पति–पत्नीको दायित्व र दाम्पत्य जीवनसँग जोडिएको वैकल्पिक प्रश्न

  • कार्तिक ३०, २०८० / नेपाल रेखा
alt

‘स्त्री र पुरुषका बीचमा पति–पत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्य’ भनी नेपाली बृहत् शब्दकोशमा विवाह शब्दको परिभाषा गरिएको छ । नेपाली जनबोलीमा ‘बिहे’ पनि भनिने विवाह शब्दमा कार्मिक, वैधानिक, सामाजिक र आध्यात्मिक रूपमा दुई शरीरमात्र होइन, दुई आत्माको मिलन भन्ने अर्थ निहित छ । तर समयक्रममा विवाह शब्दको गरिमालाई विकृत बनाइएका थुप्रै उदाहरण छन् ।

नेपाली समाजमा सात दशकअघिसम्म छ–सात वर्षमै विवाह गर्ने चलन थियो । छोरीहरू महिनावारी हुनुअघि नै कन्यादान दिनुपर्छ भन्ने सनातनी हिन्दुहरूको मान्यता थियो । मुस्लिम समुदायमा पनि सानो उमेरमा विवाह गर्ने प्रचलन थियो । अझ तराई–मधेसको सीमान्तकृत मरिक (डोम) समुदायमा त दुई दशकअघिसम्म बालविवाह प्रथा कायमै थियो । सानोमा विवाह गर्न नसकिए उमेर बढेका छोरीका लागि उपयुक्त कुमार केटा पाउन सकिँदैन भन्ने धारणाले सो समुदायका अभिभावकले कानुनको आँखा छलेर भए पनि बालक छोराछोरीको विवाह गरिदिन्थे ।

शिक्षा, चेतना र कानुन पालनामा अभिवृद्धि भएसँगै हिजोआज बालविवाह गर्ने चलन लगभग शून्य छ । हिजोआज छोरा–छोरीलाई पहिले शिक्षित बनाउनु पर्छ, आफ्नो खुट्टामा उभिन सक्ने (आत्मनिर्भर) भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने मान्यता विकसित हुँदो छ । तथापि किशोर–किशोरीले आफूखुसी भागीविवाह गर्ने गरेका एकादुई घटना हुनेगरेकै छन् ।

शारीरिक विकास–क्रममा १३ वर्षदेखि १९ वर्ष चञ्चलता (उच्छृङ्खलपन) बढी हुने उमेर हो । यो उमेरमा आफूले गरेको कामको नतिजा सुरुमै थाहा नहुने वा थाहा भए पनि पछि जे होला देखाजाला भन्ने हेपाहा प्रवृत्ति हुने भएका कारण किशोरकिशोरीहरू प्रेम सम्बन्धमा फस्ने गर्छन् ।

व्यक्तिमा १२–१३ वर्षपछि यौन–अङ्गहरू विकसित हुँदै प्राकृतिक रूपमा यौन जिज्ञासा र इच्छा जागृत हुन थाल्छ । त्यसबेला ‘प्रेम’ आवरणमा हुने विपरीत–लिङ्गीप्रतिको आकर्षण अन्धो हुन्छ । भनिन्छ युवक–युवती प्रेममा परेपछि उनीहरूका लागि प्रेमीभन्दा ठूलो, राम्रो, जानकार र विश्वासिलो अर्को हुँदैन ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७० उपदफा (१) को (घ)मा विवाह गर्नका लागि केटा र केटीको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ भनिएको छ । कसैले २० वर्षभन्दा कम उमेरमा विवाह गरे–गराए सजायको भागीदार हुनुपर्छ । अभिभावकले छोरा–छोरीको बालविवाह गरिदिएमा वा कुनै युवक–युवतीले आपूmखुसी विवाह गरेमा प्रचलित नेपाल कानुनअनुसार दण्डित हुनुपर्छ ।

अपवादबाहेक १३÷१४ वर्षका किशोरीमा महिनावारी सुरु भइसक्छ । स्त्रीहरू महिनावारी भएपछि प्राकृतिक सङ्केतअनुसार विवाह (यौनसम्पर्क) योग्य मानिन्छन् । किशोरा उमेरमा अधिकतर स्त्री पुरुषतर्फ र पुरुष स्त्रीतर्फ अर्थात् विपरीतलिङ्गीप्रति आकर्षित हुने गर्छन् । जसले अध्ययनलाई प्राथमिकता दिन्छन्, उनीहरू प्रेम, यौन–आकर्षण वा त्यसखालका गतिविधिमा खासै चासो राख्दैनन् । जो अध्ययनभन्दा बढी फेसन वा शृङ्गारमा ध्यान दिन्छन्, आवरण सजाउने होडबाजीमा रहन्छन् तिनको विवाह समयमै गरिदिनु उत्तम हुन्छ । तर नेपालको कानुनले विवाहको उमेर २० वर्ष तोकेकाले त्यतिञ्जेल पर्खिन छोरा–छोरीलाई सम्झाउनुको विकल्प अभिभावकसँग हुन्न ।

२० वर्ष नाघेपछि युवक–युवतीमा आत्मनिर्भर हुनुपर्छ भन्ने सोचको विकास हुन्छ । परिश्रमी र परिस्थितिलाई बुभ्mने स्वभावका युवक–युवती केही काम गर्ने र आफ्नो कमाइ खाने सोचका हुन्छन् । यथार्थको धरातलमा उभिनसक्ने युवक–युवती पारिवारिक (दाम्पत्य) जीवन राम्रोसँग धान्न सक्ने हुन्छन् । काममा रुचि नराख्ने, घरको काम गर्दा सानो भइन्छ भन्ने सोच राख्ने, लवाइ–खुवाइमा अरूलाई जित्नैपर्ने सोच भएका युवक–युवतीको दाम्पत्य जीवन खासै सफल भएको पाइँदैन ।

म पढे–लेखेको, धनी वा उच्च पदवाला बाउआमाको छोरा–छोरी हुँ भन्ने सोच, अहम् भएका युवक–युवतीसँग विवाह गर्दा पारिवारिक जीवन जोखिमपूर्ण र दिक्दारीयुक्त हुनसक्छ । जतिसुकै सम्पत्ति भए पनि पति–पत्नीको शृृङ्गार, पहिरन र देखावटीपनमा अधिक खर्च हुने भएकाले त्यसै बिन्दुबाट समस्या सुरु हुन्छ । सान, मान, अहमका कारण धनाढ्य परिवार पनि बर्बाद (कङ्गाल) भएका अनेक उदाहरण छन् । सम्पत्ति, बल, रूप र पदको रापताप सकिन समय लाग्दैन ।

पढाइ र पद प्राप्तिको अहम्ले थुप्रै परिवार विखण्डित भएका छन्, दाम्पत्य सुख–शान्ति हराएको छ । पढाइ, ज्ञान–सिप त जीवन निर्वाहका लागि आवश्यक आय आर्जनको काम गर्न सजिलोका लागि हो, न कि पारिवारिक सुख–शान्तिमा बन्चरो हान्नका लागि । कतिपयले आपूm धेरै पढे–लेखेको, सहरमा बसेको, खानदानको छोरा–छोरी भन्ने नाममा सम्पत्ति स्वाहा पारेका छन् । तर जतिसुकै पढाइ, पद, पहुँच भए पनि मानिस सामाजिक प्राणी हो, समाजमा सबैसँग घुलमिल हुनुपर्छ, अप्ठ्यारो परिस्थितिलाई धान्न सक्नुपर्छ अन्यथा जीवन कष्टकर हुन्छ । समझदार, परिश्रमी र इमानदार व्यक्तिलाई परिवार चलाउन, पारिवारिक सुख–शान्ति कायम राख्न समस्या पर्दैन ।

मुलुकी देवानी संहिता २०७४ को दफा ८६ मा पति–पत्नीको सम्बन्ध र दायित्वबारे उल्लेख छ । सो दफाको उपदफा १ मा पति र पत्नीबीच आपसी प्रेम र सद्भाव हुनुपर्ने र उपदफा २ मा आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नुपर्ने भनिएको छ । उपदफा ३ मा पति र पत्नीले एक–अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्ने दायित्व स्मरण गराइएको छ ।

देवानी संहिताको दफा ९० मा सहमतिमा घर–व्यवहार चलाउन ध्यानाकर्षण गराइएको छ । सो दफाको उपदफा १ मा एकासगोलका पति र पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियतअनुरूप आपसी सहमतिको आधारमा घर–व्यवहार चलाउनु पर्छ भनी प्रष्ट लेखिएको छ । उपदफा २ मा पति–पत्नीका नाममा रहेको सम्पत्ति बिक्री तथा अन्य तवरले हस्तान्तरण गर्दा एक–अर्काको मन्जुरी लिनुपर्ने उल्लेख छ । कानुनमा भएको व्यवस्थाले पति–पत्नीबीच आपसमा सहमति, सहकार्य, सद्भाव, सम्मान हुनुपर्ने इङ्गित गरेको छ ।

कतिपय केटा–केटीले स्वर्णिम सपना सजाउँदै प्रेमविवाह गरेका हुन्छन् तर घर–व्यवहारमा अर्थात् कल्पनाबाट यथार्थको धरातलमा आएपछि भने के–के कुरामा मत मिल्दैन र आपसमा फाटो आउँछ । यो विग्रहको कारण मूलतः एकले अर्काको अवस्था नबुझेर हो । जस्तोसुकै परिस्थिति आए पनि मिलेर सहन एवम् समस्या समाधान गर्ने सोच भयो भने पति–पत्नीबीच वैमन्यस्य, कलहले ठाउँ पाउँदैन ।

आपसमा कुनै शङ्का उत्पन्न भए ‘न्याउरी मारी पछुतो’ शीर्षकको लोककथा सम्झना र मनन गर्दा परिवारिक आदर्श बचाइराख्न मद्दत पुग्छ । पति–पत्नीलाई एक रथका दुई पाङ्ग्राको उपमा पनि दिइएको छ । रथ राम्ररी चल्न दुवै पाङ्ग्रा बराबर, बलियो हुनुपर्छ । पति–पत्नी दुवैले आपसी दायित्व बुझेर काम गरे पारिवारिक रथ दुर्घटनारहित तरिकाले अघि बढ्छ ।

प्रेमविवाह होस् वा मागीविवाह, पति–पत्नी दुवैले एक–अर्काबीच विश्वासको वातावरण हुनुपर्छ । कसैले केही नकारात्मक कुरा सुनाए आपूmले त्यसको सत्यता परीक्षण गर्नुपर्छ । कागले कान लग्यो भनेको सुन्नासाथ कागको पछि दगुर्ने होइन, पहिले आफ्नो कान छाम्नुपर्छ भन्ने भनाइ नै छ । विशेष परिस्थितिबाहेक कतिपय पति–पत्नी आवश्यकताभन्दा बढी शङ्कालु हुन्छन् । अनावश्यक शङ्का पति–पत्नीको सम्बन्धमा चिसोपना बढाउने, फाटो ल्याउने कारण बन्छ । पति–पत्नी बीचमा सानातिना भनाभन हुनसक्छन्, जसलाई एकअर्काले पचाउन सक्नुपर्छ । कहिलेकाहीँ बाहिरका मानिसले भनेको त सहनुपर्छ भने पति–पत्नी बीचको भनाभन, मनमुटावलाई छताछुल्ल पार्नु हुँदैन ।

कतिपय महिला घरका मानिस (खासगरी पति)का खराब बानी तथा सानातिना कुरा माइतीमा सुनाउने गर्छन् । सामान्यजस्तो लाग्ने यस्तो व्यवहारले कालान्तरमा ठूलो रूप लिनसक्छ, जसले पति–पत्नीबीच चिसोपन बढ्ने वातावरण सिर्जना हुन्छ । पति–पत्नीलाई अर्धाङ्ग (आधा शरीर) पनि भनिन्छ । पति–पत्नीको शरीरदेखि व्यवहार, सम्पत्तिमा आधा हक हुने गर्छ । यससँग जोडिएको अधिकार र दायित्वलाई पति–पत्नीले राम्रोसँग बुझ्न आवश्यक छ ।

विवाहपछि पति–पत्नी बिरामी हुन सक्छन्, कुनै ठुलो समस्या आउन सक्छ । तर त्यसमा धैर्य, आपसमा सहयोगी भावना र प्रेम रह्यो भने दाम्पत्य जीवन सफल हुनेछ । बिरामी भयो भनेर पतिले पत्नीलाई छाडिदिनु, पत्नीले पतिलाई छाडिदिनु अपराधसरह हुनेछ ।

अधिकतर महिलाहरू विवाहपछि पतिलाई आफ्नो ‘नियन्त्रण’मा राख्न चाहन्छन् । अपवादबाहेक पुरुषहरूले स्वीकार गर्नुपर्ने हुन्छ । कतिपय महिलाले विवाह गरेपछि पतिका खराब बानी (चुरोट, मादक पदार्थ खाने, खराब सङ्गतमा लाग्ने, झगडा गर्ने आदि) छुटाएको पाइन्छ । पतिलाई लोकसेवा दिन प्रेरित गर्दै योग्यताअनुसार पदमा उत्तीर्ण गराएर पारिवारिक जीवन सुखद् बनाएका उदाहरणहरू पनि छन् । यस्ता सकारात्मक नतिजाका लागि पत्नीले भनेका कुरा स्वीकार गर्नु अन्यथा होइन ।

कतिपय अवस्थामा पत्नीको ‘नियन्त्रण’मा बस्नु, पत्नीले जे भन्यो त्यही मान्नु सम्भव नहोला तर सम्भव भएसम्म पत्नीको भनाइ मान्नु नै बुद्धिमानी हुन्छ । पुरुषको थर, नारीको घर भन्ने नेपाली उखानै छ । गृहलक्ष्मी पनि भनिने महिलाहरू घरभित्रको कुरामा पुरुषको तुलनामा निपूर्ण हुन्छन् । यस अर्थमा घर–व्यवहारका कुरामा पुरुषहरू महिलाको सुझावमा बस्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।

दाम्पत्य जीवन राम्रो बनाउन पत्नीबाट पतितर्फका नातेदार–मित्रहरूप्रति सम्मानजनक व्यवहार अपेक्षित हुन्छ । फलानो यस्तो–उस्तो भनेर कुरा काट्नाले अपमानबोधको बिजारोपण हुन्छ । पतिले पनि ससुरालीतर्फका कुनै कमी–कमजोरी भए पत्नीका आफन्तलाई प्रत्यक्ष भन्नु हुँदैन, घरतर्फ सुनाउनु हुँदैन । समान नाता लाग्ने भएकाले विवाहपछि पति–पत्नी दुवैको परिवारतर्फ दुवैबाट सम्मानजनक व्यवहार हुनुपर्छ । ससुरालीतर्फका आफन्त पाहुना आउँदा पतिले र घरतर्फका मानिससँग पत्नीले झर्कोफर्को गरेमा दाम्पत्य जीवन सफल हुन सक्दैन ।

दाम्पत्य जीवन सफल (आदर्शमय) बनाउन पति–पत्नीले एकअर्कालाई प्रसन्न (खुसी) राख्न हरसम्भव प्रयास गर्नुपर्छ । पतिले जहिले पनि पत्नीले के कुरा मन पराउँछिन्, कस्तो व्यवहार मन पर्छ त्यसमा ध्यान दिनुपर्छ । चिन्तामा पर्दा, थकाइ वा दिक्दारीका बेला चुटकिला भनेर हँसाउँदै, विगतका रमाइला प्रसङ्ग स्मरण गराउँदै एकअर्कालाई पुनःताजगी (रि–फ्रेस) गराउन सकिन्छ । पति–पत्नीले बिरामी हुँदा वा दुर्घटनामा पर्दा के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसमा विशेष ध्यान दिनुपर्छ । पति–पत्नीले गरेका काममा एकले अर्कालाई साथ–सहयोग दिनुपर्ने हुन्छ । पत्नीलाई आमापछि सबैभन्दा बढी माया गर्ने पति नै हो भनिन्छ । यही कुरा पतिका हकमा पनि लागू हुन्छ ।

घरपरिवारमा आफ्नो रबैया देखाउने, अरूले गरेको कामको खिलाफ गर्ने कसैको बानी हुन्छ । पति–पत्नी जसमा यस्तो बानी भए पनि त्यो तुरुन्त छाडिदिनु पर्छ । पति–पत्नीले एकअर्कालाई अरूकी पत्नी तथा पतिको व्यवहार र रूपसँग तुलना गर्नु मूर्खता हुनेछ । पति–पत्नीमा जे छ त्यो राम्रो, सुन्दर, भरिपूर्ण ठान्नाले मनमा विषाद उत्पन्न हुन पाउँदैन । जतिसुकै व्यवस्त भए पनि बेला–बेलामा छुट्टी (समय) मिलाएर नयाँ ठाउँमा घुम्न जाने, बेलुका कम्तीमा एक घण्टा एकअर्काका कुरा सुन्ने–सुनाउने समय मिलाउनु पर्छ । परिवार राम्रोसँग चलाउन जीवनशैलीलाई सामान्यीकरण गर्नुपर्छ । प्रेममा यदाकदा हार्नुपर्ने पनि हुनसक्छ, त्यसलाई स्वाभाविक मान्नुपर्छ ।

दाम्पत्य जीवनको भविष्य आपसीे सम्झौतामा आधारित हुन्छ । पति–पत्नीबीचको विवादमा जुन पक्षको हार वा जित भए पनि त्यो आफ्नै हो भनी सोच्नाले पीडा अनुभव वा तनाव उत्पन्न हुन पाउँदैन । आपसी छलफल, समझदारी नै विवाद निरूपणको मूल आधार हो । छोराछोरी कति जन्माउने, कति अन्तरमा जन्माउने, छोराछोरीको पालनपोषण रेखदेख आफैँले आलोपालो गर्ने वा सहयोगी राखेर गर्ने आदि सन्दर्भ समन्वयमा निर्धारण हुनुपर्छ । वस्तु वा सम्पत्ति खरिद–बिक्री गर्दा सरसल्लाह अनि सङ्घ–संस्थाका गतिविधिमा सक्रिय हुँदा एक–अर्कालाई समन्वय गर्नाले दाम्पत्य जीवनमा समस्या आउँदैन ।

पहिले खासगरी पुरुषले बहुविवाह गर्नुलाई समाज तथा कानुनले सहज मान्थ्यो । अहिले बहुविवाह सामाजिक–कानुनी दुवै दृष्टिले अपराध मानिन्छ । यो उदाहरणले प्रष्ट पार्छ, तीन–चार दशक अघिको र आजको नेपाली समाजको सोच तथा व्यवहारमा धेरै परिवर्तन भइसकेको छ । त्यही परिवर्तन आत्मसात गर्दै पति–पत्नीको दाम्पत्य जीवन, घरपरिवारको गाडी सम्झौतामा चल्नु–चलाउनुपर्ने हुन्छ ।

परिवार चलाउने र आपसी विश्वास कायम राख्ने कुरामा पति–पत्नी दुवैले होसियारी अपनाउनु पर्छ । एकले अर्काको समस्या बुभ्mदै, एकअर्काको अस्तित्व स्वीकार्दै सुझबुझसाथ अघि बढे जीवन आनन्ददायी हुन्छ । कामको सिलसिलामा कसैबाट कुनै गल्ती हुनसक्छ । जसको गल्ती भए पनि स्वीकार गर्ने र आगामी दिनमा गल्ती नदोह¥याउने प्रतिबद्धता हुनुपर्छ । गल्ती जोबाट पनि हुनसक्छ, यसलाई गलत ढङ्गले लिनु र गल्ती दोहो¥याउनु मूर्खताबाहेक केही होइन ।

शारीरिक रूपमा व्यक्ति होचो–अग्लो, मोटो–पातलो, श्याम वर्ण–गोरो वर्ण, हिस्सी परेको–सामान्य आदि हुन्छ नै तर सकारात्मक सोच, समझदारी, व्यावहारिकता, सहयोगी भावना विश्वासको वातावरण, समाजसँग अन्तरघुलन भएमा दाम्पत्य जीवन सफल हुन्छ । पति–पत्नीमध्ये कोही २० पटक सम्झाउँदा पनि बुझ्दैनन्, समझदारीमा आउँदैनन्, आफ्नो कुरा वा निर्णयलाई माथि पार्नैपर्ने अहम् राख्छन् भने त्यस्तासँगको सम्बन्ध लामो हुँदैन । बरू त्यस्तो सम्बन्ध व्यावहारिक र कानुनी रूपमा सुरुमा नै तोडिदिनु उचित हुन्छ, अन्यथा बीचमा धोका वा जीउ–ज्यानमै खतरा हुनसक्छ ।

फरक–फरक परिवार र समाजमा हुर्केका युवक–युवती एक परिवार हुने क्रममा धेरै कुरा बेमेल हुन्छ नै । विद्यमान फरकपनलाई सहज बनाउने उपायको खोजी गर्ने, आपसमा सरसल्लाह, सहमति, सहकार्य गर्ने, एकले अर्काको अस्तित्व, मर्म र भावना बुभ्mने विश्वासयुक्त वातावरण भएमा परिवार सहज ढङ्गले चल्छ । निहित स्वार्थपूर्तिका लागि पति–पत्नीबीच फाटो ल्याउन आफन्त–छरछिमेकले नभएका कुरा लाउने गरेका थुप्रै उदाहरण छन् । यस्ता कुराबाट जोगिनु पर्छ ।

विवाह गर्दा सकेसम्म ३२ लक्षणयुुक्त बर–वधु (केटा–केटी) खोजी गरिन्छ । तर व्यक्ति त के ईश्वर पनि पूर्ण हुँदैनन् भन्ने आम–मान्यता छ । यसको अर्थ यही हो कि बढीभन्दा बढी सुलक्षणयुक्त पति–पत्नी भएमा आपसमा समझदारी र प्रेमले प्राथमिकता पाउँछ, जसको बलमा दाम्पत्य जीवन आनन्दले अघि बढ्छ ।

पाथीभरा क्षेत्रमा रह ...

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन् ...

महिला सक्रियता ...

गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा निरन्तरक ...

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]