नेपालका नेता सच्चिनु पर्छ कि ‘सक्किनु’ पर्छ ! - शालिग्राम पाण्डे

  • भदौ १५, २०८० / नेपाल रेखा
alt

देशमा लोकतन्त्रको नाममा भाँडतन्त्र (छाडातन्त्र) आएको छ, जसको प्रमुख जबाफदेही अहिलेका अगुवाहरू नै हुन् । देश र जनताको अवस्था बिग्रिनुको ९० प्रतिशत दोष दलका नेताहरूको र १० प्रतिशत जिम्मेवारी सचेत नागरिकको भागमा पर्छ । यही अवस्था रहिरहने हो भने देश श्रीलङ्काजस्तो अवस्थामा पुग्न धेरै दिन लाग्दैन । कुनै समय सुनकै दरबार रहेको भनी गौरव गर्ने, सम्पन्न, दक्षिण एसियामा सबैभन्दा बढी साक्षरता प्रतिशत (९२.२) भएको मुलुक खराब नेतृत्वका कारण आज टाट पल्टिएको छ ।

देउसी-भैलोमा ‘दिने भए सिदा देऊ, नदिने भए बिदा देऊ’ भनेजस्तो अब नेपाली राजनीतिक दलका नेताहरूका सामु केवल दुई विकल्प बाँकी छ- कि सच्चिने कि सिद्धिने (राजनीतिबाट संन्यास लिने) । अति सर्वत्र वर्जित हुन्छ भनेझैँ नेताहरूबाट जनचाहनाविपरीतको व्यवहार प्रदर्शन अति भइसकेको छ, खति हुन मात्र बाँकी छ । त्यसैले नेपाली जनताले नेताहरूलाई ठाडो खबरदारी गर्नुपर्ने र भन्नैपर्ने भएको छ कि देश र जनतालाई सेवा र विकास देऊ, नदिने भए राजनीतिबाट बिदा लेऊ ।

जनता एउटा कठोर निष्कर्षमा पुग्नुपर्ने यो परिस्थितिको निर्माण नेताहरू स्वयम्ले गरेका हुन् । आफूलाई राजनीतिक दलका नेता वा जनप्रतिनिधि कहलिन इच्छा राख्नेहरूको मनपरी क्रियाकलापले यो पृष्ठभूमि तयार भएको हो । राजनीतिका नाममा देशका स्रोत-साधन बिक्री तथा विदेशीको स्वार्थपूर्तिका लागि सहज वातावरण निर्माण गरिएको छ । यसबाहेक भ्रष्टाचार, व्यभिचार, संसदीय अभ्यासका नाममा देशलाई बन्धक बनाउने काम, राजश्वको उपभोग आफूहरूको सुख-सुविधाका निम्तिमात्र आदि जे गरे पनि जनताले सहनुको विकल्प छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । लोकतन्त्रको आवरणमा जनताको सार्वभौमसत्ता सम्पन्नता कमजोर पारिएको छ । दलका नेता भनिएकाहरूबाट भएको योभन्दा ठुलो अपराध के हुन्छ ?

चार दशकअघि काठमाडौँ जाँदा प्रायः पथलैयाको जङ्गलमा डाँकाहरूद्वारा यात्रीहरू लुटिन्थे । मोरंङको बनौल, झापाको महाभारा, सुनसरीको प्रकाशपुर आदि ठाउँमा डकैतीका घटनाहरू बारम्बार हुने गर्थे । तर ती गैरकानुनी डाँकाहरू डकैती गर्न रातको समयसम्म पर्खिन्थे । प्रहरी-प्रशासनसँग डराउँथे । तर डकैतीसम्बन्धी यो जनअनुभूतिको स्वरूप हिजोआज उल्टो भएको छ । अधिकतर डाँका-गुन्डाहरू राजनीतिको खोल ओडेर नेता कहलिएका छन् । उनीहरू दिउँसै डकैती गर्छन् र प्रहरी-प्रशासनलाई आफू तथा डकैती गरिएको धनको सुरक्षामा खटाउँछन् । पहिले-पहिले डकैतीका घटना परैबाट प्रष्ट देखिन्थे, प्रमाण भेटिन्थे । हिजोआज डकैतीका घटना आँखाले सजिलै देखिँदैनन् किनकि ती नियम-कानुन (सेटिङ) मिलाएर गरिएका हुन्छन्, समूह नै मिलेर प्रमाण मेटाउँछन् । भ्रष्टाचाररूपी त्यस्ता डकैती काण्ड आपसी लेनदेन वा भागबन्डा नमिल्दा एका-दुई बाहिरिए भने बाहिरिए, नभए तैँ चुप मैँ चुप भनेजस्तो सबै मिलेर भागशान्ति मिलाउँछन् ।

२०४६ सालअघि अर्थात् पञ्चायतकालमा अहिलेका सांसद भनेजस्तो राष्ट्रिय पञ्चायत सदस्य (रापंस) हुन्थे । उनीहरूको सङ्ख्या एक सय पाँच थियो । १२-१५ जना मन्त्री हुन्थे । मन्त्रीसहित १४ अञ्चलका अञ्चलाधीश र ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, तीन तहका प्रहरी अधिकृतहरू, न्यायकर्ताहरूमध्ये कोही-कोही घुस-भ्रष्टाचार, कमिसनतन्त्र, जङ्गल फँडानी आदि घटनामा मुछिन्थे तर त्यो बेला अहिलेको जस्तो हाकाहाकी र यति धेरै सङ्ख्यामा हुँदैनथ्यो । भए जति लगभग सबैलाई अहिलेजस्तो कालोधन थोपर्ने रोगले छोएको थिएन । अरू केही नभए पनि राजाको डर हुन्थ्यो । भ्रष्टाचार गर्नेहरू दण्डित पनि हुन्थे । तर अहिले यो पनि त्यस्तै, ऊ पनि त्यस्तै भइसकेपछि कसले कसलाई चोरऔँला देखाउने ? कसले कसलाई दण्डित गर्ने ?

त्यसो त शासन गर्ने तरिकामा पञ्चायतकालमा पूणर्तः र राजतन्त्र कालमा आंशिक निरंकुशता थियो । त्यही एक-दलीय निरङ्कुशता र राजनीतिक तीक्तता बढ्दै जाँदा जनता विकल्पको खोजी गर्दै सडकमा आए । फलतः मुलुकमा लोकतन्त्र र गणतन्त्र नामक राजनीतिक प्रणाली स्थापित भयो । तर कागजमा तन्त्र जे आए-भए पनि व्यवहार भने पहिलेभन्दा खत्तम अवस्था भएको अनुभूति बढ्दो छ । नेपाली जनस्तरमा आधारभूत परिवर्तनको नारा लिएर ‘नयाँ नेपाल’ बनाउन अघि सरेकाहरूको चाल भने पुरानो भन्दा पनि खत्तम छ भनी टिप्पणी गर्नेहरूको सङ्ख्या बढ्दो छ ।

वर्तमान अवस्थामा नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा, नेकपा एमालेका खड्गप्रसाद ओली, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल पञ्चायत र सक्रिय राजतन्त्रकालका महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र, धीरेन्द्र र उनीहरूमातहतका पञ्चहरूभन्दा पनि शक्तिशाली (एकल स्वार्थवादी) बनेर देखापरेका छन् । किनकि यिनीहरूले आफ्नापछाडि ‘अन्धभक्त’हरूको अझ ठुलो जमात र घेरा निर्माण गरेका छन् । सिद्धान्ततः पार्टी अलग त छन्, तर व्यवहारमा सबैको एकै छ । यसबाहेक तिनले आफ्ना समर्थकलाई मात्र होइन, शुभेच्छुकलाई पनि उस्तै बनाइसके । चुनाव चिन्ह हरेक पार्टीका अलग भए पनि भोटचाहिँ अर्काकोमा हाल्न लगाएर चुनावकै बेलादेखि नीतिगत भ्रष्टाचार संस्थागत गर्छन् । पञ्चायत र राजतन्त्रकालमा को कसको समर्थक वा विरोधी भनेर प्रष्टै छुट्टिन्थे तर अहिले सोलोडोलो एक भएका छन् । तर त्यस्तो अभूतपूर्व एकता जनताको सुविधास्तर बढाउन होइन कि आफू-आफूको जीवनशैली राजसी बनाउन प्रयोग गरिरहेका छन् । मधेसवादी र विकल्पवादी भनिएका दलहरूको चाल पनि कम छैन । राज्यको स्रोत-साधन दोहन (भ्रष्टाचार) गर्न सजिलो हुने भएर होला प्रायः दलका नेताहरूको ध्यान सत्ताकै छिना-झपटीमा केन्द्रित देखिन्छ ।

दाहाल, देउवा र ओलीमात्र होइन, सत्तापक्ष-प्रतिपक्ष जतातिरका नेता (अगुवा) हेर्‍यो, तिनको कुनै न कुनै भ्रष्टाचार र आपराधिक काण्डमा लहरो जोडिएकै छ । नक्कली भुटानी शरणार्थी, ललितानिवास, किलोका किलो सुन, गिरीबन्धु टी-स्टेट आदि-इत्यादिजस्ता ठुला, सङ्गठित भ्रष्टाचार प्रकरण शीर्ष नेता र तिनका आफन्त, निकटवर्तीको संरक्षणबिना सम्भव हुने कुरै होइन । देउवा पत्नी आरजु, बालकृष्ण खाँड पत्नी मञ्जु, दाहालनिकट कृष्णबहादुर महरा, ओलीनिकट रामबहादुर थापालाई कारबाही गर्न जनदबाब आए पनि राजनीतिक संरक्षणका कारण पक्राउ परेका छैनन् । ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुछिएका माधवकुमार नेपाल र बाबुराम भट्राईलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बयानका लागि कार्यालयमा बोलाउने हिम्मतसमेत गरेन ।

नेपालमा दुईखाले कानुन भएको अनुभूति हुन्छ । एउटा, नेताहरूले आफ्नो सुरक्षा र संरक्षणका निम्ति बनाएका र उनीहरूले चाहेका व्यक्तिलाई तह लाउन प्रयोग गरिने र अर्को सर्वसाधारणका लागि प्रयोगमा आइरहेका ऐन-नियमहरू । पञ्चायतकालमा राजपरिवारका सदस्य कसैले अपराध गरे पनि कानुन लाग्दैनथ्यो । वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्थामा दाहाल, देउवा र ओलीउपर कुनै मुद्दा लाग्दैन, उनीहरूले बचाउन चाहेका मानिसलाई पनि कानुनले छोएको देखिँदैन । राजतन्त्रमा आफू-आफू मिलेर राज्यको स्रोत परिचालन गर्ने परिपाटी थियो, गणतन्त्रमा पनि ओली, प्रचण्ड, देउवा भागबन्डा मिलाएर आलोपालो उही काम गरिरहेका छन् । जगजाहेर छ- व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नहुनुको दोष यी नेताहरूकै हो ।

देशको अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने हो भने पञ्चायतकाल, राजाको सक्रिय शासन र गणतान्त्रिक काल भन्नुमा शब्दको फेरबदलबाहेक केही फरक छैन । बरू जनताको अवस्था अझ बिग्रिएको छ, देश झन्-झन् अधोगतितर्फ जाँदो छ । हरेक वर्ष नेपालीको थाप्लोमा विदेशी ऋणको भार बढेको बढ्यै छ । युवा पाखुरा विदेशीलाई नबेची देश चल्नै नसक्ने अधमरो अवस्थामा पुर्‍याइएको छ । यतिमात्र होइन, मिलेर बसेका छिमेकीलाई पहिचान, जात र धर्मका नाममा भिडाएर नेताहरू रमिते बनेका छन् ।

भन्न त बोल्ने-लेख्ने स्वतन्त्रता पाइएको छ, नानाभाँती अधिकार प्रत्याभूत गरिएको छ, कानुनको शासन संस्थागत गरिएको छ भनिन्छ । तर यी सबै भन्ने कुरा मात्रमा सीमित छन् । हात्तीको देखाउने र चपाउने दाँत फरक भए झैँ नेताहरूले भाषणमा र व्यवहारमा फरक छ । कथनी एकातिर छ, करणी अर्कैतिर । कानुनको रक्षक नै भक्षक भएका सयौँ उदाहरण हाम्रासामु छन् ।

इच्छा शक्ति हुने हो भने काम हुन्छ । ज्वलन्त उदाहरणका रूपमा बालेन्द्र (बालेन) शाहको कार्यशैलीलाई लिन सकिन्छ । उनी कुनै दलआबद्ध नभए पनि एकपछि अर्को राम्रो (जनअपेक्षित) काम गरिरहेका छन् । यता दलका नेताहरूले गरे भनिएका कामहरूमध्ये धरहराको उदाहरण हेरौँ । ओलीले उद्घाटन गरेको दुई वर्ष बित्दा पनि त्यसको व्यवसायिक प्रयोग हुने अवस्था अझै बनेको छैन । लोकतान्त्रिक, गणतान्त्रिक भनिएका नेताहरूले ३२ वर्षमा गरेका कामहरूमा असल भनेर उदाहरण दिनमिल्ने सङ्ख्या रौँ बराबर छ । एमालेको पहिलो नौ महिने शासनकालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा बजेटमा ज्येष्ठ नागरिकको सम्मानका लागि भन्दै भत्ता दिने व्यवस्था गरिएको थियो । यसै आधारमा नेकपा एमाले अहिलेसम्म पनि ज्येष्ठ नागरिकका आँखामा ‘राम्रो पार्टी’ देखिँदै आएको छ । धेरै ज्येष्ठ नागरिकहरूले कम्युनिस्ट सिद्धान्त मन परेर होइन, त्यो बेला सुरु गरिएको भत्ता वितरण कार्यको गुन तिर्ने हिसाबले एमाललेलाई भोट हाल्ने गरेका छन् ।

दलका नेता र तिनका कार्यकर्ताहरूले अनेक सङ्घर्ष र बलिदानपछि देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था संस्थागत भयो, यो आफूहरूद्वारा सम्पादित महान् काम, ठुलै उपलब्धि हो भन्ने गरेका छन् । तर सोचेअनुसार मुसा नमार्ने भएपछि बिरालो कालो भए पनि सेतो भए पनि जनताका लागि के काम ? उल्टै बिरालोले गरेको फोहोर सोहोर्नुपर्ने हैरानी थपिन्छ । घरभित्रका खानेकुरा असुरक्षित हुन्छन् ।

राजनीतिक दलका नेताहरूले सङ्घीयताको जति पक्षपोषण गरे पनि जनता उनीहरूको नुसध्रिने चाल देखेर वाक्क-दिक्क भइसकेका छन् । सात प्रदेशका पाँच सयभन्दा बढी सांसद, सयभन्दा बढी मन्त्री, सात प्रदेश प्रमुख, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र तिनीहरूलाई दिइने भत्ता, घरभाडा, अघिपछि प्रहरीको सुरक्षा, गाडी आदि सुविधा व्यस्था गर्दागर्दै सुरक्षाकर्मी, न्यायकर्मी, शिक्षक-कर्मचारीलाई समयमै तलब दिन पुग्दैन । जताततै विकास-निर्माणका काम, बाटो-पुलपुलेसा लथालिङ्ग छन् । संविधान (एउटा किताब) बनाउनै १० वर्ष लगाएर राज्यको करोडौँ रुपैयाँ स्वाहा पार्ने नेताहरूका लागि ४० किलोमिटर सडक बनाउन १० वर्ष लाग्नु (धरान-विराटनगर करिडोर) सामान्य कुरा हो ।

जनताले प्रदेश बोझ भयो प्रदेशको काम छैन भनिरहेको समयमा दलका नेताहरू जनआवाजलाई विभिन्न बहाना बनाएर दबाइरहेका छन् । उल्टै नेताहरू आफ्नो सुखसयल जोगाइराख्न नेपाली सेनाको सङ्ख्या कटौती गर्नुपर्छ भन्न थालेका छन् । फुटाऊ अनि शासन गर भन्ने नीति अवलम्बन गर्दै सम्प्रदायिकता फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने, जातीयताको उग्रनारा लाएर समाजमा अशान्ति मच्चाउने काममा राजनीतिक दलका नेताहरूको हात रहेको तथ्य कसैबाट लुकेको छैन ।

देशमा लोकतन्त्रको नाममा भाँडतन्त्र (छाडातन्त्र) आएको छ, जसको प्रमुख जबाफदेही अहिलेका अगुवाहरू नै हुन् । देश र जनताको अवस्था बिग्रिनुको ९० प्रतिशत दोष दलका नेताहरूको र १० प्रतिशत जिम्मेवारी सचेत नागरिकको भागमा पर्छ । यही अवस्था रहिरहने हो भने देश श्रीलङ्काजस्तो अवस्थामा पुग्न धेरै दिन लाग्दैन । कुनै समय सुनकै दरबार रहेको भनी गौरव गर्ने, सम्पन्न, दक्षिण एसियामा सबैभन्दा बढी साक्षरता प्रतिशत (९२.२) भएको मुलुक खराब नेतृत्वका कारण आज टाट पल्टिएको छ ।

यस्तो पृष्ठभूमिमा दलका नेताहरूले चाँडोभन्दा चाँडो सच्चिनुको विकल्प छैन । कि उनीहरू सच्चिनु पर्छ कि राजनीतिबाट अलग हुनुपर्छ । युवा पङ्क्ति नेतृत्व गर्न तयार छ । उल्लिखितमध्ये एक अवस्था भएमात्र देश जनअपेक्षाको मार्गमा अघि बढ्ने छ । विधिको शासन स्थिापित हुनेछ । लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको औचित्य देखिनेछ ।

पाथीभरा क्षेत्रमा रह ...

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन् ...

महिला सक्रियता ...

गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा निरन्तरक ...

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]