यमबाट आफ्नो समस्या समाधान गर्न सक्छन् । जुन बाटो निक्कै नै कष्टकर तर दिगो राजनैतिक शान्ति र मुक्तिको बाटो हुनेछ । यिनै हुन हाम्रो नेपाली मोडेलको राजनीतिक स्थायित्वको मार्ग चित्र ।